फाईल फोटो।

काठमाडौं, ३२ जेठ। उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले पत्रकारलाई निर्मम प्रश्न गर्न आग्रह गरे पनि प्रश्नै नसुनी कार्यक्रम स्थगित गरेका छन् ।

गृह मन्त्रालय सम्हालेको सय दिन पुगेको अवसरमा उपलब्धि जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री लामिछानेले पत्रकारलाई निर्ममभन्दा निर्मम प्रश्न गरिराख्न आग्रह गरे । तर कार्यक्रमको अन्त्यमा पत्रकारको एउटा पनि प्रश्न नसुनी उनी कार्यक्रम हलबाट बाहिरिए।

‘यहाँहरूले निरन्तर हाम्रा कुरा, काम सार्वजनिक गरिदिएर नागरिककहाँ पुर्‍याइदिएर जुन साथ र सहयोग दिनुभएको छ, त्यसको लागि धन्यवाद ज्ञापन गर्न चाहन्छु,’ लामिछानेले भने, ‘आगामी दिनमा तपाईंहरूको निर्ममभन्दा निर्मम प्रश्नहरू रहुन्। तपाईंका विश्लेषण कडाभन्दा कडा रहुन् । यो के भएको, कसो भएको चुनौतीका साथ भन्नुहोला।’

यति भनिसकेपछि गृहमन्त्री लामिछानेले मन्त्रालय मातहतका निकायलाई धन्यवाद दिएर कार्यक्रम रोके । कार्यक्रम हलबाट उनी निस्कन लागेपछि पत्रकारहरूले प्रश्नको जवाफ दिन आग्रह गरे । उनी बाहिरिन लाग्दा एक पत्रकारले भने, ‘गृहमन्त्रीज्यू, तपाईंले जवाफ दिनुपर्दछ ।’

उनको प्रश्नमा गृहमन्त्री लामिछाने केही बोलेनन् । अर्का पत्रकारले सोधे, ‘निर्मला पन्तले कहिले न्याय पाउँछिन् ? गृहमन्त्रीज्यू तपाई किन भाग्नुभयो । किन डराउनुभयो ।’ उक्त प्रश्नको पनि गृहमन्त्रीले जवाफ दिएनन् ।

गृहमन्त्रीसँग दोहोरो सवाल जवाफ पत्रकारको हुन पाएन । आफ्नो सय दिने कार्यकालको उपलब्धि सुनाएका गृहमन्त्रीले प्रश्न सुन्नै चाहेनन्।

उपलब्धि सुनाउने क्रममा उनले अनुसन्धानमा भइरहेका कुरा बाहिर ल्याउन नमिल्ने हुनाले त्यसबारेमा बोल्न नहुने बताए। लामिछानेले भने, ‘कुनै पनि विषय होस् । त्यसमा कम्प्रमाइज हुँदैन । कतिपय केसमा जटिलताका कारणले समय लागेको छ। अनुसन्धान भन्ने चिज पूर्वाग्रह राखेर गरिने चिज होइन ।’

अब बोलेर होइन, आफ्ना कामले जवाफ दिने सोचमा आफू रहेको उनले सुनाए । लामिछानेले भने, ‘हामीले जे गर्‍यौं, भयंकर गर्‍यौं । ऐतिहासिक गर्‍यौं भन्ने पक्षमा हामी छैनौं । ऐतिहासिक त अब गर्नुपर्नेछ । सय दिनमा आधार बनाउने काम भएको छ।’

अनलाईनखवरबाट।