ती मजबुत मोदी, यी मजबुर मोदी सय सिट नकटाएको विपक्षी दल कंग्रेसको खुशी खपिनसक्नु छ । तर, २४० सिट जितेको भाजपामा निराशा, स्तब्धता र उत्साहहीनता छ ।

    • जेठ २४, २०८१
    • २२३ पटक पढिएको
    • गमक पाेस्ट
    alt

     

    संसारको सबैभन्दा ठूलो लोकतन्त्रको १८औं महाउत्सव सम्पन्न भयो । त्यसो त ‘मोदी अपवादवाद’ का लागि भारत ‘संसारको सबैभन्दा ठूलो लोकतन्त्र’ मात्र हैन, ‘लोकतन्त्रकै जननी’ हो ।

    ‘अपवादवाद’ आफैंमा त्यस्तै महत्वाकांक्षा हो– जसले कैयौं यथार्थसँग मेल नखाने शब्दावलीलाई रहस्य, रोमाञ्चकता र आत्मतुष्टिसँग जोडेर अतिरञ्जना गर्दछ । यथार्थहरू एकातिर हुन्छन्, मनोगत चाहना र आकांक्षाले अर्कै बाटो पक्रेको हुन्छ ।

    मोदी महत्वाकांक्षाले ‘अब की बारः ४०० पार’ नारा त दियो, खस्किंदै गएको आफ्नै पाइतालामुनिको जमिन भने अनुमान गर्न सकेन । मोदी महत्वाकांक्षा र भाजपा भाष्यको सबैभन्दा ठूलो किल्ला थियो– उत्तरप्रदेश, जहाँ हिन्दुत्वका मोदीभन्दा बढी प्रखर र मुखर ‘आइकन’ योगी आदित्यनाथ दुई कार्यकालदेखि निरन्तर सरकार चलाइरहेका छन् ।

    ‘हिन्दु’ र ‘हिन्दुत्वको राजनीति’ सधैं सँगै हुन्थ्यो त भाजपाले शताब्दी लामो संघर्ष गर्नुपर्ने थिएन । भाजपाको इतिहास केवल सन् १९८० को दशकमा गठन भएको भाजपाको इतिहास हैन । त्यसअघिका भारतीय जनसंघ, राष्ट्रिय स्वयंसेवक संघ र अखिल भारतीय हिन्दु महासभा पनि भाजपाकै इतिहास हो।

    सिकन्दर भारत आउँदा होस् वा तुर्कहरूले बंगाल सुल्तानियत बनाउँदा, मुगल साम्राज्यले शासन गर्दा होस् वा अंग्रेज उपनिवेश चल्दा, चरित्रले भारत सधै ‘हिन्दु–राष्ट्र’ नै थियो । तर, स्व–चरित्र हिन्दु–राष्ट्रमा हिन्दुत्वको राजनीति फस्टाउन किन त्यति धेरै पापड बेल्न पर्‍यो ? यो प्रश्नभित्र धेरै रहस्य, अर्थ, परिभाषा र आयाम लुकेका छन् ।

    उत्तरप्रदेश मात्र हैन, बंगाल झन कट्टर हिन्दुहरूको राज्य हो- कालीभक्तहरूको, तर त्यसले कहिले कम्युनिष्ट जस्ता वामपन्थी दल रोज्छ कहिले तृणमूल कंग्रेस जस्तो मध्यवामपन्थी दल । यसपालि पनि बंगालले भाजपाभन्दा बढी तृणमूल कंग्रेस नै रोज्यो ।

    तमिलनाडुमा सयौं हिन्दु मिथक र तीर्थस्थल छन्– मोदी निर्वाचन प्रचार अभियानपछिको ध्यान गर्न त्यहीं गए– कन्याकुमारी, त्यो पनि स्वामी विवेकानन्दको ध्यानस्थलमा । तर, तमिलनाडुले कहिल्यै भाजपा रोज्दैन ।

    आन्द्रका हिन्दु भाजपा रोज्दैनन् । केरलाका हिन्दु भाजपा रोज्दैनन् । कर्नाटकाका हिन्दु बीच फैलिन भाजपाले दशकौं पापड बेल्न पर्‍यो । गुजरातको अपवाद ‘मोदी अपवादवाद’ को एक अनौठो उदाहरण हो भन्ने संसारले स्वीकार गरिसकेको छ ।

    महात्मा गान्धी र सरदार बल्लभभाई पटेलको गृहप्रदेशले किन दामोदर विनायक सावरकरको विचारलाई राजनीतिक आदर्श मान्छ ? त्यसको भिन्नै व्याख्या हुन सक्दछ ।

    यी सबै विश्लेषणको सार एउटै हो– आधुनिक लोकतान्त्रिक राष्ट्रिय–राज्यको राजनीतिका लागि ‘धर्म’ मा पर्याप्त मुद्दा हैन ।

    जुन अयोध्या नगरीमा करिब ५०० वर्षपछि ‘राम लला’ फर्किए, त्यही भाजपाका ‘लल्लु सिंह’ बेमौत हारे । चुनावमार्फत मोदीले राजनीतिक सन्देश दिन चाहेका थिए – राम जन्मभूमिमा भव्य राम मन्दिर बनाएँ । हिन्दु धरोहरको रक्षा गरें । अध्योयाका लागि धर्मिक पर्यटनको अथाह सम्भावनाको ढोका खोलें।

    अयोध्याका सर्वसाधारणको ध्यान भने राम मन्दिर योजनाले अधिग्रहण गरेको जग्गाको मुआब्जा र लल्लु सिंहको दबंग राजनीतिको मारप्रति थियो । योगी आदित्यनाथ गौमाता र गौमाता सन्तान बध रोके, हिन्दु खुशी होलान् भनेर मख्ख थिए । यता सर्वसाधारणलाई योगी शासनपछि बढेका छाडा चौपायाले बाली नोक्सान गरेको पीडा थियो । उत्तरप्रदेशका एक किसान एक भिडियोमा भन्दै थिए– सरकारले ५ किलो रासन दिन्छ, छाडा चौपायाले ५० बोरा अनाज बाली खाइदिन्छ । खुशी हुने कि दु:खी ?

    यी र यस्तै कारण पर्याप्त हैनन् तर ठूला भाष्य र आम मान्छेका पीडा बीच हुने दूरीका गतिला उदाहरण हुन् ।

    यति कुरा त स्वयं मोदीलाई थाहा थियो– हिन्दुत्व भाजपा राजनीतिको जग हो, मतदाताको एक ‘कन्स्टिचूअन्सी’ लाई ‘कभर’ गरी राख्ने एक विचारधारा, एक दृष्टिकोण, एक आधार हो । त्यतिले मात्र राजनीति चल्दैन सधैं।

    सन् २०१४ को आम चुनावमा मोदीले ‘कालो धन फिर्ता’ लाई धेरै ठूलो मुद्दा बनाए । कंग्रेस परस्त भारतीय शोषकहरूले विदेशी बैंकमा राखेको धन फिर्ता ल्याउँदा मात्र प्रत्येक भारतीयको खातामा १५ लाख आउने हावादारी तर्क पेश गरे । उनको १० वर्षे शासनकाल त्यस्तो कालो धन कहिल्यै फिर्ता आएन ।

    नैतिक राजनीतिको हिसाबले गठबन्धनबाटै आफ्नै पार्टीको अरु कोहीलाई प्रधानमन्त्रीका रूपमा अघि सारेर मोदी पछि हट्न पनि सक्थे । तर, प्रधानमन्त्री तेहेर्‍याउने आकांक्षाले उनलाई त्यसो गर्नबाट पनि रोकेको छ ।

    हो– मोदीले कालो धन र भ्रष्टाचारको अन्त्यकै लागि भनेर साहसिक ‘डिमोनिटाइजेसन’ गरेकै हुन् । मोदीको साहसमा शंका गर्नुपर्ने कुनै कारण देखिन्न । उनले धारा–३७० खारेज गरेकै हुन् । विमुद्रीकरण गरेकै हुन् । जिएटी र एकल सिभिल कोड लागू गरेकै हुन् । कृषि क्षेत्रको ‘कर्पोरेटाइजेसन’ का लागि किसान आन्दोलनको लामो दबाब झेलेकै हुन् ।

    विश्वको १२औं स्थानमा रहेको भारतीय अर्थतन्त्र मोदीको शासनकालमा पाँचौं बन्न सकेकै हो । इसरोले चन्द्रयान–३ चन्द्रमामा उतारेकै हो । भारतले जी–२० को अध्यक्षता गर्ने अवसर पनि पाएकै हो । उनकै शासनकालमा डिजिटल इन्डियाको सपना प्रभावकारी कार्यान्वयन भएकै हो । ठूलो भौतिक पूर्वाधार बनेकै हुन् ।

    यस्ता अनेक उपलब्धि बीच फेरि पनि जनताले मोदीको ‘४०० पार’ को नारा पत्याएनन् । यो एक प्रकारले ‘चुनावी नारा’ मात्र थिएन । १० वर्षे शासकको एक आह्वान थियो– जसलाई नैतिक राजनीतिको एक मानक, हारजितको एक आधार मान्न सकिन्थ्यो ।

    सत्तामा नभएको कुनै सामान्य राजनीतिक दल वा कार्यकर्ताले यस्तो नारा दिएको भए, त्यो नारा नै हुन्थ्यो । तर, १० वर्ष शासनमा रहेको बहालवाला शासकको आह्वानलाई नारा मात्र भन्न मिल्दैन । त्यो एक प्रकारको अपिल थियो जसलाई मतदाताले अस्वीकार गरे ।

    यो मोदीको हार नै हो– राजनीतिक तथा नैतिक हार । अनौठो के छ भने– यो सवाललाई पनि मोदीले सजिलै पन्छाइदिएका छन् । उनले ‘४०० पार’ नभएको, गत निर्वाचनभन्दा ६३ सिट घटेको, उत्तरप्रदेशका करिब आधा सिट घटेको चर्चा गरेका छैनन्– एनडीएको ‘लगातार तेस्रो विजय’ आडमा फेरि प्रधानमन्त्री हुने बाटो रोजेका छन् ।

    नैतिक राजनीतिको हिसाबले गठबन्धनबाटै आफ्नै पार्टीको अरु कोहीलाई प्रधानमन्त्रीका रूपमा अघि सारेर मोदी पछि हट्न पनि सक्थे । तर, प्रधानमन्त्री तेहेर्‍याउने आकांक्षाले उनलाई त्यसो गर्नबाट पनि रोकेको छ ।

    उनले आफूलाई पण्डित जवाहरलाल नेहरूसँग ‘बराबरी’ गर्न चाहेका छन्– तीन कार्यकाल प्रधानमन्त्री पूरा गरेर । तेस्रो कार्यकालका लागि मोदी प्रधानमन्त्री हुने त निश्चित भइसक्यो । तर, तेस्रो कार्यकाल सकुशल पूरा गर्लान् नगर्लान्, त्यसमा भने आशंका छ ।

    मोदीको तेस्रो सरकार पहिलो र दोस्रो सरकार जतिको बलियो हुने छैन । यो मोदीले बारम्बार भन्ने गरे जस्तो ‘मजबुत’ हैन ‘मजबुर’ सरकार हुनेछ ।

    जेडियुका नीतिश कुमार हुन् वा टिडिपीका चन्द्रबाबु नायडु– मोदीका लागि सहज साझेदार हैनन् । भर्खरै चुनावको तातोमा उनीहरू गठबन्धनमै रहने भएका छन् । तर, ५ वर्ष विकसित हुने घटनाक्रम, असहजता र सकसको अनुमान अहिले नै गर्नु हतारो हुन्छ ।

    नीतिश कुमारको ‘ट्रयाक रेकर्ड’ मा ‘पल्टुराम’ चरित्र अविच्छिन्न छ । पल्टुराम– खासमा भारतीय प्रेस र सार्वजनिक वृत्तमा यो शब्दको उत्पत्ति नै नीतिशकुमारका लागि भएको हो । नायडु पनि मोदी र भाजपासँग सहज सम्बन्ध भएका नेता हैनन् ।

    तेलुगु भाषी मनोविज्ञान भाजपाको ‘हिन्दु र हिन्दी’ मनोविज्ञानभन्दा फरक रहँदै आएको छ ।

    मोदीको १० वर्षप्रति भारतीय मतदाताको उदासीनता बढ्दो क्रममा रहँदा पनि भाजपाभित्र कसैले मोदी नेतृत्वलाई चुनौती दिने साहस गरेन ।

    अध्यक्ष जेपी नड्डा हुन् वा पूर्व अध्यक्षहरू राजनाथ सिंह, अमित शाह र नीतिन गड्करी– कहिल्यै पार्टी अध्यक्ष नभएका मोदीको शक्ति सामु सर्वथा नतमस्तक छन् । यो पनि ‘मोदी अपवादवाद’ कै राम्रो उदाहरण हो जो दक्षिण एशियाली राजनीतिमा विरलै देखिन्छ ।

    मोदीको ‘तेस्रो ताजपोशी’ लाई स्वयं भाजपा कार्यकर्ताले समेत खासै ठूलो जित मानेका छैनन् । उनीहरूमा ठूलो दल हुनुको खुशी भन्दा बढी ‘बहुमत गुमेको’ निराशा छ । मोदी शासनको तेस्रो इनिङ यसप्रकारले पनि उत्साहजनक छैन । उनको शासनशैलीका बोध सबैलाई राम्रोसँग भइसकेको छ ।

    ‘मजबुत मोदी’ भोगिसकेका मानिसलाई ‘मजबुर मोदी’ को शासन भोग्ने उत्साह नहुनु स्वाभाविक हो । योसँगै मजबुत मोदीले सुरु गरेका महत्वाकांक्षी योजनाहरू मजबुर मोदीको पालामा निकै कमजोर हुने अनुमान गर्न सकिन्छ ।

    १०० सिट न कटाएको विपक्षी दल कांग्रेस खुशीले खपिनसक्नु छ । तर, त्यसको दोब्बरभन्दा धेरै बढी २४० सिट जितेको भाजपामा निराशा, स्तब्धता र उत्साहहीनता छ । सन् २०१४ अघि हुन्थ्यो त भाजपाले यति सिट जित्नु धेरै ठूलो खुशी र उत्साहको विषय बन्थ्यो ।

    चुनावी परिणाम र राजनीतिक उपलब्धिले दिने खुशी सापेक्षिक हुने रहेछ ।

    मोदी शासनको तेस्रो कार्यकालले ‘नेहरूसँग बराबरी’ को आत्मतुष्टि त पूरा हुन सक्ला तर आम नागरिकमा नयाँ उत्साह भर्ला भनेर पत्याउन सकिने संभावना एकदमै कम छ।

    अनलाईनखवरबाट।

     

    के हो आइभिएफ, किन बढ ...

      काठमाडौं, १२ साउन।  सन् १९७८ जुला ...

    राजनीतिक आडमा वन अति ...

    आशिष विश्वकर्मा सिरहा, १२ साउन। राजनीतिक संरक्षणमा वषौ ...

    राजनीतिक परिवर्तनलाई ...

    काठमाडौं, ११ साउन। नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपा ...

    नक्कली नोटसहित सर्ला ...

    रौतहट, ११ साउन। रौतहट प्रहरीले नेपाली हजारको नक्कली नोट ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल