• रेहान फजल/बीबीसी हिन्दी
  • सन् १९६५ मा भारत र पाकिस्तानबीच २२ दिनसम्म चलेको युद्ध निर्णायक हुन सकेको थिएन। भारतको हात अवश्य पनि माथि थियो तर उससँग कति हदसम्म पाकिस्तानलाई हतियारको अभाव भइसक्यो भन्ने गुप्त जानकारी थिएन।

सेप्टेम्बर २२ तारिखमा युद्ध विराम घोषणा हुँदा पाकिस्तानको सबै हतियार लगभग समाप्त भइसकेको थियो।

त्यसको आपूर्ति हुने सम्भावना पनि थिएन किनकि अमेरिकाले पाकिस्तानलाई हतियार दिन प्रतिबन्ध लगाइसकेको थियो।

रअका पूर्वप्रमुख शङ्करन नायरले आफ्नो आत्मकथा 'इनसाइड आईबी एन्ड रअः द रोलिङ स्टोन द्याट ग्यादर्ड मास' मा लेखेका छन् कि तत्कालीन सेना प्रमुख जनरल जेएन चौधरीले रक्षा मन्त्री यशवन्त राव चव्हाणलाई रिपोर्ट दिएका थिए: सेनाले पाकिस्तानमाथि यस कारण निर्णायक विजय हासिल गर्न सकेन किनभने हामीसँग सही गुप्त जानकारी थिएन। किनकि त्यो जानकारी सङ्कलन गर्ने जिम्मेवारी असक्षम आईबी (इन्टेलिजेन्स ब्यूरो)का जासुसहरूलाई दिइएको थियो।

यस्तो आलोचनाले एउटा परिणाम अवश्य दियो - भारतले एक नयाँ गुप्तचर संस्था 'रिसर्च एन्ड एनलिसिस विङ' (रअ) स्थापना गर्ने निर्णय गर्‍यो। उक्त निकायको जिम्मेवारी देशबाहिरको गोप्य जानकारी सङ्कलन गर्नु थियो।

रअ सम्बन्धी लेखिएको एक पुस्तक

तस्बिर स्रोत,MANAS PUBLICATIONS

‘रिलेटिभ एन्ड असोसिएट्स वेल्फेअर असोसिएशन’

सन् १९६८ सेप्टेम्बर २१ मा 'रअ' को स्थापना भयो र रामेश्वरनाथ कावलाई यसको पहिलो प्रमुख बनाइयो। उनीपछिको जिम्मेवारी शङ्करन नायरलाई दिइयो। यी दुई बाहेक २५० जनालाई इन्टेलिजेन्स ब्यूरोबाट रिसर्च एन्ड एनलिसिस् विङमा स्थानान्तरण गरिएको थियो। सन् १९७१ पछि रामनाथ कावले क्याम्पस र विश्वविद्यालयबाट सीधै 'रअ'का गुप्तचर छान्ने परम्परा सुरु गरे।

फलस्वरूप रअमा काम गर्ने धेरै मानिसका आफन्त र साथीभाइले सङ्गठनमा जागिर पाए र ठट्टा गर्दै त्यसलाई 'रिलेटिभ एन्ड असोसिएट्स वेल्फेयर असोसिएशन' भन्न थाले।

तर सन् १९७३ पछि यो परम्परा फेरियो र सिधै लिइएका मानिसहरूलाई कडा प्रतिस्पर्धा र धेरै किसिमका परीक्षाको सामना गर्नु पऱ्यो।

नितिन गोखलेले आफ्नो पुस्तक 'आरएन काव, जेन्टलमेन्स स्पाई मास्टर' मा लेखेका छन्: पहिलो मनोवैज्ञानिक परीक्षा थियो। परीक्षार्थीहरूलाई बिहान ३ बजे एक ठाउँमा बोलाइयो। त्यहाँ पुगेपछि तिनीहरूसँग वस्तुनिष्ठ प्रकारको परीक्षा लिइयो। पास भएकाहरूलाई अन्तर्वार्ताको लागि बोलाइयो जुन एक जना संयुक्त सचिवले लिएका थिए।

रअका भूतपूर्व स्पेशल सेक्रेटरी राणा बेनर्जी
तस्बिरको क्याप्शन,रअका भूतपूर्व स्पेशल सेक्रेटरी राणा बेनर्जी

सन् १९७३ मा रअमा छानिएका र अतिरिक्त सचिवको पदबाट अवकाश पाएका जयदेव रानाडे भन्छन्, “अर्को चरणको अन्तर्वार्ता रअका वरिष्ठ अधिकारी एनएन सन्तूक र शङ्करन नायरले लिएका थिए। त्यसबाट छानिएपछि हामीले विदेश सचिव, रअका प्रमुख आरएन काव र एक मनोवैज्ञानिक सम्मिलित छ सदस्यीय छनोट समितिको सामना गर्नु पऱ्यो। मेरो अन्तरवार्ता ४५ मिनेटसम्म चलेको थियो।”

दुई महिनापछि रानाडेलाई 'रअ'मा छानिएको जानकारी उनलाई दिइयो। उनीसँगै अन्य तीन जना प्रताप हेबलीकर, चकरू सिन्हा र विधान रावल पनि छनोट भएका थिए। रअको स्पेसल सेक्रेटरीबाट अवकाश पाएका राणा बेनर्जी भन्छन्, “त्यसपछि सन् १९८५ देखि १९९० को बीचमा त्यसरी 'रअ'मा अरू केही व्यक्तिलाई लगियो, जसबाट त्यो स्पेसल सर्भिस बन्यो। पछि अज्ञात कारणले त्यो प्रयोग बन्द गरियो। अहिले ९५ प्रतिशतभन्दा बढी मानिस भारतीय प्रहरी सेवाबाट छानिन्छन् भने आर्थिक गुप्तचरीको जिम्मेवारीको लागि केही व्यक्तिलाई भन्सार र आयकर सेवाबाट लगिन्छ।”

आईपीएसबाट गरिने भर्नामा प्रश्न

रअको केही तहमा यस चयन प्रक्रियाको आलोचना भएको छ। रअका पूर्वप्रमुख विक्रम सूद आफ्नो किताब ‘द अनएन्डिङ गेम’मा लेख्छन्, “एउटा व्यक्ति प्रहरी सेवामा अधिकृत बन्दासम्म उसको उमेर औसत २७ वर्षको हुन्छ।"

तीन वर्षपछि रअमा आउँदा ३० वर्षको हुन्छ। त्यो उमेरमा नयाँ जिम्मेवारीमा आफूलाई ढाल्न उसको निम्ति मुस्किल हुन्छ। त्यस बेला ऊ बढी जोखिम उठाउने स्थितिमा पनि हुँदैन।”

विक्रम सूदको किताब

तस्बिर स्रोत,PENGUIN

सूदका भनाइमा प्रहरी सेवाबाट गुप्तचर निकायमा लग्नु अब त्यति प्रभावकारी रहेन। “यो यस्तो पेसा हो जहाँ भाषाको कौशल र सूचना निकाल्ने कला निकै महत्त्वपूर्ण हुन्छ जसको निम्ति प्रहरीलाई प्रशिक्षित गरिएको हुँदैन। उनीहरू आर्थिक, साइबर, वैज्ञानिक र सामरिक क्षेत्रमा पनि पोख्त हुन आवश्यक हुन्छ जसको तालिम एक आईपीएस अधिकारीलाई दिइँदैन,” उनले पुस्तकमा लेखेका छन्।

रअ अधिकारीलाई तालिम

छानिएका व्यक्तिलाई गोप्य जानकारी प्राप्त गर्ने आधारभूत तालिम दिइन्छ। उनीहरूलाई कुनै एक विदेशी भाषामा निपुण बनाइन्छ। आधारभूत तालिमपछि फिल्ड इन्टेलिजेन्स ब्यूरोसँग राखिन्छ जहाँ उनीहरूलाई निकै चिसो ठाउँमा कसरी काम गर्ने, कसरी घुसपैठ गर्ने, गिरफ्तार हुनबाट कसरी जोगिने, कसरी प्रश्नहरूको जबाफ दिने र कसरी नयाँ सम्पर्क स्थापित गर्ने भन्ने सिकाइन्छ।

उपकरण

तस्बिर स्रोत,GETTY IMAGES

तस्बिरको क्याप्शन,रअका एजेन्टहरू सामान्यता विदेशस्थित भारतीय राजदूतावासमै रहन्छन्

फिल्डमा जानुअघि उनीहरूलाई आत्मरक्षाको ‘क्रावमगा’ तालिम दिइन्छ। यो एक किसिमको इजरेली मार्सल आर्ट हो। जसमा आमुन्ने सामुन्नेको लडाइँमा जित्ने गैर परम्परागत चालहरू सिकाइन्छ।

राणा बेनर्जी भन्छन्, “विदेश जानुअघि उनीहरूलाई पछि काम लाग्न सक्ने विषयहरूबारे सिकाउने गरिन्छ। जस्तो कि कुनै बेला ‘डेड लेटर बक्स’ को कुरा हुन्थ्यो। तपाईँले कुनै रुखको तल कागज राख्नु हुन्छ। दोस्रो मानिसले त्यो लग्छ। राख्ने र लग्ने प्रक्रियामा चिन्ह लगाउनु पर्छ। कोड भाषा लेख्न पनि सिकाइन्छ।”

दूतावासमा ‘अन्डरकभर’ तैनाथ

विश्वका सबै देशले विदेशस्थित आफ्नो दूतावासलाई जासुसहरूको गुप्तचर कार्यालयको रूपमा प्रयोग गर्छन्।

रअका एजेन्टलाई पनि प्राय: विदेशस्थित भारतीय दूतावासमा तैनाथ गरिन्छ। कुनै बेला उनीहरूलाई नक्कली नाम दिएर बाहिर पठाइन्छ। खोज पत्रकार यतीश यादवले आफ्नो किताब ‘रअ: ए हिस्ट्री अफ इन्डियाज कोभर्ट अपरेसन्स’ मा लेखेका छन्, “त्यसको पछाडिको कारण यो हो कि उनीहरूको वास्तविक नाम सिभिल सेवाको सूचीमा हुन्छ। एक पटक रअमा काम गरिरहेका विक्रम सिंहलाई विशाल पण्डित बनेर मस्को जानु परेको थियो। उनका परिवारका सदस्यहरूले पनि पहिचान परिवर्तन गर्नु परेको थियो। यदि विदेशमा पोस्टिङ भएका बेला बच्चा जन्मियो भने उसको थर पनि नक्कली राखिन्छ जुन आजीवन रहिरहन्छ।”

रअका पूर्वप्रमुख अमरजीत सिंह दुलतसँग रेहान फजल
तस्बिरको क्याप्शन,रअका पूर्वप्रमुख अमरजीत सिंह दुलतसँग रेहान फजल

रअका प्रमुख रहिसकेका अमरजीत सिंह दुलतले एक चाखलाग्दो प्रसङ्ग सुनाए।

“हाम्रो एक कश्मीरी साथी हाशिम कुरैशीले पहिलो पटक भारतको विमान अपहरण गरेको थियो। देशबाहिर कतै भेट भयो। हात मिलाउँदा मैले मेरो नाम दुलत हो भनेँ।"

"उसले त त्यो त ठिक छ तर आफ्नो असली नाम त भन्नुहोस् पो भन्छ। मैले हाँस्दै भने- कहाँबाट ल्याऊँ, असली नाम नै यही हो। पछि भन्यो - तपाईँ नै हो जसले आफ्नो वास्तविक नाम भन्नुभयो,” उनले सुनाए।

परिचय खुल्ने र देश निकाला हुने डर

तैपनि परिचय खुल्ने डर सधैँ रहन्छ। पेशेवर गुप्तचर निकै चाँडो चिनिन्छन्। राणा बेनर्जी भन्छन्, “भारत र पाकिस्तानबीच एक कूटनीतिक प्रोटोकल बनेको छ। जासुसी कामको निम्ति एक अर्को देशमा पठाइने गुप्तचरको नाम त्यो देशलाई पहिले नै भन्नु पर्छ। हामीले एक अर्कासँग खराब व्यवहार गर्दैनौँ भन्ने निश्चित हुन्छ। कसैले तोकिएको सीमाभन्दा बाहिर काम गरेमा उसलाई फिर्ता बोलाइन्छ।”

त्यसैले निष्कासित हुने डर सधैँ रहने उनी बताउँछन्। “विदेशमा कसैको तीन वर्षको निम्ति सरुवा हुँदा उसले बालबच्चाको पढाइको पनि व्यवस्था गर्छ। तर छ महिनामै देश छाड्न भनियो भने त त्यो उसको निम्ति दुखद नै हुन्छ।”

रअ र आईएसआईको तुलना

आईएसआई पाकिस्तानको गुप्तचर निकाय हो त्यसैले रअसँग उसको तुलना स्वाभाविक हुन्छ। रअका पूर्वप्रमुख विक्रम सूदले आफ्नो किताब ‘द अनएन्डिङ गेम’मा लेखेका छन्, “यी दुई एजेन्सीलाई तुलना गर्ने हो भने पक्राउ गर्ने अधिकार रअलाई छैन, रअले देशभित्र पनि जासुसी गर्दैन, जबकि आईएसआईले सबै गर्छ। रअ देशको प्रधानमन्त्रीप्रति जबाफदेही हुन्छ भने आईएसआईले सेना प्रमुखलाई रिपोर्ट गर्छ। तर, कागजमा उनले प्रधानमन्त्रीलाई रिपोर्ट गर्ने लेखिएको छ।”

आईएसआईका पूर्वप्रमुख असद दुर्रानी

तस्बिर स्रोत,GETTY IMAGES

तस्बिरको क्याप्शन,आईएसआईका पूर्वप्रमुख असद दुर्रानी

आईएसआईको इतिहास रअको भन्दा पुरानो छ।

त्यसको स्थापना सन १९४८ मा ब्रिटिश सेनामा काम गरिरहेका एक अस्ट्रेलियाली मेजर जेनरल वाल्टर जोजेफले गरेका हुन्।

रअका पूर्वप्रमुख एएस दुलत भन्छन्, “आईएसआईको प्रमुख रहेका असद दुर्रानीले भन्ने गर्थे - तपाईँका रअवालाहरू हामीभन्दा बढी चलाख छन्। हाम्रोमा आउने धेरै फौजी छन्, हल्ला बढी गर्छन्। हामी आईएसआईभन्दा कम नरहेको मेरो पनि आकलन छ।"

"मलाई पाकिस्तानमा पनि यही सोधियो, अनि मैले जबाफ दिएँ कि यदि दुर्रानी साहेब नै हामी उत्तम छौँ भन्नुहुन्छ भने म पनि मान्छु। मैले आईएसआई निकै ठूलो संस्था रहेको पनि बताएँ, यदि म पनि यति ठूलो निकायको प्रमुख भइदिएको भए, अनि उनीहरू जोडले हाँसे।"

रअ अधिकारीले छक्याएको प्रसङ्ग

रअ र आईएसआईको होडबाजीका कैयौँ कथा निकै चर्चित छन्।

राणा बेनर्जी सम्झिन्छन्, “मेरो पोस्टिङ सन् १९८४ देखि १९८८ सम्म पाकिस्तानमा थियो। हामीसँग सधैँजसो आईएसआईका मानिसहरू हुन्थे। हाम्रो घरनजिकै बस्थे, बिहान ७ बजेदेखि साँझ ८ बजेसम्म।”

उनका अनुसार आफूहरूमाथि निगरानी गर्ने समूहको समय तालिकाबीचको अन्तर ख्याल गरेर त्यसै अनुसार काम गर्ने तालिम दिइन्थ्यो।

एक पटक आईएसआईको मानिसले आफूलाई पछ्याइरहेको घटना सम्झिँदै बेनर्जी भन्छन्, “म मोडिएको बाटोतर्फ लागेँ र गाडी रोकेँ। मेरो गाडी नदेखेपछि उनीहरूले आफ्नो गाडी मेरो घरतर्फ कुदाए। म त्यहाँ थिइनँ। फर्किँदा उनीहरूले देखेपछि मैले उनीहरूलाई जिस्काउन हात हल्लाएँ, उनीहरू निकै खिस्रिक्क भए।”

कोपेनहेगनसम्म पछ्याइएका रअ अधिकारी

रअका पूर्वप्रमुख शङ्करन नायर आफ्नो पुस्तक 'इनसाइड आईबी एन्ड रअः द रोलिङ स्टोन द्याट ग्यादर्ड मास' मा खान अब्दुल गफ्फार खाँका छोरा वली खाँले सन् १९६० र १९७० को दशकमा लन्डनमा बिताइरहेको निर्वासित जीवनको बेलाको प्रसङ्ग छ। उनी लेख्छन्, “उनी पाकिस्तानमा नयाँ प्रधानमन्त्री बनेका जुल्फिकर अलि भुट्टोका विरोधी थिए। उनले राजनीतिक र नैतिक समर्थनका निम्ति इन्दिरा गान्धीलाई एउटा सन्देश पठाउन चाहन्थे।”

त्यसैले आफूलाई उनीसँग भेट्न भनिएको नायरको भनाइ छ। “त्यो वार्ता कुनै अर्को देशमा गर्नु थियो किन कि लन्डनमा पनि पाकिस्तानी दूतावासले उनीमाथि निगरानी गरिरहेको थियो। म पहिले लन्डन गएँ र त्यहाँबाट डेनमार्कको राजधानी कोपेनहेगन गएँ। मैले नास्ता खाइरहेका बेला मेरो पछाडि बसेका केहीले उर्दू बोलिरहेको सुनेँ। उनीहरू आईएसआईका एजेन्ट भएको शङ्का लाग्यो। त्यो कुरा त्यस बेला सत्य साबित भयो जब उनीहरूले खाजा छाडेर बरन्डामा मेरो र वली खाँको खोजी गर्न थाले,” उनले लेखेका छन्।

नायरले तुरुन्तै ठाउँ परिवर्तन गरे। उनले वली खाँलाई उनलाई मन पर्ने मिठाई दिए। उनी निकै खुसी भए। भारत फर्किएर नायरले वली खाँको सन्देश प्रधानमन्त्री इन्दिरा गान्धीलाई पुर्‍याए।

कुराकानी रिकर्ड गर्ने प्रयास

पाकिस्तानमा रअका गुप्तचरको फोन सधैँ रिकर्ड हुन्थ्यो।

परिवारसँग फोनमा गरिएका कुराकानीसमेत सुन्ने गरिन्थ्यो। राणा बेनर्जीले अर्को प्रसङ्ग सुनाए, “इस्लामाबादमा हाम्रो एक वेटर थिए। उनी एङ्ग्लो-इन्डियन इसाई थिए। उनको एउटा कमजोरी थियो। जब उनले मदिराजन्य पेय पदार्थ पुर्‍याउनुपर्थ्यो, उनले पहिल्यै एक-दुई घुट्की लगाइहाल्थे। त्यसो नगरून् भनेर हामीले पार्टी सकिएपछि तिमीलाई दिन्छौँ, घर पनि लग्न सक्छौ भन्थ्यौँ। तर उनी मान्दैनथे।"

रअका पूर्वप्रमुख शङ्करन नायर

तस्बिर स्रोत,MANAS PUBLICATION

तस्बिरको क्याप्शन,रअका पूर्वप्रमुख शङ्करन नायर

त्यसैले बेनर्जीले उनीमाथि नजर राख्थे। एक पटक अनौठो तरिकाले उभिएका ती वेटरले केही वस्तु टेबल तल खुट्टाले सारिरहेका थिए।

“मैले देखेँ कि त्यो त सानो सलाईको बट्टाजस्तो वस्तु थियो। वास्तवमा उनले डाइनिङ कोठामा एक ‘हिअरिङ डिभाइस’ अर्थात् सुन्ने यन्त्र जडान गर्दै थिए। मैले त्यो यन्त्र बन्द गरेर अलग राखिदिएँ। अर्को दिन हाम्रा राजदूतले पाकिस्तानको विदेश मन्त्रालयमा त्यसबारे आपत्ति जनाए।”

आलोचना भयो तर प्रशंसा भएन

कान्दाहार अपहरणको बेला तीन जना चरमपन्थीलाई भारतले छाड्नु परेको थियो

तस्बिर स्रोत,GETTY IMAGES

तस्बिरको क्याप्शन,विमान अपहरणपछि भारतले तीन जना खतरनाक चरमपन्थीलाई कान्दहार पुर्‍याएर छाड्नु परेको थियो

सन् १९९९ मा विमान अपहरणपछि भारतले तीन जना खतरनाक चरमपन्थीलाई रिहा गर्नु परेको घटना रअको निकै लाजमर्दो बन्यो। रअका तत्कालीन प्रमुख एएस दुलतले मसूद अजहर र मुश्ताक अहमद जरगरलाई आफ्नो विमानमा श्रीनगरबाट दिल्ली लिएर आए। त्यहाँबाट जसवन्त सिंहले आफूसँगै कान्दहार लिएर गए। जसरी आईसी-८१४ विमानलाई अमृतसरबाट लाहोरका निम्ति उड्न दिइयो त्यसको पनि निकै आलोचना भयो।

संसारका अन्य गुप्तचरहरू जस्तै रअका सदस्यहरूको छातीमा पनि कुनै तक्मा टाँसिएन।

थोरै मानिसलाई थाहा छ कि कारगिल युद्धका बेला पाकिस्तानबाट घुसपैठ गरेकाहरूविरुद्ध पहिलो सफल अभियान सिमानामा तैनाथ रअका ८० जनाले चलाएका थिए।

तीमध्ये केही जीवित फर्किन पाएनन्। तर उनीहरूको नाम कहिल्यै पनि खुलाइएन। खोज पत्रकार यतीश यादवले आफ्नो किताब ‘रअ ए हिस्ट्री अफ इन्डियाज कोभर्ट अपरेसन्स्’ मा लेखेका छन्, “कारगिलको लडाइँपछि रअका ती मानिसहरू चुपचाप रहे जसले आफ्ना साथी लडाइँमा गुमाएका थिए। ‘रहमान’ कोड नाम भएका एक गुप्तचरले देशको निम्ति ज्यान अर्पण गरेकाहरूको बलिदान सार्वजनिक रूपमा स्वीकार गरिनु पर्ने प्रस्ताव रअका उच्च अधिकारीहरू समक्ष राखे।”

उनका अनुसार त्यो प्रस्ताव तत्कालीन राष्ट्रिय सुरक्षा सल्लाहकार र प्रधानमन्त्रीका प्रधान सचिव ब्रजेश मिश्रासम्म पुग्यो। तर मिश्रा त्यसको विपक्षमा उभिए। कुरा तत्कालीन प्रधानमन्त्री अटल बिहारी बाजपेयीसम्म पुग्यो। यतीश यादव लेख्छन्, “प्रधानमन्त्री निवासको एउटा बन्द हलमा ती १८ जना रअका प्रतिनिधिहरूको नाम र उनीहरूले कारगिलको लडाइँमा देखाएको पराक्रम ठूलो स्वरमा वाचन गरियो।”

उनका अनुसार रअको इतिहासमा पहिलो पटक ती योद्धालाई विशेष पदक प्रदान गरियो, वाजपेयीले रअका उच्च अधिकारीहरूसँग हात मिलाए र ती गुमनाम वीरको बलिदानप्रति आभार प्रकट गरे। “उक्त समारोहको कुनै रिकर्ड राखिएन, न त त्यसको कुनै विवरण अर्को दिनको पत्रिकामा नै छापियो,” यतीश यादवको किताबमा लेखिएको छ।