सिरहा, २ असोज। सिरहाको धनगढीमाई नगरपालिका ५ स्थित श्री जनता माध्यमिक विद्यालय तिनकोनीको सभाहलमा ग्रामीण जागरण समाजले आयोजना गरेको राष्ट्रिय शिक्षा दिवसको अवसरमा शिक्षाक्षेत्रमा देखिएको उदासिनताप्रति सरोकारवालाहरुले चिन्ता र चासो व्यक्त गरेका हुन्।


अन्तक्रिया कार्यक्रममा धनगढीमाई नगरपालिकाका नगर प्रमुख शिवशंकर महतोले शैक्षिक गुणस्तर कायम राख्न एक्लो प्रयासले सम्भव नभएको बताए। उनले शैक्षिक गुणस्तरीयता कायम गर्न सबैको सहयोग आवश्यक रहेको औंल्याउँदै  त्यसो गरे पाँच वर्षभित्र नगरमा रहेका विद्यालयको शैक्षिक गुणस्तरमा बढोत्तरी हुने विश्वास व्यक्त गरे।  

सोही क्रममा आयोजक संस्थाका संरक्षक एवम् धनगढीमाई नगरपालिकाका पूर्व नगर प्रमुख हरिनारायण चौधरीले तीन तहकै सरकारलाई मा.वि.तहसम्मको शिक्षालाई अनिवार्य एवम् निःशुल्क गर्ने अधिकार दिएपनि सरोकारवाला निकायको उदासिनताका कारण शैक्षिक गतिविधि बढ्नुको साटो शैक्षिक वेथिति बढ्दै गएको बताए।

उनले आठ कक्षासम्मको शैक्षिक गतिविधिको अधिकार स्थानीय सरकारलाई दिएको उल्लेख गर्दै नगर क्षेत्रभित्रको शैक्षिक गुणस्तर कायम गर्न नगरपालिकाले अग्रसर लिए आफूहरु भोलिन्टियर ढंगले शिक्षा क्षेत्रको गतिविधिमा लाग्ने शंकल्प गर्नुभयो । 

नेपालको संविधानले प्रत्याभूत गरेको शिक्षा सम्बन्धी मौलिक हकलाई कार्यान्वयनमा लैजानको लागि अभियानात्मक ढंगले सबै सरोकारवाला निकाय लाग्नुपर्ने वताउँदै उनले थुप्रै बलिदानी पश्चात नेपालको मौलिक हकको रुपमा अनिवार्य तथा निःशुल्क शिक्षा ऐन २०७५ जारी भएको दिन असोज ३ गते भएकोले यो दिनलाई उत्सवको रुपमा लिन पनि सबैलाई पूर्व नगर प्रमुख चौधरीले आग्रह गरे।

ग्रामीण जागरण समाजका अध्यक्ष प्रकाश खड्काको अध्यक्षता, शिक्षक महेश मण्डलको संचालन एवम् संस्थाका कार्यक्रम संयोजक नवराज लामाको स्वागत मन्तव्यमा सम्पन्न कार्यक्रममा धनगढीमाई ९ नम्वर वडा अध्यक्ष प्रकाश योन्जन,  १३ नम्वरका सूर्यमान तामांंग, वडा नम्प ३ का विरेन्द्र साह, वडा नम्वर ४ का अध्यक्ष ओम प्रकाश यादव लगायत कार्यपालिकाका सदस्य तथा नगरभित्रका संस्थागत एवम् सामुदायिक विद्यालयका प्रधानाध्यापक, प्रतिनिधि, बुद्धिजीवी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, नागरिक समाज, सरकारी तथा गैरसरकारी संघ संस्था  प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।