काठमाडौं, ७ भदौ। पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनीनजिकै मस्र्याङ्दी नदिमा भारतीय नम्बर प्लेटको बस दुर्घटनामा परी २७ जनाको मृत्यु भएको छ। शुक्रबार विहान आँबुखैरेनी गाउँपालिका २ स्थित ऐना पहराबाट यात्रुबाहक बस मर्स्याङ्दी नदीमा खसेको थियो।

पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको युपी ५३ एफटी ७६२३ नम्बरको बस नदीमा खसेको हो। बसमा भारतीय पर्यटकहरु सवार थिए। कूल ४३ जना सवार रहेको उक्त बस दुर्घटनामा घाइते भएका १६ जनालाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ।

शव पोष्टमार्टमको लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याईएको छ। शव पोस्टमार्टम गरेर आफन्तलाई बुझाउने तयारी थालिएको तनहुँका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले नेपालखबरलाई जानकारी दिए।

उद्धारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका १६० भन्दा बढी खटिएका र्थिए।