सिरहा, १५ असोज। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको शंकर माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापकसहित तीनजनाविरुद्ध भौतिक संरचना निर्माण, छात्रबृत्ति रकम र पाठ्यपुस्तक खरिदमा अयिनमितता गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगले शंकर माध्यमिक विद्यालय बरमझियाका प्रधानाध्यापक दिलिपकुमार गुप्ता, शिक्षक हृदयराम चौधरी र विद्यालयका कर्मचारी श्रवणकुमार चौधरीबिरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

अख्तियारका अनुसार प्रधानाध्यापक गुप्ताविरुद्ध ६ लाख ४९ हजार ९ सय १६ रुपैयाँ बिगो कायम गरी बिगो बमोजिम जरिवाना र हिनामिना भएको बिगो बमोजिमको रकम निजबाट असुलउपर गर्नुपर्ने मागदाबी गरेको छ।

त्यस्तै शिक्षक हृदयराम चौधरीविरुद्ध ६२ हजार ५ सय ८३ रुपैयाँ र कर्मचारी श्रवणकुमार चौधरीविरुद्ध ५ लाख ८७ हजार ३ सय ३३ रुपैयाँ बिगो कायम गरी मुद्दमा दायर भएको हो।

अनुसन्धानका क्रममा शौचालय निर्माणमा ६२ हजार ५ सय ८३ रुपैयाँ, छात्रवृत्ति रकममा ३ लाख १० हजार ४ सय रुपैयाँ, पाठ्यपुस्तक खरिदका लागि बिनियोजित बजेटमा १ लाख २६ हजार २ सय ४७ रुप्यौँ र राहत शिक्षकको तलवभत्तामा १ लाख ५० हजार ६ सय ६८ रुपैयाँ हिनामिना गरेको पुष्टि भएपछि हिनामिना भएको रकमलाई बिगो कायम गरी भ्रष्टाचार मुद्दा दायर भएको अख्तियार प्रवक्ता देवी प्रसाद थपलियाद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ।