महेशकुमार यादव
नेकपा एमाले, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र केही साना दलको समेत गरी ५६ जनाको समर्थनमा मुख्यमन्त्रीमा जनमतका संसदीय दलका नेता महेशकुमार यादवलाई अघि सार्ने तयारी छ।
सत्ता गठबन्धनका तर्फबाट महेशकुमार यादवले प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा दाबी पेस गर्नेछन्। प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नयाँ सरकार बनाउन आह्वान गरेपछि दाबी पेस गर्ने तयारी छ।
बुधबार प्रदेश सभामा विश्वासको मत नपाएपछि मुख्यमन्त्री सरोजकुमार यादव कामचलाउ बन्न पुगेका छन्।
जनमत पार्टीकी सांसद अनिताकुमारी शाहका अनुसार, गठबन्धनमा रहेका चार दलका साथै एक स्वतन्त्र र एक संघीय समाजवादी पार्टीका सांसदले पनि समर्थन गरेका छन्।
मन्त्रालयसमेत बाँडफाँट, २८ गते विश्वासको मत
जनमतका नेताहरूका अनुसार, जनमतका महेशकुमार यादव मुख्यमन्त्री भएपछि माओवादी केन्द्रले आर्थिक मामिला मन्त्रालय लिने सहमति जुटिसकेको छ।
अन्य मन्त्रालय एमाले, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति र जनमतलाई न्यायोचित विभाजन गर्ने नेताहरू बताउँछन्।
‘सरकार विस्तारमा समस्या हुँदैन, एक खालको समझदारी जुटिसकेको छ,’ सांसद शाहले थपिन्,‘हामी जेठ २८ गते विश्वासको मत लिने योजनामा छौँ।’