उदयपुर, २० भदौ। उदयपुरको कटारीमा आमा छोराको शङ्कास्पद मृत्यु भएको छ। जिल्लाको नगरपालिका १० सोरुङ्गछविसेमा पसलगरी वस्ने अन्दाजी ४० वर्षीया निर्मला थापा र उनको छोरा ६ वर्षीय आरुस थापा घरभित्रै मृत अवस्थामा भेटिएको हो।
आफ्नै घरभित्र रगतले लतपतिएको अवस्थामा आमा र छोराको शव भेटिएको सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय कटारीबाट प्रहरी टोलि पुगिसकेपनि सवै विवरणहरु आई नसकेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डीएसपी राजन चापागाईँले बताए। उहाँका अनुसार बालकको घाँटीमा धारिलो हतियारले काटेको देखिएको र आमा लास घोप्टिएको अवस्थामा भेटिएको भन्ने सूचना प्राप्त भएको छ।
घटनास्थल विकट क्षेत्रमा रहेकाले प्रहरी टोली घटनास्थल पुगिसकेको भए पनि घटनाको थप विवरण आउन बाँकी रहेको छ। घटनाको प्रकृति प्रहरीले भरखर मात्र निरीक्षण गर्न थालेकाले थप विवरण आउने डीएसपी चापागाईँको भनाइ छ।
स्थानीयका अनुसार मृतकका श्रीमान् अशोक थापा अर्की श्रीमती लिएर विगत तीन वर्षदेखि भारतको दिल्लीमा बस्दै आउनुभएको छ। श्रीमान् अर्की श्रीमती लिएर दिल्ली गएपछि निर्मला गुजारा चलाउन सामान्य खुद्रा पसल गरेर गाउँमै बस्दै आएका थिए।