फाईल फोटो।
विराटनगर, १७ जेठ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मधेस प्रदेशमा केन्द्रीय सत्ता समीकरणकै आधारमा सरकार निर्माण हुने बताइको छ। ‘कोसी प्रदेश श्रमधान रोजगार मेला’को उद्घाटनमा सहभागीहुन विराटनगर पुगेका प्रधानमन्त्री प्रचण्डले सञ्चारकर्मीसँग कुरा गर्दै माधव नेपाल विपक्षीदलसँग भेटघाट गरीरहेको भएपनि सत्ता समिकरणकै आधारमा मधेशमा सरकार बन्ने दावी गरेको हो।
केन्द्रको समीकरणभन्दा बाहिर गएर मधेस प्रदेशमा पनि अर्को सरकार नबन्ने उनको भनाइ छ। उनले नकेपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेससहितको बैठकमा सहभागी हुनुलाई असहज रूपले नलिएको बताए। उनले अध्यक्ष नेपाल पहिलेदेखि कहिले यता र उता जोडिनेजस्तो देखिए पनि अहिलेको समीकरणभन्दा बाहिर नजानेमा स्पष्ट रहेको दावी गरे।
उनले भने, ‘माधवजी प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससहितको बैठकमा सहभागी हुनुलाई मैले त्यत्ति असहज ठानेको छैन। माधवजी पहिलादेखि नै उता पनि यता पनि जोडिनेजस्तो देखिएको त थियो तर अहिले मेरो बिहान कुरा हुँदा माधवजी यो समीकरणभन्दा बाहिर छैन, हुँदैन भन्नेकुरा क्लियर गर्नुभएको छ।’
कोशी प्रदेशलाई आवश्यकता र परिस्थितिअनुसार पर्याप्त बजेटको व्यवस्था भएको उनले चर्चा गरे। ‘कोशीलाई कम बजेट भयो भन्नेकुरा सही होइन। बजेटमा धेरै चिज नयाँ छ। उत्पादन, उत्पादकत्व र रोजगारीलाई केन्द्रित गरेर बजेट आएको छ।’
उनले कोशी प्रदेशलाई बजेट कम भयो भन्नेकुरा सही नभएको बताए। प्रदेशको आवश्यकता र परिस्थितिअनुसार पर्याप्त बजेट विनियोजन गरेको बताए।