काठमाडौं, २० असार। च्याटजीपीटीजस्ता आर्टिफिसियल इन्टेलिजेन्स (एआई) टुलबाट समाचार साइटहरूमा जाने ट्राफिक (रेफरल) बढेपनि यो वृद्धि एआई सर्च इन्जिनका कारण समाचार उद्योगले भोगिरहेको ठुलो क्षतिलाई पूर्ति गर्न अपर्याप्त देखिएको छ । डिजिटल बजार अनुसन्धान कम्पनी ‘सिमिलरवेब’ (Similarweb) ले सार्वजनिक गरेको एक रिपोर्टले यस्तो तथ्य देखाएको हो।
रिपोर्टअनुसार, प्रयोगकर्ताहरू अब समाचारका लागि सिधै एआई वा गुगलको ‘एआई ओभरभ्युज’ जस्ता एआई-सञ्चालित सर्च इन्जिनहरूमा निर्भर हुन थालेका छन। यसकारण उनीहरूले समाचार वेबसाइटका लिङ्कहरूमा क्लिक गर्न छाडेका छन्।
मे २०२४ मा गुगलले ‘एआई ओभरभ्युज’ सुरु गरेयता समाचार वेबसाइटमा क्लिक नै नहुने सर्चको संख्या ५६% बाट बढेर मे २०२५ सम्ममा लगभग ६९% पुगेको छ । यसको प्रत्यक्ष असर समाचार वेबसाइटहरूको अर्गानिक ट्राफिकमा देखिएको छ । सन् २०२४ को मध्यमा दुई अर्ब ३० करोडभन्दा बढी रहेको भिजिट अहिले घटेर १.७ अर्बभन्दा कममा झरेको छ।
च्याटजीपीटीको सानो सहयोग, ठुलो गिरावट
एकातिर गुगल सर्चबाट ट्राफिक घटिरहँदा अर्कोतिर च्याटजीपीटीमा समाचार-सम्बन्धित प्रश्न (प्रम्प्ट) सोध्ने क्रम भने बढेको छ । जनवरी २०२४ देखि मे २०२५ सम्ममा यस्ता प्रम्प्टहरूमा २१२% को वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ।
यसको परिणामस्वरूप च्याटजीपीटीबाट समाचार साइटहरूमा जाने रेफरल ट्राफिक पनि आकाशिएको छ। जनवरी-मे २०२४ को अवधिमा करिब १० लाख रहेको रेफरल, सोही अवधिमा २०२५ मा २५ गुणाले बढेर दुई करोड ५२ लाख पुगेको छ।
तर, अर्गानिक सर्च ट्राफिकमा आएको भारी गिरावटको तुलनामा च्याटजीपीटीबाट प्राप्त यो वृद्धि मिडिया प्रकाशकहरूको घाटा पूर्ति गर्न पर्याप्त छैन।
कुन विषय र कुन साइटलाई फाइदा ?
सिमिलरवेबको तथ्यांकअनुसार, च्याटजीपीटीबाट सबैभन्दा बढी ट्राफिक पाउनेमा अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्स अग्रस्थानमा छ, जसले ८.९% रेफरल पाएको छ। त्यसपछि न्युयोर्क पोस्ट (७.१%) र बिजनेस इन्साइडर (६.५%) रहेका छन्। रोचक कुरा, ओपनएआईविरुद्ध मुद्दा दायर गरेको न्युयोर्क टाइम्सले भने जम्मा ३.१% मात्र रेफरल पाएको छ।
प्रयोगकर्ताले च्याटजीपीटीमा सबैभन्दा बढी शेयर बजार (३३%), फाइनान्स (२१%) र खेलकुद (Sports) (१७%) सम्बन्धी समाचार खोजेका छन् । यद्यपि, वार्षिक वृद्धिको हिसाबले राजनीति, अर्थतन्त्र, मौसम जस्ता विषयहरू तीव्र गतिमा बढिरहेका छन्, जसले प्रयोगकर्ताहरू गहन विषयमा एआईको प्रयोग गर्न थालेको संकेत गर्छ।
च्याटजीपीटीको आफ्नै वृद्धि र उद्योगको संकट
एआई रेफरल बढ्नुको साथै च्याटजीपीटीको आफ्नै प्रयोगकर्ता संख्या पनि तीव्र गतिमा बढेको छ। पछिल्लो ६ महिनामा यसको एप प्रयोगकर्ता ११६% र वेब भिजिटर ५२% ले बढेका छन्।
एआईका कारण ट्राफिक गुमाएपछि समाचार उद्योगले कर्मचारी कटौतीदेखि संस्थाहरू बन्द गर्नेसम्मका कठोर कदम चाल्न बाध्य भएका छन्। यस संकटको समाधानका लागि गुगलले अफरवाल जस्ता नयाँ उपायहरू परीक्षण गरिरहेको छ भने कतिपय साइटहरूले ‘पेवाल’ (शुल्क तिरेर पढ्ने) प्रणाली लागु गरेका छन्।
यस विषयमा ओपनएआईका सीईओ साम अल्टम्यानले पनि एआईका कारण केही रोजगारी गुम्न सक्ने र यसले समाजमा पीडादायी अवस्था सिर्जना गर्न सक्ने स्वीकारेका छन्।
(टेकपाना।)