रामनारायण ठाकुर

मिर्चैया, ३१ असोज। ‘हाम्रो संस्कृति हाम्रो पहिचान, हाम्रो भेषभूषा जोगाऔँ’ भन्ने नाराका साथ सिरहाको मिर्चैया नगरपालिका ५ स्थित ब्रह्मचारी दामोदरानन्द कलेजले आज शुक्रबार सचेतनामूलक सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ।

1000011360

शुभ दीपावली, छठ तथा सामाचकेवा पर्वको पावन अवसरमा आयोजना गरिएको सांस्कृतिक सचेतना र सडक नाटक कार्यक्रम २०८२ अन्तर्गत कलेजका विद्यार्थी तथा प्राध्यापकहरूले संस्कृति संरक्षणका सन्देशसहित विविध कार्यक्रम प्रस्तुत गरेका थिए।

बिहान ८ बजे कलेज परिसरबाट सुरु भएको सांस्कृतिक झाँकीले बजार हुँदै थाना चौक, कटारी चौक परिक्रमा गर्दै सल्हेश संस्था चौकमा पुगेर सम्पन्न भएको थियो।

सांस्कृतिक परम्परा जोगाउने उद्देश्यका साथ विद्यार्थीहरू मैथिली संस्कृति र परम्परालाई झल्काउने पहिरनमा सहभागी भएका थिए। छात्रहरूले धोती–कुर्ता र छात्राहरू साडी लगाएर सहभागि भएका थिए।

संस्था चौकमा विद्यार्थीहरूले सडक नाटक र सांस्कृतिक झाँकीमार्फत परम्परागत संस्कृति जोगाउन सन्देश दिएका थिए।

कार्यक्रमलाई सफल बनाउन कलेजका विद्यार्थी, प्राध्यापक, कलेज समितिका सदस्यहरू तथा मिर्चैया नगरपालिका वडा नम्वर ५ का अध्यक्ष प्रदीप साहलगायतको सक्रिय उपस्थिति रहेको थियो।

कलेज प्रमुख संजय साहका अनुसार कार्यक्रम उत्साहवर्धक र भव्य रूपमा सम्पन्न भएको  बताए।