लहान, १२ साउन। स्थानीय व्यापारीले तीन करोडभन्दा बढी राजस्व छली गरेर गोदाममा राखेको लत्ताकपडा बरामद भएपछि राजस्व अनुसन्धानको टोलीले सिराहाको लहान नगरपालिका ८ स्थित एक रेडिमेड तथा फेन्सी पसलको गोदाम सिलबन्दी गरेको छ।

maunt

इलाका प्रहरी कार्यालय लहानबाट प्रहरी निरीक्षक अनिलकुमार बैठाको कमान्डमा खटिएको प्रहरी टोलीले बिहीबार दिउँसो लहान ८ गणेश चोकमा करिब २८ वर्षीय मो। परबेज आलमले सञ्चालन गरेको फेन्सी रेडिमेड स्टोरको गोदाममा राजस्व छलीको लत्ताकपडासहितका सामग्री बरामद गरेपछि राजस्वको टोलीले गोदाम सिलबन्दी गरेको हो।

आलमको गोदाममा राजस्व छलेर ल्याइएको लत्ताकपडा रहेको भन्ने सूचनाको आधारमा पुगेको प्रहरी टोलीले आन्तरिक राजस्व कार्यालय लहान, सुनसरीको इटहरीस्थित राजस्व अनुसन्धान कार्यालय, ठाढी भन्सार कार्यालय सिराहामा समेत जानकारी गराएपछि आएका प्रतिनिधिको उपस्थितिमा चेकजाँचपछि ६ वटा कोठामा रहेको गोदाम सिल गरिएको लहान प्रहरीका प्रमुख प्रहरी नायब उपरीक्षक विष्णुप्रसाद सोतीले जानकारी दिए।

उनका अनुसार विभिन्न ६ कोठामा गोदाम, प्यासेज तथा बरन्डामा समेत राखिएका विभिन्न ब्रान्डका कपडालगायतका सामग्रीहरूको विवरण, स्टोरसँग सम्बन्धित खरिद–बिक्री रजिस्टरलगायतका कागजातहरू राजस्व अनुसन्धान कार्यालयको टोलीले लिएर गएको छ।

राजस्व अनुसन्धान कार्यालय इटहरीले राजस्व छली गरिएका कपडासहितका सामग्रीहरू गोदाम गरिएको कोठाहरूको सिल गरी खरिद तथा बिक्री खाता ल्याएर अनुसन्धान गरिरहेको जानकारी दिएको छ। कार्यालयका अनुसार अनुसन्धानको क्रममा स्टकमा रहेका सामान, खरिद–बिक्री खाताको विवरण भिडाएर एक चरणको अनुसन्धान सकिएपछि थप प्रक्रिया अगाडि बढाइनेछ।

ce98102b-e610-4d4b-8213-c9339db12720