काठमाडौं, २८ असोज। नेकपा एमालेले भाटभटेनीका संचालक मीनबहादुर गुरुङबाट पार्टी कार्यालय बनाउन जग्गा र सहयोग लिएको विषयमा पार्टी भित्र विरोध शुरु भएको छ।

एमालेकी केन्द्रीय सदस्य विन्दा पाण्डेले यस घटनालाई पार्टीका पाँच लाख सदस्यको शिर झुकाउने कदम भएको टिप्पणी गर्दै पार्टीलाई मत दिने २८ लाख मतदाताको अपमान समेत भएको बताएकी छन्।

उनले सामाजिक सञ्जालमा लेख्दै समय घर्किनसकेको भन्दै अझैपनि उक्त निर्णय फिर्ता लिन पार्टी नेतृत्वलाई आग्रह गरेकी छन्। 


उनले लेखेकी छिन्- 

साढे पाँच लाख पार्टी सदस्यको स्वाभिमानी शिर झुकाउने र २८ लाख मतदाताको अपमान गर्ने कदम हो यो। व्यापार व्यवसाय गर्नेले पारदर्शी रुपमा कम्पनीको सामाजिक दायित्व अन्तर्गत सामाजिक काममा सहयोग गर्नु कर्तव्य नै हो। तर, राजनीतिक दलले कार्यालय बनाउन यस्तो सहयोग लिनु र व्यापारीले दिनु दुवै ग़लत हो। दिनेले किन र कसरी दिए उनैलाई थाहा होला। तर, स्विकार गर्नेले पार्टीको निर्णायक तहमा छलफल र निर्णय त परको कुरा जानकारी समेत नहुने गरी गरिएको यो निर्णय दिर्घकालमा आत्मघाती सावित हुनेछ। समय घर्की सकेको छैन। मनमोहन र मदनहरुले उचो बनाएको पार्टीको इतिहास, वर्तमानमा वाचेका स्वाभिमानी पार्टी पंक्ति र भावी सन्ततीका लागि एमालेको गौरव जोगाउने हो भने यो ग़लत निर्णय सच्याउनै पर्छ। समयमै सोचौ।