काठमाडौं, १५ असोज। संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले हवाई भाडाकम गरेको दाबि गरेपनि वास्तविकतामा हवाई भाडा कम नभएको पाइएको छ।

मन्त्री पाण्डेको सचिवालयले मन्त्री पाण्डेको विशेष पहलमा हवाई कम गरेको दाबि गरेको छ।  पाण्डेको निर्देशन विशेष पहलपछि सडक सञ्जााल सञ्चालनमा नआएसम्म सरकारले तोकेको अधिकतम् हवाई भाडा नलिन वायुसेवा कम्पनीहरु सहमत भएका दाबि गरिएको छ।

तर वास्तवमा भने हवाई भाडामा कुनै कमी आएको देखिएको छैन। कुनै पनि हवाई कम्पनिको आगामी शुक्रबारसम्मका लागि कुनै टिकट नै उपलब्ध रहेको छैन। शनिबारका लागि बुद्ध एयरले काठमाडौंदेखि भैरहवाको भाडा  ७ हजार २ सय १६ रुपैयाँ १८ पैसा  देखि ८ हजार १ सय ८४ रुपैयाँ ५९ पैसासम्म देखाएको छ। त्यस्तै इसेवामा बुद्ध एयरको ८ हजार ५ सय ६४ रुपैयाँ रहेको छ भने श्री एयरको ८ हजार ५ सय भाडा रहेको छ।

यस अघि सामान्य अवस्थामा यो रुटमा सबै एयर लाइन्सले ५ हजार २ सयमा टिकट बेचिरहेका थिए।  

हवाई कम्पनिले अहिले सरकारले तोकेको अधिकतम मुल्यमा टिकट नबेच्ने घोषणा गरेपनि, मन्त्रीले भाडा घटाएको दाबी गरेपनि यात्रुले सामान्य अवस्था भैरहवाको रुटमा २ देखि ४ हजार बढी भाडा तिर्न बाध्य छ।

अविरल वर्षासँगै बाढी पहिरोका कारण देशभरका अधिंकाश सडक सञ्जाल र राजमार्गहरु अवरोध भएको तथा दशैंको मौका छोपेर हवाई कम्पनीहरुले यात्रुलाई झन मार पारिरहेको स्पष्ट हुदा पनि मन्त्री पाण्डेले हवाई भाडा कम गरेको दाबि गर्न छोडेका छैनन्।

अहिले यात्रुले टिकट पाइरहेका छैनन् र पाएको टिकट पनि अन्य समयमा भन्दा ४ हजारसम्म बढी तिरेको स्पष्ट देखिएको छ।