जनकपुरधाम, २६ जेठ। जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले आफूहरूको पार्टी विभाजन नभएको भन्दै केही नेताहरु सत्ताको मोहमा चोइटिएर गएको बताएको छ। शनिबार जनकपुरमा पत्रकार सम्मेलनमा बाल्दै अध्यक्ष यादवले जनता समाजवादी पार्टी नेपालबाट सत्ताको मोहमा चोईटिएर गएको बताएको हो।
उनले राज्यको स्रोत, साधन र शक्ति प्रयोग गरेर केही सांसदहरूलाई चोइट्याइए पनि पार्टी यथावत् रहेको बताए। उनले केही नेताहरूलाई राज्यले मोहरा बनाएर चोइटाउनुलाई विभाजन भन्न नमिल्ने तर्क गरे।
अध्यक्ष यादवले भने, ‘‘स्रोत, साधनको दुरुपयोग गरेर, निर्वाचन आयोगलाई समेत घोक्रेठ्याक लगाएर राती निवेदन दिने अनि बिहानै दर्ता गर्ने यस्तो नेपालको इतिहासमा कहिल्यै भएको थिएन। घोक्र्याएर पार्टी फुटाइयो भनेर जुन प्रचार गरियो त्यो अत्यन्त निन्दनीय र गलत कार्य हो। यहाँहरूलाई पनि थाहा भएकै कुरा हो, सिन्धुलीमा प्रधानमन्त्री स्वयम्ले जसले यो संविधान रक्षा गर्छु, लोकतन्त्र रक्षा गर्छु भनेर कसम खाएर शपथ लिएका व्यक्तिले मैले जसपालाई फुटाए ।’
उनले कुनै राजनीतिक तथा सैद्धान्तिक मतभेद नभएको भन्दै मन्त्री बन्न र धन कमाउन नेताहरू चोइटिएका बताए। अध्यक्ष यादवले निर्वाचन आयोगलाई समेत घोक्र्याएर जनता समाजवादी पार्टी एकै दिनमा दर्ता गरिएको बताए।
अध्यक्ष यादवले भने, ‘‘आफ्नो सत्ता टिकाउनलाई गरेँ भनेर घोषणा नै गर्नुभयो। त्यसले के देखिन्छ भने राज्यको स्रोत, साधन र शक्ति लागेर केही सांसद, केही व्यक्तिलाई लगेको हो। पार्टी यथावत् नै छ। यो धनुषामा पनि एकजना मान्छे छैन होला जो गएको होला। पार्टी होइन केही व्यक्ति चोइटाएर लगेका हुन्। राज्यले आफ्नो स्रोत, साधन र शक्ति प्रयोग गरेर हाम्रा केही पार्टीका नेताहरूलाई मोहरा मात्र बनाइएको हो । त्यसलाई विभाजन भन्न मिल्दैन । उहाँहरूको नीतिगत मतभेद, राजनीतिक विचारमा मतभेद, सैद्धान्तिक मतभेद केही छैन। अनि किन त भन्दाखेरी कोही मन्त्री बन्न । कोही मन्त्री बनेर राम्रो मन्त्रालय पाउन । कोही धनबहादुर भित्राउन । त्यहाँभन्दा बढी केही लक्ष्य छैन।’’
अध्यक्ष यादवले आगमी दिनमा सङ्घीयता तथा समावेशिता पक्षधरहरूसँग सहकार्य र गठबन्धन हुनसक्ने बताए।


                    
                            
                                                            


        
        
        















