सिरहा, २४ जेठ। जनमत पार्टीले मधेश प्रदेशको मुख्यमन्त्रीको उम्मेदवार शतिश सिंहलाई पठाउने निर्णय गरेको छ। यस अघि पार्टीका संसदिय दलका नेता महेश यादवको नाम चर्चामा रहेपनि आज काठमाडौंमा बसेको संसदीय दलको बैठकले शतिश सिंहको बारेमा निर्णय गरेको हो।

महेश यादवको नाममा चर्चामा रहेपनि पार्टीले आज शतिश जिकोलाई मूख्य मन्त्री बनाउने निर्णय गरेको उपाध्यक्ष ई. दीपक साहले जानकारी दिए। उनले भने, ‘महेशजीको नाम बाहिर चर्चामा थियो तर पार्टीले आधिकारिक निर्णय लिएको थिएन। आज बसेको प्रदेशको संसदीय दलको बैठकले शतिश सिंहको बारेमा निर्णय गरेको हो।’

उपाध्यक्ष साहले थपे, ‘प्रदेशसभामा जति प्रदेश सांसद छन् ती सबै मुख्यमन्त्री बन्न लायक छन् तर त्यसमध्ये एक जना बन्ने हो, त्यसमा सतिश सिंहलाई उम्मेदवार बनाउने निर्णय भईसक्यो। ’

उनले मुख्यमन्त्री बन्नका लागि संसदीय दलको नेता हुनुपर्ने अनिवार्य नरहेको भन्दै, ‘मुख्यमन्त्री बन्नका लागि संसदीय दलको नेता हुनैपर्छ भने छैन पार्टीले जसका लागि पनि निर्णय गर्न सक्छ।’

‘संविधानको धारा १६८ को उपधारा ९१० अनुसार प्रदेश प्रमुखले प्रदेशसभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्नेछ र निजको अध्यक्षतामा प्रदेश मन्त्रिपरिषद्को गठन हुनेछ’ भनिएको छ।

उपधारा ९२० को १ बमोजिम प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभाको सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नेछ । सतिश सिंहलाई सोही उपधारा अनुसार मुख्यमन्त्रीमा नियुक्त गरिनेछ।

त्यसैगरी, आज सबेको जनमत पार्टीको संसदीय दलको बैठकले राज्यमन्त्रीमा रञ्जु मण्डल खँगलाई पठाउने निर्णय समेत गरेको छ । तर उनलाई कुन मन्त्रालयमा पठाउने टुगों लागेको छैन।

यसअघि मुख्यमन्त्रीका लागि जनमत पार्टीका प्रदेश सांसद एवम् संसदीय दलका नेता महेश यादवको चर्चा थियो । मुख्यमन्त्री सरोज यादवले विश्वासको मत लिँदासम्म महेश यादवको चर्चा थियो।

सरोज यादवले विश्वासको मत लिँदा बहुमत नपाएपछि प्रदेशसभामा सबैले महेश यादवलाई नै अगामी मुख्यमन्त्रीका लागि बधाई दिँदै थिए।