सर्लाही, १० असोज। सर्लाहीको हरिपूर्वा नगरपालिका ५, मा एक युवकलको गोली प्रहारबाट श्रीमतीको मृत्यु भएको छ। युवकको  गोली प्रहारबाट बुवा घाइते भएका छन्।

बुधवार राति २ बजेतिर एकजना साथीसँगै मोटरसाइकल चढेर आएका हरिपूर्वा नगरपालिका ५ घर भएका धीरेन्द्र यादवले श्रीमती २३ वर्षीया चित्रलेखा यादवको गोली प्रहारगरी हत्या गरेका हुन्। सँगै आएका साथीले मोटरसाइकल रोकेर बाटोमा बसेका र धीरेन्द्रले घरभित्र पसेर श्रीमती चित्रलेखालाई गोली प्रहार थिए। 

टाउको र आँखामा दुई राउन्ड गोली प्रहार भएको चित्रलेखाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी डीएसपी दिपक श्रेष्ठले जानकारी दिए। गोली लागेर धीरेन्द्रका बुवा ५४ वर्षीय रामदिनेश राय घाइते भएका हुन्। 

रायको प्रादेशिक अस्पताल मलङ्गवामा उपचार चलिरहेको छ। गोली प्रहार गर्ने धीरेन्द्र साथीसँगै मोटरसाइकल चढेर फरार भएका छन्। प्रहरीका अनुसार धीरेन्द्र र उनीसँगै मोटरसाइकलमा आएका व्यक्तिको खोजी भइरहेको छ।

प्रहरीका अनुसार घटनामा सानो हतियार (पेस्तोल) प्रयोग भएको प्रारम्भिक अनुसन्धानमा देखिन्छ। प्रहरीले घटनास्थलमा प्रयोग भएको दुई राउन्ड गोलीको खोका र एक राउन्ड मिस फायर भएको गोली बरामद भएको छ। हतियार भने फेला नपरेको डीएसपी श्रेष्ठले बताए। 

स्थानीयका धीरेन्द्र  एक महिनाअघि वैदेशिक रोजगारीबाट आएका थिए। घर आएपनि घरायसी विवादका कारण उनी तीन चार दिनपछि नै घरबाट हिडेको  बुझिएको छ। 

बुधवार राति भने एक्कासि हतियारसहित घरमा आएर श्रीमतीमाथी गोली प्रहार गरेका थिए। रोक्न गएका बुबामाथि पनि उनले गोली वर्षाको प्रहरीको कथन रहेको छ।  

प्रहरी टोली अहिले घटनास्थलमै छ। घटनास्थलको अनुसन्धानपश्चात् मृतक चित्रलेखाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा लगिने प्रहरीले जनाएको छ।