सिरहा, ४ कात्तिक।  सिरहाको गोलबजार नगरपालिका ९ मा सडक मर्मत कार्य अपारदर्शी र गुणस्तरहीन भएको भन्दै स्थानीयले मर्मत कार्य रोकेको छ। पूर्वपश्चिम सडक अन्तर्गत मारुति सिमेन्ट उद्योग देखि उत्तर गोविन्दपुरसम्म जाने नयाँ बाटो मर्मत कार्य अपारदिर्शी र ग्राभेलेको नाममा माटो र बालुवा  छरेको भन्दै स्थानीयले काम रोकेको हो। 

पूर्व वडा अध्यक्ष रामपुकार कामतीले योजना स्थलमा सूचनापाटी राख्न र राम्रो ग्राभेल ल्याएपछि मात्र काम सुरुगर्न दिने भन्दै स्थानीयले काम रोको बताए। उनले भने, ‘यहाँ योजना अपादर्शी ढङ्गले र झारा टार्नेगरी काम भईरहेको छ। काम कसले, कति लागतमा, कुन योजना अन्तर्गत गरेको भन्ने जानकारी पाउनु उपभोक्ताको अधिकार हो। वडा अध्यक्षलाई सोध्दा एक थोक नगरलाई सोध्दा आर्को कुरा भनेकाले स्थानीयले सूचना पार्टी राख्न र राम्रो काम गर्नुपर्ने माँग सहित तत्काललाई काम स्थगित गराएको छ।’

अर्का स्थानीय पुनित यादवले स्थानीय उपभोक्तालाई जानकारी नगराई, मर्मतको नाममा माटो बालुवा छर्ने काम भईरहेको बताए। उनले भने, ‘कसले, कसरी काम गरेको भन्ने सूचना पार्टी छैन। नगरसँग बुझ्न मेयर पनि हुनुहुन्न, दशैं विदामा जानुभएको प्रमुख प्रशासकिय अधिकृत फर्केनु भएको छैन। वडाले विपद व्यवस्थापनको काम भएकोले सूचना पार्टी राख्नु पर्दैन भन्छ। हाम्रो उचित सूचना पाउनु पर्ने र काम राम्रो हुनुपर्यो भन्ने माँग हो।’

यस सम्वन्धमा वडा नम्वर ९ का वडा अध्यक्ष सुरेन्द्र कुमार सिंहले विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापनको रकमबाट काम भएको भन्दै त्यहाँ सूचना राख्न आवश्यक नरहेको भन्ने दावी गरे। उनले भने, ‘नगरपालिकाले प्रत्यक वडा लाई १० लाखको दरले विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन कोषबाट रकम दिएको छ। त्यहि रकमबाट काम भईरहेको छ। काम कोटेशन मार्फत भईरहेको छ। त्यसैले त्यहाँ सूचनापार्टी राख्न जरुरी छैन।’

वडा अध्यक्ष सिंहको भनाईले यो योजना अपारदर्शी ढङ्ले सञ्चालन भएको पुष्टि हुन्छ। नगरपालिकाले विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन कोषबाट त्यस्तो रकम नगएको बताएको छ। 

थप जान्न नगर प्रमुख श्याम कुमार श्रेष्ठको फोन अफ छ, प्रमुख प्रशासकीय अधिकृतको फोन अन्य कर्मचारीले उठाउँछ र योजना शाखा प्रमुख जय किशोर प्रसाद साहसँग पटक पटक सम्पर्क गर्दा उनको फोन उठेन।

यस विषयमा वडा नम्वर ३ का वडा अध्यक्ष धनप्रसाद लामासँग जान्न चाँहादा उनलेपनि विपद व्यवस्थापनबाट कुनैपनि वडामा यसरी रकम नगएको बताए। उनले भने, ‘बरु नगरस्तीय बजेटबाट प्रत्यक वडाहरुमा १० लाखको दरले सडक मर्मत, होमपाईप हाल्न पठाएको छ। विपदको नाममा आएको छैन।’

नगरस्तरीय बजेटलाई अफू अनुकुल चलाउन दामासाहीमा वितरण गरेर एउटै व्यक्तिलाई कामको जिम्मा दिएको स्रोतको दावी छ। वडामा वितरण भएको यो योजना गोलबजारका व्यसायी कपील साहको कन्ट्रक्सन मार्फत गरिरहेको छ। कपील साह मार्फत काम भएको भएपनि यसमा मेयर श्रेष्ठको पनि संलग्नता देखिन्छ। ग्राभेल सम्याउने काममा उनकै आफन्तको जेसीवी प्रदेश २ –००१ क०२६७ प्रयोग हुनुले पनि उनको संलग्नता प्रष्टहुने स्थानीय बताउँछन्।