सिरहा, २५ भदौ। नेकपा (माओवादी केन्द्र) अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ले सिरहा वासीका समस्याबारे पार्लियामेन्टमा आवाज उठाउने बताएका छन्। आज विहान ‘मर्निङ्ग वाल्क’मा निस्केका बेला भेटीएका गोलबजारका स्थानीयहरुसँग कुराकानीगर्दै खानेपानी, कृषि उपजको उचित बजार व्यवस्थापन र पूर्वाधार विकासको विषयमा संसदमा कुरा उठाउने बताएका हुन्।
सिरहाको उत्तरीक्षेत्रका जनताले खानेपानीको समस्याबाट अझै पार पाउन नसकेको प्रति दुखव्यक्त गर्दै तत्काल अधुरा कामहरु पुरा गराउन पहल गर्ने अध्यक्ष प्रचण्डले बताए। उनले आफू यहाँको जनप्रतिनिधी भएकोबेला आएका योजनाहरु अझै पुरा नभएको प्रति चिन्ता व्यक्त गर्दै यस विषयमा तत्काल पार्लियामेन्टमा कुरा उठाउने बताए।
अध्यक्ष प्रचण्डले भने, ‘जनप्रतिधी हुँदा गोलबजारमामात्र ९ वटा खानेपानीका योजना स्वीकृत भएको थियो। काम सम्पन्न भयो, समस्या सामाधान हुन्छ भन्ने जस्तो पनि भयो। तर आजसम्म पानीको ट्याक चलेको छैन भन्ने सुन्दा यत्रो समय कसरी लाग्यो भन्ने मलाई लागेको छ। म यसलाई तत्काल पुरा गराउन पार्लियामेन्टमा कुरा उठाउँछु।’
अध्यक्ष दहाल २०७० को सम्विधानसभा निर्वाचनमा सिरहा क्षेत्र नम्वर ५ बाट निर्वाचित भएका थिए। यहाँबाट निर्वाचित उनी प्रधानमन्त्रीसमेत बनेका थिए।
सोही क्रममा उनले यस क्षेत्रका किसानले उत्पादन गरेको आँप र तरकारीको बजार व्यवस्था पन र चिस्यान केन्द्रको लागि पनि आफ्नो तर्फबाट पहल गर्ने बताए।
अध्यक्ष प्रचण्डले भने, ‘यहाँका किसानले उत्पादन गरेको तरकारीले सिजनमा मूल्य कम पाउने र बेसिजनको लागि कोल्ड स्टोरेज चाहिने देखियो, यसले कम मूल्य भएको बेलामा स्टोरेज गर्न सकिने र मूल्य राम्रो भएको बेलामा बेच्न गर्न स्टोरेज चाहिन्छ। त्यसको लागि म आजैबाट पहल गर्छु।’
त्यसैगरी यहाँका किसानले उत्पादन गरेको आँपले बजारको समस्या झेलिरहेको प्रति आफ्नो ध्यानाकर्षण भएको बताए। उनले भने, ‘सिरहाको आँपले पहिलो बजार देश मै खोजिनु पर्छ, र यसलाई एउटा ब्राण्ड दिएर अन्तराष्ट्रिय बजारम्म पुर्याउन जरुरी छ। यस विषयमा आफ्नो तर्फबाट सकेको सवैखालको पहल हुन्छ।’
आफ्नो पार्टीले भ्रष्टचार नियन्त्रण र शुशासनको विषयमा माथिबाटै काम थालेको उनले जिकिर गरे। उनले आफ्नो पार्टीको उपाध्यक्ष नारायणकाजी श्रेष्ठ गृह मन्त्री भएको समयमा देखीने गरी काम भएको पनि उनले स्मरण गराए।
कोशी प्रदेशको पार्टी बैठकबाट फर्कने क्रममा अध्यक्ष दहाल, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, नेता हरिबोल गजुरेल, लगाएतका नेताहरु गोलबजारस्थित रोयल प्रिन्स होटल एण्ड पार्टीप्यालेसमा बास बसेका थिए। उनीहरु आजै मधेश प्रदेशको बैठमा भागलिन महोत्तरीको बर्दिवास गएको छ।