मिर्चैया नगरपालिकाका मेयर श्रवणकुमार यादवमाथि ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको छ। उच्च अदालत राजविराजको आदेशमा इलाका प्रहरी कार्यालय मिर्चैयाले उनीमाथि मुद्दा चलाएको हो।
मेयर यादवसँगै अन्य १३ जनाविरुद्ध डेढ महिनाअघि मुद्दा दर्ता भएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यसै मुद्दाका प्रतिवादीमध्येका मनोज कापरी र फरमान शेख प्रहरी नियन्त्रणमा रहेको मिर्चैयाका प्रहरी प्रमुख डीएसपी पञ्चकुमार बाखुले बताएन्य प्रतिवादीहरूको भने खोजी कार्य भइरहेको उनले जानकारी दिए।
‘मुद्दा दर्तापछि केही मान्छेलाई हामीले नियन्त्रणमा लिएका छौं,’ उनले भने, ‘अन्यको खोजी तथा मुद्दाको अनुसन्धान कार्य चलिरहेको छ।’
घटनाको पृष्ठभूमि
मिर्चैया नगरपालिका–१ स्थित मनहर्वामा गत २०८० वैशाख १६ गते बिहान कृषि सडकका विषयमा दुई समूहबीच विवाद भएको थियो। विवाद बढ्दै गएर कुटाकुट नै भएपछि सो घटनामा केही व्यक्ति घाइतेसमेत भएका थिए।
सोही विषयमा स्थानीय रामभरोष महतो, जीवछ गाईं, कारी महतो र रासलाल कापरीले प्रहरीमा उजुरी दिएका थिए । मेयर यादवकै नेतृत्वमा आफूहरूमाथि आक्रमण भएको उनीहरूले जाहेरीमा उल्लेख गरेका थिए।
प्रहरीले सुरुमा मिर्चैया नगरपालिकाका मेयर यादवसहित वडा नम्बर १ का वडाध्यक्ष रूपेशकुमार महतो, शिवशंकर कापरी, संजय मण्डल, लक्ष्मेश्वर कापरी, बिक्रम महतो, फरमान शेख, देवनारायण महतो, कपिलदेव महतो, कलिम शेख, मनोज कापर, विमल यादव, प्रकाश गिरीलाई प्रतिवादी बनाएको जाहेरी दर्ता गरेन त्यसपछि उनीहरूले हुलाकबाट पनि उजुरी पठाएका थिए। तैपनि, दर्ता नभएपछि उनीहरूले उच्च अदालत, राजविराजमा रिट निवेदन दिएका थिए। उच्चले २०८० फागुन ४ मा मिर्चैयाका मेयरसहितका १३ जना प्रतिवादीविरुद्ध उजुरी दर्ता गरेर अनुसन्धान अगाडि बढाउन प्रहरीलाई आदेश दिएको थियो।
उच्चले २०८१ वैशाख ९ मा प्रमाणीकरण गरी २०८१ जेठ १४ मा आदेशको प्रतिलिपि इलाका प्रहरी कार्यालय, मिर्चैया र जिल्ला सरकारी वकिलको कार्यालय, सिरहालाई पठाएसँगै प्रहरीले अनुसन्धान अगाडि बढाएको हो।
माओवादी केन्द्रबाट निर्वाचित मिर्चैया नगरपालिकाका नगर प्रमुख यादवले भने आफूमाथि झुटा मुद्दा लगाइएको दाबी गरेका छन् । यो विवाद भएको दिन आफू अन्य कार्यक्रममा जिल्लाबाहिर रहेको भन्दै राजनीतिक प्रतिशोध साँध्न मुद्दा लगाइएको उनले दाबी गरे।
‘जुन दिन यो विवाद भएको छ, त्यस दिन म त्यहाँ छँदै छैन, म जिल्लाको अन्य कार्यक्रममा थिएँ, जुन कुरा प्रहरीलाई पनि थाहा छ,’ उनले भने, ‘तर, राजनीतिक प्रतिशोध साँध्न मलाई पनि मुद्दा लगाइएको छ।
झूटा मुद्दा भएकाले नै प्रहरीले पनि त्यसबेला दर्ता नगरेको उनको तर्क छ। स्थानीय केही व्यक्तिले जग्गाको भाउ बढाउनका लागि सडक खोल्ने नाममा स्थानीय फरमान शेखको घर भत्काउँदा यो विवाद हुन गएको दाबी पनि उनले गरे। प्रहरीबाट जाहेरी दर्ता नभएर एउटा पक्ष उच्च अदालत गएपछि अर्को पक्ष पनि अदालत गएको पाइएको छ।
लक्ष्मेश्वर कापरी र कलिम शेखले उच्च अदालतमा दर्ता गराएको निवेदनमा भने तीन पूर्वमन्त्रीसहित १९ जनालाई प्रतिवादी बनाइएको छ।
अर्कोमा पक्षको जाहेरीमा एमाले स्थायी कमिटी सदस्य, सांसद एवं पूर्वमन्त्री लीलानाथ श्रेष्ठ, माओवादीका नेता तथा पूर्वमन्त्री अजयशंकर नायक, माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री महेन्द्र पासवान प्रतिवादी छन्।
यसैगरी, माओवादीका नेता तथा पूर्वप्रदेश सभा सदस्य दिलीप साह, कांग्रेसका स्थानीय नेता धनेश्वर यादव, जनमत पार्टीका स्थानीय नेता अजय साह, मिर्चैयाका हरिकिशोर महतो, प्रदीप महासेठलगायतलाई पनि प्रतिवादी बनाइएको छ।
सो मुद्दामा उच्च अदालत, राजविराजले आइतबार सरकारी वकिलको कार्यालय, सिरहाबाट घटनासम्बन्धी प्रमाणित मिसिल झिकाउन आदेश पनि गरेको छ।
कान्तिपुरबाट।