जनकपुरधाम, ४ कात्तिक। मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंंहले प्रदेशमा स्वास्थ्यसेवाका सूचक प्रगतिउन्मुख भए पनि पूर्ण सन्तोषदायक नरहेको भन्दै सरकारी अस्पतालहरूमा औषधोपचारलगायतका सेवाप्रति जनतामा सन्तुष्टि र विश्वास उत्पन्न नहुँदासम्म उत्कृष्ट सेवा भएको ठहर गर्न नसकिने बताएका छन्। 

स्वास्थ्य निर्देशनालय मधेश प्रदेशद्वारा आइतबार आयोजित आर्थिक वर्ष ०८१/०८२ मा सम्पादित स्वास्थ्य कार्यक्रमहरूको तीनदिने प्रदेशस्तरीय समीक्षा गोष्ठीको समापन समारोहमा मुख्यमन्त्री सिँहले सो कुरा बताएका हुन्। 

मुख्यमन्त्री सिँहले अस्पताल र पालिकाका स्वास्थ्य संस्थातर्फ कार्यसम्पादनतर्फ पहिलो, दोस्रो र तृतीय हुनेहरूलाई आवश्यकताका आधारमा स्वास्थ्य उपकरणलगायतका सामग्री दिएर प्रोत्साहन गर्नुपर्ने बताए। उनले पहिलोलाई पचास लाख, दोस्रोलाई ३५ लाख र तेस्रोलाई २५ लाखको स्वास्थ्य उपकरण दिनुपर्ने सुझाए। 

मुख्यमन्त्री सिँहले कार्यसम्पादन मूल्याङ्कनमा अब्बल ठहरिएका स्वास्थ्य संस्थाका चिकित्सकलाई प्रोत्साहन स्वरूप रकम दिनुपर्ने समेत बताए। उनले भने, ‘प्रोत्साहन रकमका कारण स्वास्थ्य संस्थाहरूबीच पहिलो, दोस्रो र तेस्रो हुन प्रतिस्पर्धा हुनेछ। यसबाट अपेक्षित र राम्रो परिणाम प्राप्त हुनेछ।’

मुख्यमन्त्री सिँहले पुछारबाट पहिलो, दोस्रो र तेस्रोलाई समेत कुरियरबाट सम्मानपत्र पठाउनुपर्ने बताए । ‘यसबाट ती संस्थाहरूमाथि समेत असल काम गर्नुपर्ने दबाब सिर्जना हुनेछ ।’

मुख्यमन्त्री सिँहले प्रादेशिक अस्पतालहरूको बेड स्वीकृत भई दरबन्दी पूर्ति हुनुपर्ने औंल्याए। उनले अहिले २५ प्रतिशत दरबन्दी पूर्ति भएकोबाट ५० देखि ७० प्रतिशत दरबन्दी पुरा भए सेवाको स्तर वृद्धि हुने बताए। उनले पालिकास्थित बर्थिङ्ग सेन्टरमा जनशक्ति बढाएर प्रसुतिसेवाको गुणस्तर बढाउन प्रदेश सरकारले पालिकासँग समन्वय गर्ने उल्लेख गरे। 

मुख्यमन्त्री सिँहले मधेश प्रदेशमा स्वास्थ्य बिमामा न्यून सँख्यामा जनताको पहुँच रहेको बताउँदै सेवाग्राहीले न्यून लगानीमा अत्यधिक प्रतिफल लिनसक्ने बनाउन स्वास्थ्य बिमाका लागि व्यापक जनचेतना जगाउनुपर्ने बताए। 

उनले स्वास्थ्यसंस्थामा औषधि उपलब्ध तत्काल खरिद प्रक्रिया सुरु गर्न आफूले स्वास्थ्य निर्देशनालयलाई निर्देशन दिएको भन्दै सरकारको मापदण्डअनुसार औषधिको गुणस्तर कायम राख्न कुनै पनि सम्झौता गर्न नहुने बताए। उनले भने, ‘प्रभाव नभएका औषधि खरिद नहोस् भन्ने कुरामा गम्भीर ध्यान पुग्नुपर्छ।’

मुख्यमन्त्री सिँहले प्रदेशका एक सय ३६ पालिकामा सञ्चालन भइरहेका स्वास्थ्य प्रयोगशालामध्ये कतिपय मापदण्डविपरीतका घरमा सञ्चालन भइरहेको भन्दै प्रयोगशालाजस्तो संवेदनशील ठाउँमा मापदण्डअनुसारका पूर्वाधार विकसित गर्न पालिकासँग समन्वय गर्नुपर्ने बताए। उनले प्रयोगशालामा कार्यरत जनशक्तिको दरबन्दी शीघ्र स्वीकृत गराउन पनि निर्देशन दिए। 

मुख्यमन्त्री सिँहले निजी अस्पताल, नर्सिङ्ग होम र क्लिनिकहरूको कडा अनुगमन आवश्यक भएको बताए। उनले स्वीकृत बेड सँख्या र सञ्चालनमा रहेका बेड, नवीकरण र कानुनअनुसार १० प्रतिशत बेड छुटजस्ता विषयका बारेमा अनुगमन गर्न निर्देशन दिए। उनले निजी अस्पतालमा बिरामी बन्धक भएका कुरा सामाजिक सञ्जालमा आउने गरेको सन्दर्भ कोट्याउँदै १० प्रतिशत बेड छुटमा तिनको उपचार भए त्यस्तो नहुने र त्यसका लागि स्वास्थ्य संस्थाको वर्षभरिको कारोबार तथा छुटका बारेमा अनुगमन गरिनुपर्नेमा जोड दिए। 

मुख्यमन्त्री सिँहले आर्युवेदको सुगन्ध दिन आयुर्वेद अस्पतालले आफ्नो परिसरमा विवरण बुझिनेगरी जडीबुटी उत्पादन गर्नुपर्ने र त्यसको उपयोग हुने रोग तथा प्रयोग विधिबारे स्थानीयलाई जानकारी दिनुपर्ने बताए। ‘यसबाट आफ्नै घर वरपर चिकीत्सकीय गुण भएका बोट रहेको स्थानीयले भेउ पाउनेछन्। र, तिनको प्रयोगप्रति आकर्षित हुनेछन्,’ उनले भने।  

कार्यक्रममा प्रदेशका स्वास्थ्य तथा जनसँख्या मन्त्री शत्रुधनसिँह कोइरीलगायतका व्यक्तिले प्रदेशको स्वास्थ्य क्षेत्रको अवस्थाबारे आआफ्ना धारणा राखेका थिए।