बर्दिवास, २० असोज। मधेश प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्री राज कुमार लेखीले पत्रकारिता जगतको समस्या समाधानका लागि प्रदेश सरकारले काम गरिरहेको बताए।


मन्त्रालयद्वारा प्रदेश सञ्चार ऐन तथा नियमावलीका विषयमा महोत्तरीको बर्दिबासमा आयोजित पत्रकारहरू संगको अन्तरक्रियामा उनले मौजुदा ऐन तथा नियमावलीमा संशोधन गर्नेबारे छलफल गर्न कार्यक्रमको आयोजना गरिएको बताए। 

सञ्चारमन्त्री लेखीले मधेश प्रदेशका सबै पत्रकारहरूको १ लाखको स्वास्थ्य बिमा तथा ७ लाखको दुर्घटना बिमा गर्न तथ्याङ्क सङ्कलन गरिएको र पत्रपत्रिका, एफ.एम. तथा टेलिभिजनलाई थोरै भए पनि लोककल्याणकारी विज्ञापन दिइएको जनाए।

मधेश प्रदेशका नीति तथा योजना आयोगका सदस्य शिला मिश्रले सञ्चारमैत्री कानून बनाउनकै लागि कार्यक्रमको आयोजना गरिएको बताए। 

कार्यक्रममा मधेश प्रदेशमा आम सञ्चार प्राधिकरणले गरेको कामका विषयमा प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादव, सञ्चार उद्यमी विष्णु कुँवरले सञ्चार क्षेत्रले भोग्नुपरेका समस्याका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए।