सिरहा, ३० बैशाख। मधेश प्रदेशमा नेकपा एमालेको नेतृत्वमा सरकार बनाउने छलफल शुरु भएको छ। मधेश सरकारबाट आइतबार नेकपा एमाले र नकपा माओवादी केन्द्र बाहिरिएसँग सवैभन्दा ठूलो दल एमाले नेतृत्वमा सरकार गठनको लागि छलफल सुरुभएको हो।

सरकारबाट दुईवटा दल बाहिरिएपछि जसपा नेपालको नेतृत्वमा रहेको सरकार अल्पमतमा परेको छ।

सरकारबाट बाहिरिएपछि एमालेको नेतृत्वमा सरकार बनाउने गरि छलफल शुरु भएको छ। एमाले मधेशमा २५ सांसदसहित सबैभन्दा ठुलो दल हो। नयाँ सरकार बनाउन एमाले, माओवादी केन्द्र, जनमत र लोसपाबीच छलफल शुरु भएको छ।

१०७ सदस्यीय मधेश प्रदेशमा एमालेको २५, जनमतको १३, माओवादी केन्द्र र लोसपाको ९–९ सिट रहेको छ। चार दलको कुल ५६ सिट रहेपछि सभामुख बाहेक ५५ मत हुने हुनाले बहुमत पुग्ने देखिन्छ।

एमालेले छलफल सुरुगरेपनि मधेश सरकारको नेतृत्व जनमत पार्टीले लिने चर्चा छ। माओवादीले पनि आफ्नो नृतृत्व दावी गरिरहेको बताइन्छ।