फ्लोरिडामा मानिसहरूले घरका झ्याल र ढोकामा प्लाइउड र काठ लगाएर सुरक्षा कायम गर्ने कोसिस गरिरहेका छन्

अमेरिकाको फ्लोरिडा राज्यमा विनाशकारी आँधी मिल्टन आउन लागेको भन्दै दशौँ लाखभन्दा बढी मानिसहरूलाई उद्धारको आदेश दिइँदा लामो सवारी जाम देखिएको छ।

उक्त आँधी सय वर्ष यताकै खराब हुने भविष्यवाणी गरिएको छ। दुई साताअघि मात्रै उक्त क्षेत्रमा हेलेन नामक अर्को आँधीले विध्वंस मच्चाएको थियो।

ट्याम्पामा रहेका एक जना बीबीसी संवाददाता भन्छन् शहरहरू शान्त देखिएका छन् र बसेको ठाउँ छाड्न दिइएको चेतावनी मानिसहरूले पालना गरेको जस्तो देखिन्छ।

मौसमविद्हरूले हालैको ‘हरिकेन’ले पारेको प्रभावका कारण उक्त क्षेत्र यो भीषण आँधीबाट थप जोखिममा परेको उल्लेख गरेका छन्। बालुवाहरू आँधीले उडाएर ल्याउनसक्ने र भग्नावशेषहरूले हतियारको जस्तो असर पार्न सक्ने टिप्पणीहरू गरिएका छन्।

'सय वर्षकै खराब आँधी'

ट्याम्पा फ्लोरिडाका प्रहरीहरूले हरिकेन मिल्टनलाई ‘यो शताब्दीकै शक्तिशाली आँधी’ का रूपमा व्याख्या गर्दा मौसम अधिकारीहरूले यसलाई 'क्याटगरी' पाँचको आँधीका रूपमा वर्गीकरण गरेका छन्। आँधीको वेग २७० किलोमिटर प्रतिघण्टा हुने भनिएको छ।

सो विपद्लाई ध्यान दिँदै फ्लोरिडाका बासिन्दाहरूलाई वर्षौँ यताको सबैभन्दा ठूलो ठाउँ छाड्ने प्रयासमा भाग लिन भनिएको थियो।मिल्टन आँधी फ्लोरिडातर्फ अघि बढिरहेको छट्याम्पाका बासिन्दा स्टिभ क्रिष्ट आँधीबाट जोगिनका लागि आफ्नो डेन्टलको झ्याल र ढोकामा दह्रो बोर्डहरू लगाइरहेका छन्। उनले बीबीसीसँग भने, “सबैजना गइसकेका छन्। मैले यो ठाउँ यति चुपचाप कहिल्यै देखेको थिइन्।”

त्यही बसिरहेका मानिसहरूले घरमा सावधानी अपनाइरहेका तस्बिरहरू सार्वजनिक गरिएका छन्। मौसमविद्हरूले भीषण वर्षा, आकस्मिक बाढी, तीव्र आँधी र हुरीको चेतावनी दिएका छन्।

दुई साताअघिको हेलेन नामक आँधीले अमेरिकामा ६ राज्यमा गरेर कम्तीमा २२५ जनाको ज्यान लिएको थियो। सयौँ मानिसहरू अझै बेपत्ता छन्।

ज्यान गुमाउनेमध्ये १४ जना फ्लोरिडाका थिए। सो आँधीले ट्याम्पामा पुर्‍याएको क्षति अहिले पनि देख्न सकिन्छ।

क्रिस्टले दन्त उपचारका क्रममा प्रयोग गर्ने एउटा कुर्सीमा पनि क्षति पुगेको र उनले ४३ वर्षमा पहिलो पटक आफ्नो कार्यालयमा बाढी प्रवेश गरेको बताए। साथै पर्खालको केही फिटमाथिसम्म पानी पुगेको देखाए।

“यो अहिलेसम्म हामीले देखेको सबैभन्दा खराब अवस्था हो। योभन्दा धेरै क्षति हुनेछ। हामीले राम्रोको अपेक्षा गर्नुपर्छ, अहिले हामी त्यत्ति नै गर्नसक्छौँ।”

फ्लोरिडा छाडिरहेका मानिसहरू के भन्दैछन्?

मिल्टन आँधी फ्लोरिडा आइपुग्नुअघि उक्त राज्यका ६७ मध्ये ५१ वटा काउन्टीमा आपत्कालीन चेतावनीहरू दिइएको छ। मङ्गलवार सो आँधी केही कमजोर भए पनि बुधवार राति फ्लोरिडामा बज्रिनुअघि त्यसको आकार दोबर हुने अमेरिकाको न्याश्नल हरिकेन सेन्टरले चेतावनी दिएको थियो।

“मिल्टनको पश्चिम मध्य फ्लोरिडाका लागि हालसम्मकै सबैभन्दा विध्वंसात्मक आँधी हुन सक्छ,” उक्त विवरणमा भनिएको छ।

मिल्टन आँधीको जोखिमलाई ध्यान दिँदै फ्लोरिडा छाड्नेमा सङ्गीतकार जोन ओ’लेरी पनि छन्।

उनले रोएटर्स समाचार संस्थासँग कुरा गर्दै आफ्नो पियानो छाड्नुपर्दा दु:खी रहेको भए पनि आँधीबाट ज्यान जोगाउनु महत्त्वपूर्ण रहेको बताए।सवारीसाधनको लाम

अर्का व्यक्ति मार्क फिनमेनले १३ घण्टा गाडी चलाएर परिवारलाई अलाबामाको सीमानामा पुर्‍याएको बताए। बाटोमा उनले पेट्रोल भर्न लाम लागेका सवारी साधनहरू देखेका थिए।

“हामी भाग्यशाली रह्यौँ किनभने हामीसँग हाइब्रीड (गाडी) थियो। हामीले पेट्रोल र ब्याट्री दुवै प्रयोग गर्‍यौँ।”

फ्लोरिडाका अधिकारीहरूले पेट्रोल स्टेशनमा इन्धनहरू पुर्‍याइरहेका छन् भने राज्यले अस्थायी विद्युतीय चार्जिङ स्टेसनहरू पनि स्थापना गरिदिएको छ।

अमेरिकी सरकारले के गरिरहेको छ?

ह्वाइट हाउसमा मङ्गलवार बोल्दै बाइडनले यो आँधी फ्लोरिडाका लागि सय वर्षकै खराब हुनसक्ने बताए।

“अहिले, अहिले अहिले नै त्यो ठाउँ खाली गर्नुहोस्,” उनले सङ्घीय सरकारले आँधीअघि, आँधी आइरहँदा र रोकिएपछि राज्यलाई सहयोग गर्ने वाचा गर्दै भने।

हजारौँ सङ्घीय अधिकारीहरूलाई तैनाथ गरिएको पनि अधिकारीहरूले बताएका छन्।

गभर्नर रन डेसान्टिसले आँधीबाट अलपत्र पर्ने मानिसहरूलाई लक्षित गर्दै दर्जनौँ सुरक्षित आश्रयस्थल बनाइएको जानकारी दिए।

“हामीले बनाएका त्यस्ता स्थानमध्ये एकमा दश हजार जनालाई राख्न सक्छौँ,” उनले भने। “अरूमा पनि केही हजार राख्न सकिन्छ। तर ती अन्तिम विकल्प हुँदैनन्।”

सोमवार उनले उक्त आँधी ‘दानव’ जस्तो हुनसक्ने टिप्पणी गरेका थिए।

मिल्टनको पूर्व तयारीलाई ध्यान दिँदै राष्ट्रपति बाइडनले जर्मनी र एङ्गोलाको भ्रमण रद्द गरेका थिए।

बीबीसीनेपालीबाट।