सिरहा, १६ कात्तिक। सिरहाको कर्जन्हा नगरपालिकाका बासीन्दाले देशका विभिन्नस्थानमा रहेका तीनवटा अस्पतालहरुमा स्वास्थ्य उपचार गराउँदा भारी छुट पाउने भएका छन्। यस नगरक्षेत्रका सवैखालाका विरामीहरुले विराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ अस्प्तालमा २० प्रतिशत, काठमाडौं मेडिकल कलेज सिनामङ्गलमा २५ प्रतिशत र काठमाडांै मेडिकल कलेज दुवाकोट भक्तपुरमा ५० प्रतिशत छुट दिने भएका हुन्। 

नगरपालिकाले आफ्नो पालिकाको नागरिक भएको सिफारिसको आधारमा अस्पतालले उक्त सुविधादिने सहमतिमा आज अस्पतालका प्रतिनिधी र नगरपालिकाविच सहमतिपत्रमा हस्ताक्षर भएको हो। 

सामान्य बेड, प्रयोगशाला, विभिन्न प्रकारका शल्यक्रिया, आईसीयू, एचडीयू, सीसीयू, सीटी स्क्यान, एमआरआई, एक्सरे, ईसीजी, फिजियोथेरापी, इन्डोस्कोपी, कोलोनोस्कोपीलगायत उपचार सेवामा उक्त छुट प्रदान गरिने सहमति पत्रमा उल्लेख गरिएको छ। 

सहमति पत्रमा नगरपाकिाका तर्फबाट नगरप्रमुख भोला प्रसाद पोखरेल, उपप्रमुख लक्ष्मी श्रेष्ठ र स्वास्थ्य शाखा प्रमुख सुन्दर कुमार सदाले हस्तारक्षर गरेका छन्। अस्पतालका तर्फबाट जनसम्पर्क अधिकृत नविन दहालले हस्ताक्षर गरेका छन्। 

हस्ताक्षरपछि नगरप्रमुखले पालिकाले विकास निर्माण, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा कामगर्दा सामाजिक तथा समुहिक लाभ हुन्थ्यो, यो सेवाबाट भने व्यक्ति प्रत्यक्ष लाभान्वित हुने बताए। उनले भने, ‘यो व्यक्ति केन्द्रित सेवा भयो, यसबाट व्यक्तिले प्रत्यक्ष लाभ पाउने छन्। यसमा कर्जन्हाका जनाले पहिलो अवसर पाएको छ। यस कार्यपति नगरको तर्फबाट अस्पताललाई  हृदयदेखि धन्यवाद छ।’