नकपुरधाम, ३ असोज। मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले संविधानले दिएका उपलब्धिहरूलाई संस्थागत गर्दै अघि बढ्नुपर्ने आजको आवश्यकता रहेको बताए। मधेश प्रदेश गृह, सञ्चार तथा कानुन मन्त्रालयले संविधान दिवसको अवसर पारेर आज जनकपुरधाममा आयोजना गरेको कार्यक्रमलाई सम्वोधन गर्दै  विरोध र समर्थनका बिच जारी संविधानमा त्रुटिभए त्यसलाई सच्याउँदै अघि बढ्नुपने बताएको हो। 

उनले संविधानमा आवश्यकता ठानेर नै देशमा दुई ठुला दल एक ठाउँमा आएको बताउँदै संविधानबाट प्राप्त उपलब्धिलाई संस्थागत गरी त्रुटिका विषय वस्तुलाई पहिचान गरेर संशोधन गर्दै अघि बढ्नु पर्नेमा जोड दिए। उनले सङ्घीयता विभिन्न खालको आन्दोलनबाट प्राप्त भएकाले यो कसैले  भन्दैमा समाप्त नहुने दाबीसमेत गरे। सङ्घीयता आएको सात वर्ष मात्रै भएको र प्रदेशले अधिकारहरू प्राप्त गरिरहेकाले हतार गर्न नहुने धारणा मुख्य मन्त्री सिंहको रहेको छ।

मुख्यमन्त्री सिंहले देशमा सङ्घीयता आएपछि विभिन्न खालका उपलब्धि र विकास भएको भन्दै संविधानको मूल मन्त्रलाई पालना गरी अघि बढेमा देश समृद्धिको बाटोमा अगाडि बढ्ने बताए। उनले प्रदेशमा आफ्नो प्रशासन नभएसम्म सुशासन कायम गर्न चुनौती रहेको बताउँदै शिक्षामा सुधारका लागि शिक्षक भर्नाको अधिकार प्रदेशलाई दिनुपर्ने तर्क गरे।

यसैगरी, मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले संविधान संशोधनको नाममा प्रतिगमनको उन्मुख भयो भने वर्तमान संविधान नै समाप्त हुने खतरा समेत रहेको भन्नुहुँदै संविधानलाई सही ढङ्गले परिमार्जन गरी देशलाई अगाडि बढाउनुपर्ने धारणा व्यक्त गरे। उनले कर्मचारी र विद्यार्थीमा सीमित भएको संविधान दिवसलाई जनमानसमा उत्सवको रूपमा लैजानुपर्ने आवश्यक रहेकोमा जोड दिए।

उनले भने, ‘‘देशमा धेरै विचारहरू रहेको छ। त्यो सबै विचारको साझा विचार संविधान हो । आजको दिन कालो दिवस मनाउनु मूर्खता हो।’

सभामुख मण्डलले वर्तमान संविधानमा गरिब धनी सबैले आफ्नो भविष्य देख्छ भन्दै संविधान जीवन दर्शन रहेको बताए। उनले वर्तमान संविधान विश्वकै उत्कृष्ट संविधान रहेको भन्दै यति राम्रो संविधानलाई प्रयोग गर्न सकेनौ भने परिणाम राम्रो नहुने भन्दै यसका लागि प्रयोगकर्ता इमान्दार हहुनुपर्नेमा जोड दिए।

त्यस्तै, गृह सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले संविधान तह सङ्घीयता आए पश्चात् गाउँ गाउँमा विकास भएको भन्दै प्राप्त उपलब्धिहरूलाई संस्थागत गरी अघि बढ्नुपर्ने बर्ताए उनले संविधानले नै संशोधनको बाटो खोलेका कारण संविधानभित्रमा रहेका त्रुटिहरूलाई पहिचान गरी संशोधन गर्न सकिने भएकाले संविधानको विरोध गर्नु उचित नभएको बताए । कार्यक्रममा संविधानको विकास क्रम र सङ्घीयताको अवस्था सन्दर्भमा मधेश प्रदेशका मुख्य न्यायाधीवक्ता सुरेन्द्र महतोले आफ्नो प्रस्तुत गरेका थिए।

कार्यक्रममा कलाकारहरूले देशभक्तिका गीतहरूमा नृत्य प्रदर्शन गरेका थिए। कार्यक्रममा मधेश प्रदेशका मन्त्रीहरू, मन्त्रालयका सचिवहरू, चारवटै सुरक्षा निकायका उच्च पदस्थ कर्मचारीहरू, शिक्षक, विद्यार्थी, बुद्धिजीवी, पत्रकार नागरिक समाजका व्यक्तिहरूको सहभागिता रहेको थियो । कार्यक्रम अगावै जनकपुरधामको रमानन्द चौकबाट बिहान ७ बजे प्रभावत फेरी निकालिएको थियो। जसमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, कर्मचारी, शिक्षक, विद्यार्थीको सहभागिता रहेको थियो।