सप्तरी, २३ भदौ। पुर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) भोली सोमवार सप्तरी आउने भएको छ। सप्तरीको सुरुङ्गा नगरपालिका २ रक्साहामा निर्मित जनयुद्धका सहिद स्वर्गिय दुर्गाराज पौडेल र अर्जुन कोइरालाको शालिक अनावरण गर्न पुर्वप्रधानमन्त्री प्रचण्ड सप्तरी आउन लागेका हुन्।
नेकपा माओवादी केन्द्र सुरुङ्गा नगर समितिको आयोजनामा भोली सोमवार दिउँसो ३ बजे आयोजना हुने कार्यक्रमका लागि पुर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष प्रचण्ड आउने नेकपा माओवादी केन्द्र सप्तरीका नेता यामबहादुर खापाङ्गी मगरले जानकारी दिए। सो अवसरमा अध्यक्ष प्रचण्डले कार्यक्रमलाई सम्बोधन समेत गर्ने कार्यक्रम रहेको उनले बताए।
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पुर्वमन्त्री उमेशकुमार यादव, नेकपा माओवादी केन्द्र सप्तरीका अध्यक्ष छेदी रजक (बिमल) लगायतका नेता कार्यकर्ताहरु रक्साहा पुगेर कार्यक्रमको तयारीमा जुटिहेको छ।
तत्कालिन नेकपा माओवादीको नेतृत्वमा भएको जनयुद्धका क्रममा सप्तरीको सुरुङ्गा नगरपालिका २ रक्साहा निवासी पौडेलको २०५५ साउन ३१ गते तत्कालिन शाही सेनाले उदयपुरको गाईघाटमा नियन्त्रणमा लिई चुरे जंगलमा पु¥याएर हत्या गरेको बताइन्छ। यस्तै सोही ठाउँका कोइरालाको गत २०६१ असोज २५ गते सेनाले उदयपुरगढी नगरपालिकाको गैयामा मारेको पार्टीका नेताहरुले बताए।