आशिष विश्वकर्मा

सिरहा, ५ असोज। विद्युत प्राधिकरणको लापर्वाहीका कारण गोलबजार नगरपालिका ११ को एक वस्तिमा विद्युतिकरण नहुँदा स्थानियले सास्ती खेप्नु परेको छ। प्राधिकरणले खोला किनारमा रहेको २३ घरपरिवारको वस्तिमा अझै विद्युतिकरण नगर्दा यहाँका वासिन्दा मर्कामा परेका हुन्।

प्राधिकरणले बस्तीभन्दा करिव पाँचसय मिटर परसम्म विद्युजुली पुर्याएपनि गाउँमा विजुली नहुँदा गाउँका दलित, गरिव, विपन्न बासिन्दा अधेरोमा बस्न बाध्य भएका छन्। पाँच वर्ष भन्दा पहिला विचगाउँमा कतै नजोडीएको दुई वटा पोलमा तार झुड्याएर हिडेको प्राधिकरणका कर्मचारी अहिलेसम्म फर्केर नगरको स्थानीयको गुनासो रहेको छ। 

स्थानीय समिम आलमले गाँउमा विद्युतिकरण नहुँदा समस्या परेको बताए। उनले विद्युतिकरणको लागि पहल गरिदिन वडा कार्यालयमा धेरै पटक अनुरोध गरेको सुनाए। उनले भने, ‘हामीले मौखिक र लिखितरुपमा वडा कार्यालय र वडा कार्यालय मार्फत विद्युत प्राधिकरणको शाखा कार्यालय मिर्चैयामा अनुरोध गर्यौं, तर अझै विद्युतिकरण हुन सकेको छैन।’

आफ्नो घरमा विद्युत नहुँदा नुहाउने र पिउने पानी जोहो गर्न समेत असहज हुने गाउँका साहाना खातुनले बताए। उनले अहिले गर्मिको समयमा पंखा चाउन सकिन्न, खाना बनाउन, बच्चाहरुलाई लेखपढ गर्न समेत समस्या हुने गरेको सातुनले दःुख सुनाए। 

गर्मिका कारण घरमा बसिनसक्नु भएपछि दिनभर आँपको बगैंचामा आएर बस्नु परेको ७१ वर्षिया गुलेशा खातुनले दुखेसो पोखे। उनले भने, ‘धेरै गर्मिछ, म बुढो मान्छे, गर्मिका कारण घरमा बस्न सक्दिन। दिनभरी यही आँपको बगैंचामा आएर बस्छु। राती सुत्न समस्या हुन्छ। रातभर हात्ते पङ्खा हल्लाएर विताउँछु। घरमा गर्मिका कारण बच्चाहरु सुत्न सक्दैनन्। हामीलाई विजुली नहुँदा धेरै दुःख छ। ल्याउने वातावरण मिलाईदिनु पर्यो हजुर।’ 

यस वस्तिीका २३ घर परीवारमध्ये तीन घरलेमात्र करिव पाँच सय मिटर परबाट आफ्नै खर्चमा तार तानेर विद्युत ल्याएका छन्। उनीहरुले घरसम्म विजुली पुर्याउनमात्र २५ हजारभन्दा बढी खर्च लागेको बताए। स्थानीय ललियादेवि पासवानले आफ्नो घरमा विजुली ल्याउन तारमात्र २५ हजारभन्दा बढीको खरिद गरेको बताए। 

यहाँ बस्ने सवै घरपरिवारले ठूलो रकम खर्चेर विद्युत ल्याउन नसक्ने वडा अध्यक्ष सोयव अन्वर बताए। उनले भने, ‘हामीले वडाको तर्फबाट विद्युतिकरणको लागि मौखिक तथा लिखित रुपमा धेरै पटक विद्युत प्राधिकरण मिर्चैया फिडरलाई धेरै पटक अनुरोध गर्यौं। अहिलेसम्म  त्यसको कुनै रेसपोन्स भएन। अव जनतालाई विद्युत कार्यालयमै लगेर धर्नामा बस्नु पर्ने बाध्यता भईसक्यो।’

विद्युत प्राधिकरण मिर्चैया फिडरका प्रमुख मनोज झाले बजेट अभावका कारण सानो वस्तीमा विद्युतिकरण गर्न समय लागेको बताए। उनले भने, ‘त्यहाँका वस्तीमा हामीले केही काम गरेकै छैन, त्यसको लागि बजेट माँग गरेका छौं। बजेट आएपछि त्यहाँको काम हुन्छ।’ 

उनले आफूले योजना माँग गरेको बताउँदै तत्काल केही गर्न नसकिने बताए।