काठमाडौं, ३० भदौ। निर्वाचन आयोगले स्थानीय तहको उप–निर्वान गर्न सरकारसँग मङ्सिर १६ गते आइतबार प्रस्ताव गरेको छ।  आयोग पदाधिकारीले आईतबार प्रधानमन्त्रीसँग उपनिर्वाचनको मिति तोक्ने विषयमा परामर्श गरेका हुन्।  

उक्त भेटमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्ताव अध्ययन गरी नेपाल सरकारले छिटो मिति तोक्ने जनाउँदै निर्वाचनलाई मितव्ययीरुपमा स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण ढङ्गले सम्पन्न गर्न आग्रह गरे।  

उक्त अवसरमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, मुख्यसचिव एकनारायण अर्याललगायत सहभागी रहेको थियो।

निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासहितका पदाधिकारीले प्रधानमन्त्री, अर्थमन्त्री र गृहमन्त्रीसँग भेट गरेर  स्थानीय तहको उपनिर्वाचनको मिति तोक्न नेपाल सरकारसँग परामर्श गरेका हुन्।

स्थानीय तहमा हाल रिक्त जिल्ला समन्वय समितिका दुई प्रमुखसहित ३९ जनप्रतिनिधिको  बाँकी कार्यकालका लागि उपनिर्वाचनको तयारी भएको हो।

प्रधानमन्त्रीसँगको परामर्श भेटपछि आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘२०७९ सालमा सम्पन्न भएको स्थानीय निर्वाचन पश्चात् देशभरबाट विभिन्न कारणले स्थानीय तहमा रिक्त जिल्ला समन्वय समितिका प्रमुख २, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ३ र वडा अध्यक्ष ९ तथा नगरपालिका प्रमुख १, उपप्रमुख १ र वडा अध्यक्ष २१ गरी ३९ रिक्त पदमा संवत् २०८१ मङ्सिर १६ गते आइतबार उपनिर्वाचन सम्पन्न गर्नेगरी मिति तोक्न आज आयोगबाट नेपाल सरकारलाई परामर्श दिइएको छ।’