ढुण्डीराज पौडेल
प्राकृतिक विपद्हरु बाजाबजाएर आउँदैन भनिन्छ। तर भूकम्प बाहेक आँधी तुफान चक्रवात आदिको पूर्वानुमान निकै कठिन भएपनि असम्भव छैन। नेपालको मुख्य प्राकृतिक विपद्को रुपमा रहेको वर्षाजन्य बाढी पहिरोको पूर्वानुमान भने भरपर्दो बन्न पुगेको छ।
त्यसैले ठूलो वर्षा हुने सम्भावनाबारे पूर्व सूचना जारि गर्दागर्दै र केही घण्टाको अविरल वर्षाका कारण हाम्रो भूबनोटमा निर्मित सडकहरु भत्किने र ठाउँ ठाउँमा पहिरो जाने सम्भावना हुँदाहुँदै अनि केहि दिनको पर्खाइ पछिपनि गन्तव्यमा पुग्दा केही बितिनहाल्ने स्थिति भएकाहरुको समेत अकालमा ज्यान गएको देख्दा उदेक लागेर आयो।
हामी नेपालीले इतिहासमा पाएको बहादुरको उपाधिलाई बरकरार राख्दै बुद्धिमान र विवेकशील बन्न पनि कोशिस गर्नुपर्छ।
भूपि सेरचनको बुद्धु शब्द ब्यंगमा मात्रै सिमित रहोस।हामीहरु बढी बहकाउ र उत्तेजनामा आउने तर हाम्रो मस्तिष्कको अग्रभाग (पृफ्रन्टल कर्टेक्स)को निर्देशनलाइ बेवास्ता गर्छौं र धोका पाउँछौं।
मुख्यतया सरकारका संयन्त्रहरुप्रतिको अविश्वासका कारण पनि हामी तिनीहरुबाट जारी सुझाव या चेतावनीप्रति बेवास्ता गर्छौं र यदाकदा आँफैलाई जोखिममा पार्छौं। मौसम विज्ञानको सूचनालाई पनि नेताहरुका सँधैका झुटा कुरा जस्ता सम्झिँदा ठूलो हानी बेहोर्नु पर्यो।
हामीले विगतबाट पनि पाठ सिक्नुपर्ने हुन्छ ।तीन वर्षअघि कोभिडको बैश्विक माहामारीले नेपाललाई पनि आक्रान्त पारेको थियो। त्यो वर्षको दसैंअघि प्रकोप झनै ब्यापक बन्दै थियो ।त्यस्तो प्रकोपकोबीच दसैंमा विशेष गरि सार्वजनिक यात्रा नगरेको भए पनि केही बितिहाल्दैनथ्यो।
भिडमा जान अनि सार्वजनिक यातायातमा सकभर यात्रा नगर्न यहि छापाहरु मार्फत सुझाइएको पनि हो।तर दुर्भाग्य सुनुवाइ भएन।नतिजा,घर पुग्नेहरुले गाउँ घरका आँफ्ना बृद्ध बा आमाहरु एवं बालबालिकाहरुलाई समेत कोभिडबाट संक्रमित गराए। पछि पश्चाताप गर्नुको के अर्थ रहन्थ्यो र?
त्यसैले कुनै पनि पूर्वसावधानीका सूचनाहरुलाई नजरअन्दाज गर्नुहुन्न। कहिल्यै सत्य नहुने र बरु कुरा फेरिरहने नेपालका पार्टी नेताहरुका अभिव्यक्ति जस्तो ठान्नु हुँदैनथ्यो।
संघीय राजधानीको नजिक रहेका स्थानहरूमा भएको मानवीय क्षतिले सोच्न बाध्य पार्छ, दुरदराजमा यस्तो बाढी पहिरो भए के हुन्थ्यो होला?
पंक्तिकार दाङमा कार्यरत रहँदा २०७१ सालमा दाङ लगायतका मध्यपश्चिम क्षेत्रमा ठूलो बाढी गएको गएको थियो । बबइ नदीले पुर्याएको सम्झदा अहिले पनि काहाली लाग्छ। बाढीको बीच रातभरि रुखमा समातेर अडाएको आफ्नो छोराको हात फुत्किएर विशाल जलमा समाहित भएपछि एक जना आमाले पनि अन्तत्वोगत्वा जलसमाधि लिएको समाचार अन्तर्राष्ट्रिय संचार माध्यममार्फत सम्प्रेषित भएको थियो।
तात्कालीन गृहमन्त्री बामदेव गौतमको गैरजिम्मेवारपूर्ण रवैया आलोचित बन्न पुगेको पनि थियो।त्यो विनासकारी बाढी पहिरो गएको ९ महिना पछि त २०७२ वैशाख १२ गते भूकम्प गएपछि सो बाढीको घटना ओझेलमा पर्न गयो।
भूबनोटका कारण केही घण्टाको अविरल वर्षामा नै विशेषगरी संघीय राजधानी जोड्ने लगायतका सडकहरु अवरुद्ध हुने गरेका छन्। यो समस्या फगत त्यो सिस्ने - नागढुंगा सुरुङ मार्गले मात्रै हल गर्ने पनि होइन ।केही घण्टाको अविरल वर्षाबाट नेपालकै जीवन रेखा मानिने नारायणगढ -काठमाडौंबीचको १४६ किमी मध्ये काहाँ पहिरो जान्छ? भन्नै सकिन्न।तर पनि बढी जोखिम भागहरुको पहिचान गरि समयमै उपयुक्त प्राविधिक उपायहरु गर्न सकिन्छ या केही अवधिको लागि मानिसहरुको आवतजावत रोक्नपर्ने हुन सक्छ।
आखिर जतिसुकै वैकल्पिक मार्गहरु निर्माण गरे पनि बर्खामा अवरुद्ध हुन्छन भने एउटा बार्है महिना अवरुद्ध हुने मार्ग किन नबनाउने ?अहिले नेपाली सेनाले निर्माण गरिएरहेको द्रुत मार्ग यस्को उपचार हुन सक्छ कि?
विगतकालमा पनि काठमाडौं उपत्यकामा ठूलो वर्षाका कारण डुबान हुने गरेकै हो।त्यसो त २०५० सालमा नेपालको मध्य एवं पूर्वि क्षेत्रमा परेको ठूलो वर्षाले धनजनमा ठूलो क्षति पुर्याएको थियो। वागमती नारायणी हुँदै पूर्वमा मेची कोशी अञ्चलहरु समेत बाढी पहिरोबाट प्रभावित भएका थिए।कुलेखानी फुटेर वागमतीमा अचानक बगेको पानीको भेल निकै विनासक बन्न पुगेको थियो।
पंक्तिकार उद्धारका लागि २०५० को सालको बाढी पहिरो प्रभावित पाँचथर ताप्लेजुङमा पुग्दा तत्कालै भौतिक एवं मानवीय क्षति भएपनि दीर्घकालीन मानवीय स्वास्थ्य समस्याहरु थिएनन्। त्यही वर्ष बाढीबाट प्रभावित सर्लाही जिल्लामा स्वास्थ्य सेवाको व्यवस्थापनमा करिब एक महिना व्यतित गर्ने अवसर पाएको थियो।
सर्लाहीको नयागाउँ देखि बरहथवा,डुमरिया सम्मका बस्तीहरुलाई बाढीले सोत्तर पारेको थियो।तराईमा बाढीको प्रकोपको असर दीर्घकालीन हुन्छ भने पाहाडी इलाकामा एकैपटक पहिरो जान्छ जमिन, भौतिक संरचना सहित मानवीय क्षति पनि हुन सक्छ।तर समथर भूभागमा भने बाढि रोकिए पनि पानी जम्न गई विभिन्न संक्रामक रोगहरुको प्रकोप फैलिने गरेको छ।
बाढी पहिरो बाहेक, भारतीय एवं तिब्बतियन प्लेटहरुमाथि रहेको हाम्रो भूभाग भूकम्प प्रभावित क्षेत्र पनि हो।नयाँ पुस्ताले २०७२ को विनासकारी भूकम्पको त्रासदीलाई बेहोरे। वैशाख १२ शनिबार बिदाको सट्टा अन्य दिन भूकम्प गएको भए मृत्यु हुने संख्या कति गुणा हुन्थ्यो होला सहजै अनुमान लगाउन सकिन्छ।
हामीले कुनै पूर्वानुमान गर्न नसकिने भूकम्पको क्षतिको न्युनिकरण गर्न के कति पूर्व तयारी गरेका छौं ? यसको नाममा उल्लेख्य धनराशि खर्च पनि नभएको होइन ।भूकम्पबाट सबैभन्दा प्रभावित क्षेत्र मानिएको संघीय राजधानी काठमाडौंमा भवन निर्माण,निकास, आवश्यक पर्दा उद्धारको लागि एम्बुलेन्स लगायतका सवारी साधनहरुको निकासलाई कति सहज बनाइएको छ ।त्यो भूकम्पमा क्षति भइ रेट्रोफिटिंग गरिएका संरचनाहरु कत्तिको मजबुत बनेका छन्?
प्राकृतिक प्रकोपका कारण विकशित देशहरुमा पनि वर्षेनी उल्लेख्य संख्यामा मृत्यु हुने गर्दछ। प्रत्येक वर्ष विश्वमा ४०-५० हजारको मृत्यु विभिन्न प्रकारका प्राकृतिक प्रकोपबाट हुने गरेको छ ।अमेरिकामा हालै गएको चक्रवातले पनि दर्जनौँको ज्यान लिएको समाचार छ । नेपालमा चक्रवात,आँधी तुफानहरुको तुलनामा वर्षाजन्य बाढी पहिरोहरू जाने गरेको छ।साना ठूला विनासकारी भूकम्पहरु पनि जाने गरेकै हुन्।
वर्षा हुने अवधिको अनुमान कठिन छैन। असारदेखि सुरु भइ आश्विनसम्म पनि कायम हुन सक्ने वर्षाजन्य बाढी र पहिरोबाट हुने मानवीय र भौतिक क्षतिलाई अवश्य पनि रोक्न सकिन्छ।कर्णाली लोकमार्ग मात्रै होइन अपितु काठमाडौं उपत्यका जोड्ने मुख्य सडकहरु जस्तो भरतपुरदेखि थानकोटसम्मको करिब १४० कि मी सडकमा सवारी चालकको असावधानिले समेत दर्जनौं सवारि साधनहरु नदीमा खसेर समेत बेपत्ता हुनु दुर्भाग्यपूर्ण हो।सडक निर्माणदेखि सवारीको चालकका असावधानी जस्ता मानवीय कमजोरीहरुका कारण पनि दुर्घटनाहरु घट्न गइ वर्षेनि सयौंको अकालमा मृत्यु हुने गरेको छ।
संरचना निर्माण गर्दा उपयुक्त ठाउँको छनोट र प्रविधि
नदी किनारा,भिर ,भिरालो या पानी जम्मा हुने स्थानमा बनाइएका भौतिक संरचनाहरु होचो घरहरु बाढी पहिरो एवं भूकम्पबाट समेत बगाइने या भत्किने गरेका छन्।उदाहरण विगतमै नागढुंगा उकालोका घरहरु बनिसकेका हुन् ।पहिरो प्राकृतिक पनि होला तर बाटो भासिनु चाहिँ मानवीय कि प्राकृतिक? सडक निर्माणमा हुने गरेका मानवीय एवम प्राविधिक लापरबाहीको लागि कारबाही हुने गरेको छैन ।सरकार एवं अख्तियारको ध्यान न पुगेको हो कि स्वार्थ गाँसिएकाले हो?
गैर जिम्मेवार सरकार र पार्टी नेताहरू
मुलुकमा प्राकृतिक प्रकोपका घटनाहरुलाई समेत राजनीतिक रुप दिने गरेका घटनाहरु नयाँ होइनन्।पञ्चायतकालमा पनि बाढी पहिरो भूकम्प जस्ता घटनाहरुमा राजनीतिक पार्टीहरुलाई उद्धारमा लाग्न रोकिन्थ्यो।पार्टीहरुलाई पनि बाहाना मिल्थ्यो।संलग्न रहन खोज्दा धरपकड हुने गर्थ्यो ।बहुदलीय व्यवस्थाको स्थापना पश्चात् पनि प्राकृतिक विपत्ति पर्दा खासै जुन किसिमको एकताबद्ध प्रयास हुनुपर्ने थियो त्यो प्रकट रुपमा देखिने गरेको छैन ।अहिले संसद् नचलेको अवस्था रहेपनि प्रमुख दुइ पार्टीहरु सरकारमा रहेकाले विपक्षलाई समेत साथमा लिएर सरकार गम्भिर जिम्मेवार हुनुपर्छ। राहत,उद्धार, मर्मत,पुनर्निर्माणमा व्यापक अनियमितता र भ्रष्टाचार हुने गरेको आरोप लाग्ने गरेको छ।अकर्मण्यताले पराकाष्ठा नाघ्ने गरेको छ ।यत्रो मानवीय एवं भौतिक क्षतिमा पनि सरकारका गृहमन्त्रीबाट विपक्षमा रहँदा जस्तो हल्का टिप्पणी प्रस्तुत हुँनु बाञ्छनीय छैन ।भारतमा रेल पल्टिँदा होस् कि नेपालमै सिंहदरबार जल्दा समेत सम्बन्धित मन्त्री प्रधानमन्त्रीले जिम्मेवारी लिएका हुन्।
सरकारले,मन्त्रीले निर्देशन जारि गरेको थियो भनेर जिम्मेवारी पुरा गरेको ठानिन्न।यस्तो क्षतिमा फगत स्थानीय प्रहरी र जिल्ला प्रशासनका प्रमुखहरुलाई दोषी बनाएर जिल्लाबाट स्थानान्तरण गर्दैमा खासै भविष्यमा घटनाहरुको पुनरावृत्ति रोकिन्न।सरकारको अकर्मण्यता झन प्रमाणित हुन पुग्छ।
विपक्षबाट पनि यस्ता विपत्तिमा रचनात्मक सुझावहरु प्रस्तुत हुनुपर्छ। नसुहाउने टिप्पणीहरु प्रकट गरिनुहुन्न।
भूकम्पको पूर्व तयारी कहिले उपयोगमा आउला भन्न सकिन्न।तर अपवाद बाहेक वर्षा ऋतु (असारदेखि आश्विनको मध्य )मा पानीपर्ने र सोही अवधिमा बाढी पहिरो आउने भएकाले सतर्कता पूर्व तयारी गर्न सकिन्छ।सडकको पीच पटकपटक भत्किनुकापछि निर्माणको स्तरीयतामा सम्झौता गरि आर्थिक लेनदेन कारण हो।
नेपालमा प्राकृतिक विपत्तिका घटनाहरु सिमित व्यक्तिका लागि मनग्ये कमाउने अवसर समेत बन्ने गर्थे।अहिले जस्तो सक्रिय सामाजिक सञ्जाल पनि थिएनन्।
एकातिर नयाँ बस्ती रहेको रुपमा रहेको काठमाडौं खाल्टो उचाइमै रहेपनि अव्यवस्थित सहरीकरण या कंक्रिटका कारण छिटै जलमग्न हुने गरेको छ। अन्य कैयौं देशका राजधानीहरु पानी नपर्दा काकाकुलको अवस्थामा गुज्रेका छन्। ती देशहरुका राजधानीमा पनि काठमाडौं उपत्यकामा जस्तै पानी पर्ने भए कति त्यसको सदुपयोग गर्ने थिए? अझै पनि काठमाडौ उपत्यकामा वर्षामा परेको पानीलाई जम्मा गरेर राख्न सके कहिल्यै पानीको अभावको सामना गर्नुपर्दैनथ्यो।उपत्यकाको भूबनोट पनि त्यसो गर्न उपयुक्त छ जस्तो लाग्छ।
प्राकृतिक विपद् आइपर्दा समाज या राष्ट्रका सम्पन्न व्यक्तिहरूले परोपकार्थ आ-आफ्नो हृदयलाइ उदार बनाउँछन् र सक्दो सहयोग गर्छन् ।यही मानवीय भावना नै साँचो अर्थमा धर्म हो -स्वामि विवेकानन्द ल भनेका थिए। नेपाल जुन माहान ब्यक्तिको देश भनेर चिनिन्छ ति गौतम बुद्धको धर्मोदेसनामा अन्तर्निहित सार पनि यहि करुणा हो।
पटकपटक प्राकृतिक विपत्तिबाट शृजित हुने गरेका यस्ता भौतिक एवं मानवीय क्षतिको नैतिक जिम्मेवारी मुख्य नेतृत्वकै हो।
आफ्नो पूर्व तयारीले धेरै क्षति हुनबाट रोकेको दाबीलाई नागरिकले पत्याउनन् भन्ने हेक्का नराख्नु र गाम्भिर्यता समेत प्रतित नहुनु दुर्भाग्य हो ।सरकार एवं नागरिकहरुले समेत कहिले चेत्ने हुन्?