सिरहा, २९ भदौ। सिरहाको धनगढीमाई नगरपालिका ५ स्थित श्री जनता माध्यमिक विद्यालय (प्राविधिक धार) तिनकोनीमा ६० औं बाल दिवसको अवसरमा आयोजित हाजिरी जवाफ प्रतियोगितामा आयोजक विद्यालय तिनकोनी प्रथम भएको छ।

प्रतियोगितामा तुलसीराम सत्यभामा डोटेल माध्यमिक विद्यालय विष्णुपुरकट्टी द्वतीय स्थान हासिल गरेका थिए भने श्री जनता माध्यमिक विद्यालय बेतहा भवानीपुर तेस्रो स्थान हासिल गर्न सफल भएको थियो। विजयी हुनेहरुलाई आयोजकले शिल्ड, प्रमाणपत्र तथा सहभागी विद्यालयका विद्यार्थीहरुलाई सान्त्वना पुरस्कार प्रदान गरेका थिए।

कार्यक्रमका प्रमुख अतिथि धनगढीमाई नगरपालिकाका पूर्व नगर प्रमुख हरिनारायण चौधरीले विजयी बालबालिकालाई शिल्ड तथा प्रमाण पत्र हस्तान्तरण गर्दै बाल अधिकारसँग सम्बन्धित, बाल सहभागितासँग सम्बन्धित, बल संरक्षणसँग सम्बन्धित दिन भएकोले र नेपालको मूल कानुन संविधानमै समेटिएकोले यो दिनलाई उत्सवको रुपमा लिन आग्रह गरे।

६० औं बाल दिवसको अवसरमा आयोजित हाजिरी जवाफ प्रतियोगितामा नगरभित्रका आठ माध्यमिक विद्यालय मध्ये पाँचवटा विद्यालयले भाग लिएका थिए।

विद्यालयका शिक्षक महेश मण्डलले संचालन गरेको उक्त कार्यक्रममा शिक्षाप्रेमी, बुद्धिजीवी, विद्यार्थी, प्रधानाध्यापक तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो। कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष संजय चौधरीले गरेका थिए।