काठमाडौं, ३ साउन। विवाह गरेको वर्ष दिन नपुग्दै दुबईकी राजकुमारीले डिभोर्स गरेकी छिन्। पति अरूसँग लागेको आरोप लगाउँदै राजकुमारी शिखा मह्रा बिन्ट मोहम्मद बिन रसिद अल मक्तोमले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत् डिभोर्सको घोषणा गरेकी हुन्।
यूएईका उपराष्ट्रपति तथा प्रधानमन्त्री र दुबईका शासक शेख मोहम्मद बिन रसिद अल मक्तोमकी छोरी शिखाले इन्स्टाग्राममा ‘‘डियर हस्ब्यान्ड’ बाट सुरु गर्दै ‘तिमी अरूसँग सहवासमा रहेकाले हामीबीच डिभोर्स घोषणा गर्छु’ भनेकी छन्।
अन्त्यमा ‘आई डिभोर्स यु’ तीनपटक लेख्दै उनले ‘आफ्नो ख्याल गर, तिम्रो पूर्वपत्नी’ लेखेर डिभोर्स घोषणा टुंग्याएकी छन्।
उक्त घोषणापछि दुवैले आ–आफ्नो इन्स्टाग्रामबाट एकार्काको तस्बिर हटाएर एकार्कालाई ‘ब्लक’ गरेका जनाइएको छ।
उनीहरूबीच सन् २०२३ मार्च २२ मा इन्गेजमेन्ट भएको थियो भने मे २८ मा विवाह भएको थियो। उनीहरूकी २ महिनाकी छोरी छिन्।