सप्तरी, ४ कात्तिक। सप्तरीमा हृदयघातबाट एक वडा अध्यक्षको मृत्यु भएको छ। जिल्लाको डाकनेश्वरी नगरपालिका १ का वडाध्यक्ष पृतमलाल चौधरीको आइतबार मृत्यु भएको हो।

गत स्थानीय तह निर्वाचनमा कांग्रेसबाट वडाध्यक्ष पदमा निर्वाचित ६० वर्षीय चौधरीको हृदयघातका कारण मृत्यु भएको डाकनेश्वरी नगर प्रमुख रामलखन मल्लाहले जानकारी दिए।

वडाध्यक्षको मृत्युपछि डाकनेश्वरी नगरपालिकाले आइतबार नगरपालिका र मातहतका निकायमा शोक बिदा दिएको छ।

कुल १० वडा रहेको डाकनेश्वरीमा यसअघि पनि एक जना वडाध्यक्षको मृत्यु भएको थियो। डाकनेश्वरी नगरपालिका ४ का वडाध्यक्ष हरिप्रसाद रायको गत वर्ष मृत्यु भएको थियो। नगरपालिका २ का वडाध्यक्ष रहमान मियाँ सामाजिक सुरक्षा भत्ता अपचलन गरेको आरोपमा अहिले कारागारमा छन्।