काठमाडौं, ९ असोज। साफ यू-१७ च्याम्पियनसिपमा नेपालले समूहको आफ्नो अन्तिम खेलमा आज घरेलु टोली भुटानसँग प्रतिस्पर्धा गर्दैछ। 


सेमिफाइनल प्रवेशका लागि नेपालले यो खेल जित्नैपर्ने अवस्था रहेको छ।

थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा हुने खेल नेपाली समय अनुसार ५: ४५ बजेदेखि हुनेछ। समूह बी मा रहेको नेपाल दुई खेलबाट तीन अंक जोड्दै तालिकाको तेस्रो स्थानमा छ। पहिलो खेलमा पाकिस्तानसँग नेपाल १-० गोलले पराजित भएको थियो। दोस्रो खेलमा नेपालले श्रीलंकालाई ४-० गोलले पराजित गरेको थियो। 


भुटान चार अंकका साथ तालिकाको शीर्ष स्थानमा छ। समान अंक भए पनि गोल अन्तरका आधारमा पाकिस्तान दोस्रो स्थानमा छ। आज नै पाकिस्तानले श्रीलंकासँग खेल्नेछ । भुटान र पाकिस्तानलाई बराबरीको नतिजा पनि अन्तिम चारमा पुग्न पर्याप्त हुनेछ।