फाईल फोटो।

रौतहट, २७ असोज। रौतहट प्रहरीले एक थान पेस्तोल, त्यसमा लाग्ने गोली र म्यागजिनसहित एकजनालाई नियन्त्रणमा लिएको छ।

जिल्लाको देवाही गोनाही नगरपालिका ६ कर्कचस्थित दुर्गा मेला लागेको स्थानबाट मेड इन युएसए लेखिएको पेस्तोल १ थान, त्यसमा लाग्ने गोली ४ राउण्ड, म्यागजिन १ थान र सर्ट गनको गोली २ राउण्डसहित स्थानीय ५६ वर्षीय भोला राय यादवलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो। 

इलाका प्रहरी कार्यालय देवाही गोनाहीबाट खटिएको प्रहरीले यादवलाई  पेस्तोल र गोली सहित फेला पारी पक्राउ गरेको   जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

उनले कहाँबाट र के प्रायोजनको लागि हतियार बोकेरहिडेको भन्ने अझै खुलेको छैन। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।