काठमाडौं, २२ साउन। चितवनको सिमलताल पहिरोसँगै त्रिशुलीमा वेपत्ता दुई बस र यात्रू बारे अध्ययन गर्न गठित कार्यदलले आज गृहमन्त्री रमेश लेखकलाई प्रतिवेदन बुझाउने भएको छ।
गृहमन्त्री लेखकलाई कार्यदलले आज दिउँसो साढे १ बजे प्रतिवेदन बुझाउने गृहमन्त्रीको सचिवालयले जानको छ। गृहमन्त्री लेखकले सो दुर्घटनाबारे अध्ययन गर्न सहसचिव छवि रिजालको नेतृत्वका तीन सुरक्षा निकायबाट तीन जना, भौतिक मन्त्रालयबाट एक जना गरी ५ जनाको कार्यदल गठन गरेका थिए।
गत असार २८ गते नारायण–मुग्लिन सडकखण्ड अन्तर्गत सिमलतालमा वीरगञ्जबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्वर र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २४५९ नम्बरको बस पहिरोले बगाई त्रिशूली नदीमा बेपत्ता भएको थियो। दुई बसमा ६५ यात्रु सवार थिए। तीन जनाले आफै ज्यान जोगाएका थिए भने २४ जनाको शव फेला परेको थियो। अझै दुई बस र बसमा सवार ३८ यात्रूको अवस्था अज्ञात रहेको छ।