माघको अन्तिम सातातिर रौतहटको दुर्गा भगवती गाउँपालिकाको मत्सरी गाउँस्थित एक घरको दलानमा घुर ताप्दै स्थानीयहरू समसामयिक विषयमा गफिंदै थिए। कुरो घुमिफिरी पठनपाठनको खस्किंदो स्तरमा आएर अल्झिन्थ्यो। उनीहरू भन्दैथिए, ‘हामी अझै पनि आफ्ना समस्या लाक्षणिक भाषा र सांकेतिक शैलीमा मात्रै व्यक्त गर्ने गर्छौं, स्पष्टसँग विषयलाई राख्न अप्ठ्यारो मान्छौं।’

घुर ताप्दै गरेका एक जना सज्जन मधेश प्रदेशको शैक्षिक जगलाई गुईंठा र परालको आगोसँग तुलना गर्दैथिए । तिनको सरल जिज्ञासा थियो- यहाँको शैक्षिक जग गुईंठाको आगो हो कि परालको आगो जस्तो हो ? परालको आगो दनदनी बल्छ र स्वाट्टै निभेर जान्छ, गुईंठा सुस्तरी सुस्तरी बल्छ राप पछिसम्म रहन्छ। शिक्षाको लामो परम्परा बोकेका यस क्षेत्रका स्कूलहरू यताका दिनमा किन परालको आगो झै‌ं आफ्नो गुणस्तर निभाउँदै लगिरहेका छन् ? 

यस्ता गफगाफबाट शिक्षाको सन्दर्भ स्थानीयहरूको अभिरुचिको विषय हो भन्ने पनि बुझनुपर्छ। जवाफको खोजीमा मतैक्यता नदेखिए पनि उनीहरू एउटा कुरामा सहमत देखिए– ‘दक्षिण र उत्तरमा ‘ग्रेट डिवाइड’ देखियो।’ सबै प्रौढ नागरिकहरू एकछिन गम्भीर भए । केही पलको चुप्पीपछि एक-अर्का व्यक्तिले घुरमा हात सेक्दै भने– ‘ना अनपढ रहे, ना काबिल हुए, खामखां ए जिंदगी, तेरे स्कूल में दाखिल हुए... !’  यो शेर सुनेर हाड कमाउने जाडोमा सबै गलल्ल हाँसे।

यहाँ दक्षिण भनेको मधेश-प्रदेशमा पूर्व-पश्चिम राजमार्गदेखि भारतीय सिमानासम्मको क्षेत्रलाई बुझनुपर्दछ। यस शताब्दीको शुरुआतमा सिङ्गो मधेशमा स्कूलहरू औंलामा गन्ती गर्न सकिने संख्यामा हुँदा यहाँका पढ्न चाहनेहरू सिमाना पारि भारतीय स्कूलमा जान्थे । तर यस्तो सुबिस्ता सबैसँग थिएन। बरु प्रायः भारततिरबाटै बोलाइएका शिक्षकहरू घरमै ट्युसन पढाउँथे। विस्तारै ती शिक्षकहरूको उत्प्रेरणाले गाउँ-बस्तीमा स्कूल खोलौं भन्ने चेत बढ्न थाल्यो। २००७ सालपछि मधेशमा स्कूलहरू खुल्ने क्रम नेपालकै अन्य भूगोलको तुलनामा अगाडि भयो। समुदायले आफ्नो पहल र सहयोगमा स्कूलहरू खोले। स्कूलको भौतिक पक्ष पर्याप्त थिएन। तथापि, शैक्षिक पक्ष नै स्कूलको महत्वपूर्ण पक्ष हो भन्दै त्यसमा नै सबैले जोडबल दिए।

अहिले हेर्दा स्कूल भवनहरूको पक्कीकरण बढेको छ। अधिकांश स्कूलहरूमा मानवीय स्रोत, भवन, कक्षाकोठा, छात्रावास, चमेनागृह, पुस्तकालय, प्रयोगशाला, कार्यशाला, खेल–मैदान आदिको उपलब्धता फैलिंदो छ। स्कूलमा विद्यार्थीको भर्ना, प्रवेश परीक्षा, नियमित पठनपाठन, उपयुक्त शिक्षण सिकाइ क्रियाकलाप, नियमित शैक्षिक मूल्यांकन, उपयुक्त शैक्षिक सामग्रीको प्रयोग जस्ता पक्षले स्कूलको शैक्षिक पक्षको बोध गराउँछन्। निर्धारित शैक्षिक लक्ष्य र उद्देश्य पूरा गर्ने कार्यले शैक्षिक पक्ष उपलब्धिपूर्ण भएको मान्न सकिन्छ । स्कूलको शैक्षिक पक्ष, व्यवस्थापकीय पक्ष, आर्थिक पक्ष, भौतिक पक्ष, अतिरिक्त क्रियाकलाप पक्ष, समुदायिक कार्यक्रम, स्कूलको योजनाले स्कूलमा राम्रो वातावरण बनाउने आश गरिन्छ । स्कूलमा योग्य र दक्ष कर्मचारी तथा सचेत अभिभावकले ठूलो भूमिका खेलिरहेका हुन्छन्। 


आज मधेश प्रदेशमा स्कूल स्कूल जस्ता छैनन्, शिक्षक शिक्षक जस्ता छैनन् र परीक्षा परीक्षा जस्तो छैन, खालि ‘खेला हवे !’ यस्तो परिवेशमा विद्यार्थीहरू राम्रो पढाइको खोजीमा उकालो लाग्नुलाई सकारात्मक आँखाबाट पनि हेर्न सकिन्छ। 

शैक्षिक संस्थाको उन्नति र प्रगति समुदायको सक्रिय सहभागिता र संलग्नतामा निर्भर गर्दछ। बाहिरबाट हेर्दा यस्ता कुराहरू भइरहेको पनि देखिन्छ । यस्तो अवस्थालाई ‘क्रियाशील-विद्यालय’ भनिन थालिएको छ। यो भनाइको आशय त्यो स्कूलमा जे हुनुपर्ने हो त्यो सबै थोक हुँदैछ, सबै थोक छ। तर, यथार्थमा त्यो सबै प्रदर्शन मात्र भइरहेको हुन्छ। सारभूत रूपमा त्यो सबै देखावटी सावित हुँदै आएको छ। आज मधेशका आम मान्छेको यस क्षेत्रका स्कूल माथिको भरोसा न्यून हुँदै गएको छ। अभिभावकहरूमा शिक्षणदेखि परीक्षासम्ममा ‘सेटिङ’ भइसकेको छ भन्ने बुझइ बाक्लिएको छ। अनि उनीहरू भन्न थालेका छन्– ‘दरिद्र भयो स्कूल ! न शिक्षा दिन सक्यो न संस्कार !’

मधेशका हुनेखानेहरू आफ्ना बच्चालाई दक्षिणतिर (भारत) वा काठमाडौं तिर पठाउँछन्। एउटा तप्काको रुझन छेउकै राजमार्ग वा पहाडी जिल्लाका स्कूलहरूतिर छ। यो मानसिकता पछाडिका कारणहरू नियाल्दा- पहिलो त मनोवैज्ञानिक नै हो। मधेशी समुदायका शिक्षकहरूको बाहुल्य भएको स्कूलमा पठन-पाठनको स्तर कमजोर हुँदै गएको सोचले व्यापकता पाएको छ। मधेशकै शिक्षक पहाडी जिल्लामा हुँदा जुन समर्पण, सृजनशीलता र सक्रियता देखाउँछ, त्यही शिक्षक घरपायक आउँदा सडकको खुला साँढे जस्तो भएको आम गुनासो पाइन्छ। जहाँ शिक्षक र अभिभावकहरू समावेशी छन्, त्यहाँ बरू तुलनात्मक रूपमा ठीक भएको अनुभव सुनिन्छ। दोस्रो, सुरक्षा हो । यसभित्र रहनसहन, भाषाहरूको सिकाइ र समर्पण जस्ता पक्षहरू पर्छन्। विद्यार्थीको भौतिक सुरक्षा पनि प्रमुख हो। 

तेस्रो छिमेकी भारतीय राज्यमा समेत पछिल्ला दशकहरूमा सार्वजनिक शिक्षाको स्तर स्वाट्टै झ्रेको छ। चौथो, २०४६ सालको परिवर्तनपछि मधेशमा जे-जस्ता र जसरी शिक्षक बन्ने अवसर पाए, तिनीहरूमध्ये ठूलो हिस्साले समाजलाई निराशा पार्‍यो भन्ने ठम्याइ रहेको छ। पुराना शिक्षकहरू निवृत्त हुँदै गए। शिक्षकका कारणले स्कूल चिनिने जमाना गयो। अपवादमा रहेका राम्रा शिक्षकहरूको हौसला बढाइएन। पाँचौं, सामुदायिक स्कूलहरू राजनीतिक र जातीय शक्ति-संघर्षको अखडा बन्दै गए । परिणामतः सार्वजनिक स्कूलप्रतिको आकर्षण मधेशमा खस्किंदै गयो। छैटौं, स्कूलका छात्रावासको प्रबन्ध र माहोल पनि वितृष्णा पैदा गर्ने खालको भयो । यी सबै कारणले गर्दा, मधेशका बालबालिकाहरू घर नजिकको स्कूल छाडेर टाढा पुग्नुपर्ने नियति आएको देखिन्छ।

यथार्थमा आज मधेश प्रदेशमा स्कूल स्कूल जस्ता छैनन्, शिक्षक शिक्षक जस्ता छैनन् र परीक्षा परीक्षा जस्तो छैन, खालि ‘खेला हवे !’ यस्तो परिवेशमा समथरका विद्यार्थी राम्रो पढाइको खोजीमा उकालो लाग्नुलाई समस्याका बाबजूद कतिपय सकारात्मक आँखाबाट पनि हेर्न सकिन्छ। जस्तो, यसले अन्तरसमुदाय घूलन र अन्तरक्रियालाई प्रश्रय दिन्छ; पहाडी क्षेत्रका विद्यालयमा अभिभारासँगै आकर्षण थपिन्छ, ‘सेटिङ’ र बढी चमक-धमकमा निर्भर मधेश प्रदेशका निजी विद्यालयलाई पनि सुध्रिनको लागि झ्ट्का पर्छ, मधेशलाई ‘शैक्षिक हव’ बनाउने भाषणवाजीको खोक्रोपन उदाङ्गिन्छ। तर पनि; मधेश प्रदेशको शैक्षिक गुणवत्ता रित्तिंदै जानुको शर्तमा बाँकी कुनै पनि किसिमका कुरामा हर्षबढाइँ गर्न र त्यसलाई औचित्यपूर्ण मान्न सकिंदैन।

अनेकौं दृष्टिले मधेशको समाज धेरै पछाडि परेको छ । यो समाजले आफ्ना कमजोरीहरू मूल्यांकन गरेन र त्यसलाई सुधार गर्दै हिंड्न सकेन भने खासगरी मधेश प्रदेशले आफूलाई अघि बढाउने गति ज्यादै सुस्त हुनेछ । संकटहरू विभिन्न नाम र अवतारमा चारैतिर मडारिइरहेका छन्। त्यसैले वर्तमानले सिकाएको पाठबाट मधेश प्रदेशले आफूलाई प्रशिक्षित गर्नैपर्छ। केवल अतीतजीवी बनेर लामो समयसम्म वर्तमानको यथार्थलाई छल्न सकिंदैन।

यस्तो परिस्थिति सिर्जना हुनु आफैंमा ठूलो सामाजिक अपमानको विषय हो। यो जुन यथार्थ हो योभन्दा पनि ग्लानिको विषय- वर्षौंदेखि भइरहेको यस्तो खराब आचरणका बारेमा आफ्ना सन्ततिलाई धेरै माया र चिन्ता गर्ने मधेश–प्रदेशका जनता भयानक परिणाम व्यहोर्नु पर्दा पनि ब्युँझ्नि नसक्नु हो। कसैले पनि तत्कालको सुविधाका लागि यस विषयलाई गौण महत्व दिनु वा ढाकछोपतिर लैजानुहुँदैन। यस्तो विषयमा पर्याप्त प्रभावकारिताको अपेक्षा गर्दै गुनासो र आलोचना गर्नु नाजायज होइन, यसलाई समुदायको निन्दाका रूपमा कदापि लिनुहुँदैन। वा, यो त मधेशको टुटुल्को हेर्ने चासो र जिज्ञासा हो भनेर उपेक्षा गर्ने विषय पनि होइन। यस वस्तु तथ्यलाई सरोकारवाला सबैले गम्भीर ढंगबाट मूल्यांकन गर्नु जरूरी छ।

मधेश प्रदेशको राजनीति र प्रदेश सञ्चालनको विद्यमान परिपाटी लगायत समग्र प्रादेशिक- सामाजिक परिप्रेक्ष्यमा उत्पन्न रिक्तताको मूल्यांकन र त्यसको परिपूर्तिका उपायको खोजीका लागि गरिने प्रयत्नहरू तत्काल प्रारम्भ गर्ने परिस्थिति आइपरेको छ। यससँग सम्बन्धित भौतिक, मनोवैज्ञानिक र प्राविधिक पक्षहरूलाई लिएर उठेका अनेकौं प्रश्न र जिज्ञासाहरू थाती राखेर निकासको गोरेटो निस्किंदैन। यो एउटा नयाँ संकट हो र यसलाई नयाँ परिप्रेक्ष्यमा हेर्नुपर्ने अवस्था उत्पन्न भएको छ। 

शिक्षक मासिकबाट।