सिरहा, २९ असार। सिरहाको धनगढीमाई नगरपालिकाको आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट तथा कार्यक्रम पारित गर्न बोलाइएको १२ औं नगरसभा विवादपछि अनिश्चित कालकोलागि स्थगित भएको छ। चालु आवको योजना तथा कार्यक्रमबाट अल्या (अन्यत्रबाट ल्याइएको) भई आएको रकम वडास्तरमै भएका विकास निर्माणका बक्यौता भुक्तानी सुनिश्चितताको वडाध्यक्षहरुले माग गरेपछि नगरसभामा विवाद भएको हो।

असन्तुष्ट वडाध्यक्षहरुले काम गरेकाहरुको भुक्तानी दिएपछि बाँकी बजेट वडामा अधुरो योजनाहरुको निरन्तरता र नगरस्तरीय योजनाको रुपमा वडागत हिसावले छुट्याइनुपर्ने विषय उठाएपछि नगर प्रमुख, उपप्रमुख र वडाध्यक्षहरुबीच सहमति जुटेन नसक्दा बजेट र कार्यक्रम पारित नगरी अनिश्चित कालाको लािग नगरसभा स्थगित गरिएको नगरप्रमुख शिवशंकर महतोले जानकारी दिए।

१० असारमा सम्पन्न नगर सभाको उद्घाटन सत्रमा प्रस्तुत नीति तथा कार्यक्रमको आधारमा तयार गरिएको विभिन्न ३७ बुँदे प्रस्तावसहित कार्यालय संचालन र व्यवस्थापन तथा पूँजीगततर्फ आधा–आधा गरी ३९ करोड रुपैयाँको बजेट पारित गर्न शुक्रबार नगर सभा हलमा आयोजित समारोह औपचारिक सुरु नहुँदै वडाध्यक्षहरुले आफूहरुको माग सम्बोधन नभए नगरसभा चल्न नदिने अडान लिएका थिए। त्यही बीचमा १, २ र ४ का वडाध्यक्षहरुसँग उपप्रमुख संगीता कुमारी चौधरीको भनाभन समेत चल्यो।

त्यसपछि नगर प्रमुख शिवशंकर महतोले कार्यपालिका बैठक र वडाध्यक्षहरुसँग भएको सहमति अनुरुप नै पारित गर्ने आश्वासन दिए पनि वडाध्यक्षहरुले बजेटको प्रतिलिपी आफूहरुसहित सम्पूर्ण नगरसभा सदस्यको हातमा नदिएसम्म सभा नचलाउन आग्रह गरेपछि नगर प्रमुख महतोले अर्को सूचना नभएसम्मका लागि नगरसभा स्थगित भएको घोषणा गरे।

नगरसभामा संचालन खर्च १९ करोड ५० लाख रुपैयाँ र वडागत बजेट आठ करोड ४० लाख, विषयगत शाखा तीन करोड ६० लाख, समपूरक कोष एक करोड, नगर स्तरीय बजेट ६ करोड ५० लाख रुपैयाँको बजेट प्रस्तुत गर्ने तयारी थियो।

अल्याको बजेट प्रमुख र उपप्रमुखले आफ्नो तजविजमा चलाउन नगरस्तरीय बजेट राख्न जोडबल गर्नुका साथै आफ्ना मान्छेलाई सचिवालय सहयोगीको रुपमा राख्न जालझेल गरेपछि आफूहरुले विरोध गरेको ४ का वडाध्यक्ष ओमप्रकाश यादवले बताए। ‘नगरपालिकामा ९० जनाभन्दा बढी करारका कर्मचारी हुँदाहुँदै नगर प्रमुख र उपप्रमुखले आफ्ना मान्छे राख्न कर्मचारी व्यवस्थापन गर्ने विषय घुसाएपछि विमति राखेका हौं,’ उनले भने ‘नगरको आन्तरिक स्रोत न्यून हुँदा भएकै कर्मचारीबाट व्यवस्थापन गरौं भन्ने हाम्रो जोड हो।’ नगरपालिकाको व्ययभार बढ्ने भएकाले कार्यपालिकाको बैठकमा छलफलको विषयबाट नै हटाइएको नयाँ कर्मचारी भर्नाको विषय नगर प्रमुखले जबर्जस्ती सभाबाट पारित गर्न खोजेको वडा नं १ का वडाध्यक्ष सूर्यनारायण यादवले बताए।

नगर प्रमुख महतोका अनुसार अल्याको बजेटबाट १५/१५ लाख रुपैयाँको दरले वडाहरुलाई नै दिने, नगर क्षेत्रका विभिन्न बजारहरुमा सुरक्षाका लागि सिसीक्यामेरा जडान, अधुरो विद्यालय भवन निर्माण, सडक कालोपत्रे, गत आवको भुक्तानी, सीपमूलक तालिम, आवश्यक ठाउँमा ह्याण्ड पाइप जडानलगायतका कामका लािग नगरस्तरीय बजेट छुट्याइएको छ। तर वडाध्यक्षहरु सहमत नभएकाले पुनः छलफल गरी बजेट र कार्यक्रम पारित गरिने योजना रहेको उनले बताए।

santi nikunja