नेपाली राजनीति घृणा, प्रतिशोध र सत्तालिप्साले आहत नहुँदो हो त अहिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने यतिविघ्न चर्चाका पात्र बन्ने थिएनन् । ब्रोडसिटका हेडलाइन र लामा–लामा विश्लेषणको दर्कार पनि सायद पर्ने थिएन । तर, सत्ता र शक्तिको आडमा बदनियतपूर्वक प्रतिशोधको तरबार चलाउन थालेपछि यी प
राजनीतिलाई माछा बजारमा परिणत गर्ने बुज्रुक शीर्ष नेतृत्वकै हारमा रविको महत्त्वाकांक्षा पनि मिसिएपछि यिनको चरित्र–चर्चा आवश्यक भएको छ । त्यसो त सार्वजनिक ओहदामा बस्ने जोकोहीको सामाजिक लेखाजोखा अनिवार्य सर्त नै हो । यद्यपि, जे–जस्ता कृत्य र प्रवृत्ति उजागर गर्दै रविको राजनीति हुर्किराखेको छ, यो बेवास्ता गर्न नमिल्ने विषय बनेको छ । तसर्थ, रविको छविमाथि थप विवेचना आवश्यक ठानेर यो स्तम्भ तयार पारिएको हो ।
रविका दुइटा अनुहार छन् । पहिलो, यी विवादास्पद छवि भएका नवोदित राजनीतिकर्मी हुन्, जो चर्चित सहकारी ठगी प्रकरणका एक आरोपित हुन् । नागरिकता दुरुपयोगको मुद्दामा न्यायालयबाट दण्डित भइसकेका उनी एकैपटक दुई देशको राहदानी प्रयोगको फौजदारी आरोप खेपिरहेका अभियुक्त पनि हुन् । दोस्रो, विवादित पात्र हुनुका बावजुद यी मतदाताको रोजाइमा परेका ‘पपुलर’ राजनीतिकर्मी पनि हुन् । जो राजनीतिमा केही फरक छाप छोड्ने हुटहुटी राख्छन् । सायद त्यही हुटहुटी देखेर मतदाताले एक पटकमात्रै होइन, वर्ष दिनकै अन्तरालमा दुई पटक भारी मतान्तरले निर्वाचन जिताए ।
रवि यी परस्पर विरोधी दुई अनुहारसहित नेपाली राजनीतिको दोबाटोमा खडा छन् । एकातिर निर्वाचनबाट भारी लोकप्रिय मतान्तरले जनअनुमोदित भएको छवि छ । पार्टी स्थापना गरेको आगामी असार ७ गते दुई वर्ष पुग्दै छ । यो छोटो अवधिमा पार्टीलाई संसद्को चौथो ठूलो राजनीतिक शक्ति बनाउन सक्नु चानचुने उपलब्धि होइन । सत्ता गठबन्धनमा निर्णायक हैसियतमा रहने उनीसित सुविधा छ । राजनीतिमा वर्षौं त्याग र संघर्ष गरेका पात्रहरूले नपाएको अवसर उनले पाएका छन् । दोस्रो पटक उपप्रधान तथा गृहमन्त्री बनेका उनी छोटो राजनीतिक करिअरमा यस्तो दुर्लभ अवसर पाउने सम्भवतः पहिलो नेपाली नेता हुन् ।
अर्को पाटोबाट हेर्दा, उनी विवादै विवादले घेरिएका छन् । उनीमाथि सामाजिक, कानुनी र नैतिक प्रश्न खडा छन् । राज्यलाई गुमराहमा पारेर अवैध नागरिकताको आडमा दल खोलेको, निर्वाचन लडेको, सांसद/मन्त्री भएको पुष्टि भएपछि एक पटक उनले ती सबै पद गुमाए । न्यायालयले अवैध नागरिकताको मुद्दामा उनलाई दण्डित गरेपछि सांसद, मन्त्री, पार्टी सभापति पदबाट बर्खास्त भए । प्रक्रिया पूरा गरेर नागरिकता प्राप्ति गरेपछि पुनः राजनीतिमा बहाल भए । पार्टी सभापति पदमा फर्किए । उपनिर्वाचनमार्फत फेरि भारी मतान्तरले विजयी भएर संसद् फर्किए । अहिले दोस्रो पटक उपप्रधान तथा गृहमन्त्री छन्, तर विवादमुक्त छैनन् । एकै समय दुई देशको राहदानी प्रयोग गरेको फौजदारी कसुर त उनीमाथि लागेकै थियो, त्यसमाथि सहकारी ठगी प्रकरणमा पनि मुछिएका छन् ।
विभिन्न संकटग्रस्त सहकारीको रकमको अपचलनको विषय यतिखेर राष्ट्रिय मुद्दा बनेको छ । दर्जनौं सहकारीका सञ्चालक बचतकर्ताको रकम अपचलन गरेर कोही फरार छन्, कोही पक्राउ परेर कानुनी कारबाहीको दायरामा छन् । बनिबुतो गरेर रकम जम्मा गरेका लाखौं बचतकर्ता यो ठगीबाट पीडित भएका छन् । तिनको बचत सुरक्षित हुने निश्चितता र आधार तय भएको छैन । संकटग्रस्त थुप्रै सहकारीमध्ये केहीबाट रकम अपचलन गरेको आरोप रविमाथि पनि लागेको छ । खासगरी उनी राजनीतिमा आउनुअघि गोर्खा मिडियाका सञ्चालक हुँदा त्यस कम्पनीमा अध्यक्ष जीबी राईसँगको मिलिभगतमा रकम अपचलनमा भागीदार भएको आरोप लागेको हो ।
यो सन्दर्भमा उनले आफू बेकसुर रहेको दाबी गर्दै आएका छन् । तर, मिडिया रिपोर्टहरूले सार्वजनिक गरेका कैयौं कागजातले उनी संलग्न रहेको देखाउँछ । उनको नाम जोडिएका सहकारीको अनुसन्धान गरेर नेपाल प्रहरी, पोखरा महानगरपालिका लगायतले तयार पारेको प्रतिवेदनले समेत संलग्नता देखाउँछ । सार्वजनिक भएका यी आधार थप अनुसन्धानका लागि पर्याप्त थिए । तर, पदीय आडमा उनको संलग्नतालाई लिएर थप अनुसन्धान नभएपछि यो राजनीतिक मुद्दा बनेको छ । कांग्रेसलगायत विपक्षी दलहरूले छानबिनका लागि संसदीय समिति माग गर्दै संसद् अवरुद्ध गरे । मिडियाहरूले पनि सहकारी ठगी प्रकरणका रिपोर्टहरू निरन्तर प्रकाशन गरे । संसद्मा र बाहिरसमेत दबाब बढेपछि अन्ततः संसदीय छानबिन समिति बनेको छ ।
रविमाथि लागेको सहकारी अपचलनको मुद्दाबारे छानबिन समितिले के गर्ला ? उनीमाथिको आरोप पुष्टि होला वा ‘क्लिन चिट’ पाउलान्, त्यो आगामी दिनमा थाहा होला । तर, यतिबेला उनले जसरी सिंहदरबारको शक्तिको दुरुपयोग गर्दै प्रतिशोध साध्दै छन्, व्यक्तिगत इबि राखेर अहंकार प्रदर्शन गर्दै छन्, यसले उनको राजनीतिक चरित्र र योग्यतामाथि गम्भीर प्रश्न उठाएको छ । के उनी लोकतान्त्रिक प्रणालीभित्र विधि र मर्यादालाई सम्मान गर्ने एउटा नेता बन्न योग्य छन् ? राजनीतिमा नयाँ मानक स्थापना गर्ने उनको दाबी र व्यवहारमा देखिएको अन्तरले प्रश्न उठाएको छ ।
हुन त रवि कुनै राजनीतिक पृष्ठभूमि भएका नेता होइनन् । पुराना दल र नेतृत्वप्रतिको अविश्वास र चरम निराशाले उनको राजनीतिक जमिन बनेको हो । राजनीतिमा आउनुअघि उनी टेलिभिजन सञ्चालक र प्रस्तोता थिए । त्यो पृष्ठभूमि र अहिले देखिने हुटहुटीबाट उनीबारे एउटा निष्कर्ष निस्कन्छ, उनी अवसर खोजी बस्ने औधी महत्त्वाकांक्षी व्यक्ति हुन् । मुलुकमा सत्तामुखी विषाक्त राजनीति हाबी भइरहेको र आम मानिसमा दल र नेताप्रति चरम असन्तुष्टि बढिरहेको अवसर छोप्दै उनी लोकरिझ्याइँको बर्को ओढेर राजनीतिमा आएका हुन् ।
२०७९ को स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकालगायत देशका विभिन्न सहरमा स्वतन्त्र उम्मेदवारको विजयले उनलाई ढिलो नगरी राजनीतिमा हामफाल्न थप प्रेरित गर्यो । कांग्रेस, एमाले जस्ता ठूला दलबाट राजनीतिमा प्रवेश गर्ने ‘ल्याट्रल इन्ट्री’ को बाटो खोज्दै गरेका रवि काठमाडौं महानगरपालिकाको मेयरमा बालेन शाह निर्वाचित भएपछि पार्टी खोल्न ढिलो गर्न नहुने निष्कर्षमा पुगे । बाह्रखरी अनलाइनमा प्रकाशित एउटा अन्तर्वार्तामा रविपत्नी निकिताले भनेकी पनि छन्, ‘बालेनको जितपछि मैले नै उहाँलाई अब पुराना पार्टीमा गएर केही परिवर्तन हुँदैन, नयाँ खोल्नुपर्छ भनेकी हुँ ।’
पार्टी स्थापना गर्ने रविको उद्देश्य निश्चित राजनीतिक दर्शनबाट प्रेरित थिएन, राजनीतिक ‘कन्भिक्सन’ बाट भन्दा पनि तत्कालको परिवेशमा जनस्तरमा छाएको निराशा र दिक्दारीलाई क्यास गर्ने कुराबाट निर्देशित थियो । ‘लिडर’ कार्यक्रममार्फत टीभीबाट नेता जन्माउने योजना बनाइरहेका उनी त्यही सोचेर राजनीतिक मैदानमा आफैं उत्रिएका थिए । परिणाम उनले सोचेभन्दा राम्रो भयो । समानुपातिकतर्फ झन्डै साढे एघार लाख मतदाताले मत दिए । प्रत्यक्ष र समानुपातिक गरेर २० सिट (उपचुनावपछि २१) मा विजय हासिल गर्दै रास्वपा संसद्को चौथो ठूलो दल भयो ।
कान्तिपुरबाट।
लोकतान्त्रिक व्यवस्थामा राजनीतिक दलहरू खुल्नु सुखद र सकारात्मक कुरा हो । यद्यपि दलहरू निश्चित राजनीतिक उद्देश्य र दर्शनबाट प्रेरित भएर स्थापना गरिन्छन् । रास्वपाको स्थापना कुनै राजनीतिक सिद्धान्तको जगमा भएको होइन । उसले मुलुकमा व्याप्त भ्रष्टाचार र बेथितिविरुद्ध आफ्नो मूल मुद्दा बनायो । पुराना राजनीतिक दलको व्यवहारबाट वाक्कदिक्क भएका मतदाताले रास्वपाको राजनीतिक दर्शन के हो ? संघीयताको अभ्यासबारे के दृष्टिकोण राख्छ ? वा समावेशिता, धर्मनिरपेक्षता, अभिव्यक्ति स्वतन्त्रताबारे के ठान्छ ? आदिबारे कुनै सरोकार राखेन । भ्रष्टाचार र बेथितिबाट समाजलाई मुक्त पार्दै दैनन्दिन सरोकारलाई सम्बोधन गर्ने भूमिका खेल्ला भनेर मत दिए । तर, पुराना दल र नेताका व्यवहार र कार्यशैलीको विकल्पमा छानिएको रास्वपाले दुई वर्षमै मतदातालाई निराश बनाएको छ । रास्वपा पनि ‘कानै चिरेको जोगी’ साबित भएको छ ।
परम्परागत राजनीतिक नेतृत्वप्रति जबर्जस्त प्रश्न उठाउँदै उदाएको रास्वापले आफूलाई वैकल्पिक राजनीतिक शक्तिका रूपमा उभ्याएको धेरैको विश्लेषण थियो । तर, रविले वैकल्पिक राजनीतिको ढाडमै प्रहार गरिदिएका छन् । यहाँनेर पत्रकारिताको न्यूनतम कलाचेत नभएको उनको एउटा टेलिभिजन प्रस्तुतिको स्मरण हुन्छ । उनी भन्थे, ‘भ्रष्टाचारी नेतालाई टुँडिखेलमा उभ्याउँदै फ्लाइङ किक हानेर नाकको डाँडी भाँच्नुपर्छ ।’ रविका हर्कतले भ्रष्टाचारीको नाकको डाँडी त होइन, वैकल्पिक राजनीतिको ढाडचाहिँ भाँचिदिएको छ ।
उनले मिडिया क्षेत्रप्रति राखेको दुर्भावना अझ निन्दनीय छ । उनले निर्माण गरिदिएको ‘१२ भाइ’ को गलत भाष्यबाट नेपाली मिडिया क्षेत्र प्रताडित छ । उसै पनि मिडिया क्षेत्र संकटग्रस्त बन्दै गएको छ । यहाँ वित्तीय संकट छ, विश्वासको संकट छ । मिडियाको भूमिकालाई लिएर यथेष्ट प्रश्न गर्न सकिन्छ । को पत्रकार हो र को प्रोपोगान्डाको हतियार ? व्यावसायिकतासँग जोडिएका अनेक प्रश्न जीवितै छन् । प्रविधिमा आएको अभूतपूर्व परिवर्तनसँगै मिडियाको विश्वव्यापी आयाम नै फेरिएको छ । त्यसको प्रभाव नेपालको मिडिया क्षेत्रमा पनि परेको छ ।
मिडियाका बहुस्रोत उपलब्ध छन् । सूचनाको पहुँच बढेसँगै मिथ्या सूचनाको बाढी लागेको छ । परम्परागत मिडियालाई आफ्नो अस्तित्व रक्षाका लागि संघर्ष गर्नुपरिरहेको छ । मिडिया सञ्चालक र श्रमजीवी पत्रकारबीच द्वन्द्व र समस्या छ । रेभेन्यु मोडलमा आएको परिवर्तनसँगै श्रमजीवीको रोजगारी संकटमा छ । यी सबैखाले समस्याका बावजुद नेपाली मिडियामा भएको विकास र विस्तारले ‘पब्लिक स्फेयर’ को दायरा फराकिलो बनाउँदै लगेको यथार्थ हो । मिडियाको विश्वासमा संकट आउँदा त्यो विस्तारित पब्लिक स्फेयर साँघुरिन्छ र लोकतान्त्रिक मूल्य पद्धतिमा आँच आउँछ । यो तथ्यप्रति आँखा चिम्लेर मिडियाविरुद्ध खनिनु लोकतन्त्रकै मानमर्दन हो ।
बेथिति र भ्रष्टाचारको घण्टी बजाउँदै उदाएको रास्वपाको नेतृत्व र पुराना राजनीतिक दल र तिनको नेतृत्वमा के प्रवृत्तिगत भिन्नता छ ? तिनको व्यवहार र कार्यशैली हेर्दा ‘हात्ती र हात्तीछाप चप्पल’ कै दृष्टान्त दिनुपर्ने अवस्था छ । प्रमुख ठूला दल र शीर्ष नेताको एकमात्र ध्याउन्न सत्तामा कसरी पुग्ने, कसरी टिकाराख्ने हो । रविको ध्याउन्न पनि त्यो भन्दा भिन्न रहेन । आफूमाथि लागेको विवाद र प्रश्नहरूबाट बच्न उनी सत्ताको आड लिन चाहन्छन् भन्ने पुष्टि भएको छ । रास्वपालाई जनताले विकल्पका रूपमा अनुमोदन पक्कै गरेका हुन् तर सरकारमा जाने म्यान्डेट दिएका होइनन् । एउटा बलियो प्रतिपक्षी दल बन्ने म्यान्डेट पाएका रविको सत्ताभोक स्वाभाविक होइन ।
पहिलो पटक सांसद र मन्त्रीबाट हटेपछि गैरसांसदका रूपमा भए पनि गृहमन्त्री बन्न गरेको प्रयत्न उनको सत्ताभोकको दृष्टान्त थियो । अहिले नै पनि आफूलाई लागेको आरोपको निप्टारा नलाग्दासम्म सरकारमा सहभागी नहुने विकल्प थियो । संसदीय लोकतन्त्रमा राजनीतिक दल र तिनका नेताको मुख्य अभीष्ट सत्ता हुनेमा दुईमत छैन । निर्वाचनबाट जितेर सत्तामा पुग्ने आग्रह पाल्नु अस्वाभाविक पनि होइन । तर, सत्तालाई आफ्नो निहित स्वार्थका लागि प्रयोग गर्ने कि जनकल्याणका लागि ? जनताका मुद्दा बोक्ने कि शक्तिको आडमा कुकर्महरू छोप्न प्रयोग गर्ने ? सत्ता दाउपेचमा अभ्यस्त हुँदै गएको रास्वपा प्रश्नको घेरामा छ । खासगरी रविको विवादास्पद कर्म, अवसरवादी र प्रियतावादी प्रवृत्ति, कथनी र करनीमा देखिएको आकाश–जमिनको अन्तर अनि आवेग र सन्की निर्णयहरू यी प्रश्नका स्रोत हुन् ।
अनौठो त के छ भने, यो पार्टीको विगत, वर्तमान र भविष्य एउटा व्यक्तिको भूमिकामा निर्भर छ । पुराना दलप्रति कटाक्ष गरेर नथाक्ने रास्वपाका सदस्यहरू सार्वभौम छन् त ? विडम्बना नै भन्नुपर्छ, जुन पार्टीको नाम नै स्वतन्त्र छ, त्यही पार्टीका सदस्य एक व्यक्तिको स्वार्थ र आग्रहको बन्दी भएका छन् । सभापति विवादका चाङमा उभिँदा पनि पार्टी पंक्तिभित्र यसबारे वस्तुनिष्ठ छलफल नहुनुले यो पार्टीको आन्तरिक लोकतन्त्र र भावी राजनीतिको नियति संकेत गर्छ । अपरिपक्व, आवेग र सनकपूर्ण निर्णय अनि प्रतिशोधको जगमा उभिएको राजनीतिले भीडतन्त्रलाई क्षणिक आकर्षित त गर्ला तर लोकतन्त्रमा त्यसको झविष्य सुखद हुनेछैन ।