पछिल्लो साता चितवनको एक होस्टेलमा १३ वर्षे बालिकाको मृत्युले समाज तरंगित भयो। होस्टेलको कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेकी शालीन पोखरेलको हत्या भएको दाबी आफन्तले गर्दै आएका छन्। तर, पोस्टमार्टम रिपोर्ट, मेडिकल रिपोर्ट र सुसाइड नोटलगायतले आत्महत्या देखाएको प्रहरीको भनाइ छ।
चितवनमा जीवन गुमाएकी शालीनका आमाबुवा दुवैले बेग्लाबेग्लै घरबार बनाएका थिए। शालीनका बुवा कान्छी श्रीमतीसँग काठमाडौँमा बस्दै आएका छन्। उनकी आमा विदेशीसँग विवाह गरेर दुबईमा बस्दै आएकी थिइन्।
तर, शालीनको घटना चर्चामा आएको दृष्टान्त मात्र हो।
पछिल्लो समय नेपालमा बालबालिकाको आत्महत्याको दर डरलाग्दो रहेको देखाएको छ। नेपाल प्रहरीको तथ्यांकले हरेक वर्ष आत्महत्या गर्ने बालबालिकाको संख्या बढ्दै गएको देखाएको छ। यसै वर्षका ७ महिनामा १८ वर्षमुनिका ४७३ जनाले आफ्नो ज्यान लिएका छन्।
पछिल्लो पाँच वर्षमा ३ हजार ४ सय ३ बालबालिकाले आत्महत्या गरेको प्रहरी तथ्यांक छ।
आर्थिक वर्ष २०७६/७७ मा ६६२ बालबालिकाले आत्महत्या गरेका थिए। ०७७/७८ मा यो संख्या बढेर ७६४ पुग्यो।
०७८/७९ मा ७०९ बालबालिकाले आत्महत्याको बाटो रोजेकामा गत वर्ष ७९६ बालबालिकाले आफ्नो ज्यान आफै लिएको पाइएको छ।
बालिका धेरै
नेपालमा आत्महत्याको समग्र तथ्यांकलाई हेर्ने हो भने पुरुषको संख्या धेरै देखिन्छ। खासगरी वयष्क उमेरमा महिलाभन्दा पुरूषले बढी आत्महत्याको बाटो रोजेका छन्।
चालु आर्थिक वर्षकै नेपाल प्रहरीको तथ्यांक हेर्ने हो भने गएका ७ महिनामा आत्महत्या गर्ने पुरुष २ हजार २४८ रहेकामा महिलाको संख्या भने १ हजार २६६ छ।
अर्थात् गत सात महिनामा महिलाको तुलनामा १७७ प्रतिशत पुरूषको आत्महत्या देखिएको छ।
लगभग यस्तै अनुपात गत पाँच वर्षमा देखिन्छ।
गएका ५ वर्षमा १७ हजार ३९६ वयष्क पुरूषले आफ्नो ज्यान लिएका छन् भने यस्ता महिलाको संख्या १० हजार ४ सय २९ छ।
तर, बालबालिकाको आत्महत्याको तथ्यांक भने यसविपरीत छ। आत्महत्या गर्ने बालकको भन्दा बालिकाको संख्या धेरै छ, त्यो पनि ठूलो अन्तरले।
०७६/७७ मा २५२ बालक तथा ४१० बालिकाले आत्महत्या गरेको प्रहरीको तथ्यांक छ।
०७७/७८ मा २९४ बालक र ४७० बालिकाले आत्महत्या गरेका छन्।
यस्तै, ०७८/७९ मा २५३ बालक र ४५६ बालिकाले आत्महत्या गरेको देखिन्छ भने २०७९/८० मा २६६ बालक र ५२९ बालिकाले ज्यान दिएका छन्।
यस वर्षका सात महिनामा २५३ बालकले आत्महत्या गर्दा बालिकाको संख्या ४५६ पुगिसकेको छ।
गत पाँच वर्षको तथ्यांक केलाउँदा १ हजार २११ बालकले आत्महत्या गर्दा बालिकाको यो संख्या २ हजार १९२ बालिका छ।
अर्थात् १८ वर्षमुनिकाको हकमा आत्महत्या गर्ने बालकको तुलनामा बालिकाको संख्या १८१ प्रतिशत छ।
बालिकाको आत्महत्या दर धेरै रहेको र यो अध्ययनको विषय भएको प्रहरी अस्पतालका मनोचिकित्सक डा. आशिष दत्त बताउँछन्।
किन गर्छन् बालबालिकाले आत्महत्या?
मन भएका सबै प्राणीलाई मानसिक समस्या हुने कान्ति बाल अस्पतालका बाल मनोचिकित्सक डा. अरुण कुँवर बताउँछन्।
डा. कुँवरकै भनाइमा, ठूला मानिसलाई मात्रै होइन, बच्चाहरूलाई पनि मरौँ भन्ने भावना आउँछ। बालबालिकाहरूमा झन् समस्यालाई बुझ्ने शक्ति कम हुन्छ। त्यसकारण सानो घटनाले पनि उनीहरूलाई प्रभाव पार्छ।
हाम्रो समाजमा त झन् बालबालिकाको समस्या र भावनालाई खासै महत्त्व दिइँदैन। साना केटाकेटी त हुन् भनेर बेवास्ता गरिन्छ।
बालबालिकाले जानेर वा नजानेर कुनै काम बिगार्दा उनीहरूलाई शारीरिक दण्ड दिने तथा हप्काइदप्काइ गर्ने कुरा हाम्रो समाजमा सामान्य रूपमा लिने गरिन्छ। समाजले सामान्य मानेको यस प्रवृत्तिले पनि कतिपय बालबालिका जोखिममा रहेको डा. कुँवर बताउँछन्।
उनका अनुसार, खासगरी अभिभावकसँग खुलेर कुरा गर्न नसकेका तथा अन्तर्मुखी स्वभावका बालबालिका आफूलाई मन नपर्ने काम तथा व्यवहारविरुद्ध खुलेर प्रतिवाद र विरोध गर्न सक्दैनन्। आफ्नो आक्रोश स्थानान्तरण गर्ने वा दबाएर राख्नेमध्ये एउटा विकल्प रोज्न विवश हुन्छन्।
’आफ्ना इच्छा निरन्तर दमन गर्दै जाँदा त्यसले कुण्ठाको रूप लिन पुग्छ,’ डा. कुँवर भन्छन्, ‘बुलिङ, शारीरिक तथा मानसिक शोषणमा परेका वा ट्रमामा परेका बालबालिका आफ्ना सबैभन्दा आत्मीय ठानिएका व्यक्तिबाट तिरष्कृत हुँदा संसारै अन्धकार देख्न थाल्छन्। आफू समस्याको ठूलो दहमा फसेको अनुभूत गर्छन्। यस्तो अवस्थामा केही बच्चा घर छाडेर हिँड्छन् भने अर्काथरी बालबालिका आवेगमा आत्महत्यासमेत गर्न पुग्छन्।’
बुवाआमाले आफूसँगै नराखेका बच्चा झन् धेरै समस्यामा हुने डा. कुँवर बताउँछन्। सानो उमेरमा नै परिवारबाट अलग्गिएका, होस्टलमा बसेका बच्चा झन् धेरै कुण्ठित हुने र उनीहरूले गलत निर्णय गर्न सक्ने सम्भावना धेरै हुने उनको भनाइ छ।
मनोचिकित्सक डा. आशिष दत्त बालबालिकामा आत्महत्या बढ्नुको एउटा कारण सामाजिक सञ्जालको गलत प्रयोगसमेत रहेको ठान्छन्। उनी भन्छन्, ‘बालबालिका अत्यधिक समय ग्याजेट र सामाजिक सञ्जालमा भुल्न थालेका छन्। सामाजिक सञ्जालमा अपरिचितसँग साथी बन्ने, कतिपय सानै उमेरमा प्रेम–सम्बन्धमा गाँसिने र समस्या आएपछि आत्महत्याको बाटो रोज्ने गरेका घटना देखिएका छन्।’
मनोविद् गोपाल ढकालका बुझाइमा, उमेर पुगेका व्यक्तिले डिप्रेसनका कारण र बालबालिकाले कुनै घटनाको तत्काल प्रतिक्रियास्वरूप आवेशमा आएर पनि आत्महत्या गरिदिन्छन्। उनी भन्छन्, ‘आत्महत्या रोक्न सकिन्छ भन्ने धेरैलाई थाहा नै छैन। यो अहिलेको मुख्य समस्या हो। जो आत्महत्याको जोखिम क्षेत्रमा छन्, उनीहरूलाई मनोसामाजिक परामर्शबाट रोक्न सकिन्छ। बालबालिकाको हकमा अभिभावक सचेत रहनुपर्छ।’
कस्ता बालबालिका आत्महत्याको जोखिममा?
परिवारका सदस्यहरूमा मानसिक समस्या रहेका तथा आत्महत्या वा आत्महत्या प्रयास गरेका परिवारका बालबालिका जोखिममा रहने डा. ईश्वरी खनालको भनाइ छ। उनका अनुसार, सानैमा शारीरिक वा मानसिक शोषणबाट गुज्रिरहेका, पारिवारिक सम्बन्धमा समस्या, पारिवारिक कलह, झैझगडा वा परिवार विखण्डनमा परेका बालबालिका पनि आत्महत्याको जोखिममा रहने गर्छन्।
त्यस्तै, डिप्रेसन वा आत्महत्याको सोच बालबालिकाहरूमा पनि हुने गर्दछ। उनीहरूको सोच, विचार र व्यवहारलाई मतलब नगर्दा वा समयमै पहिचान गर्न नसक्दा आत्महत्याका घटना हुन सक्ने खनाल बताउँछन्।
खनाल भन्छन्, ‘आफ्ना भावनाहरू व्यक्त गर्न नसक्नु, परिवारका सदस्यहरूसँग डर मान्नु वा परिवार वा स्कुलको वातावरण कठोर लाग्नु, बेलैमा समस्याको पहिचान हुन नसक्नु, मानसिक स्वास्थ्यलाई आफ्नो कमजोरी वा लान्छनाका रूपमा हेर्नु, परिवार, स्कुलमा वा समाजमा मानसिक स्वास्थका बारेमा हेरिने दृष्टिकोणहरूले डिप्रेसन वा आत्महत्यासम्बन्धी सोचहरूमा प्रत्यक्ष वा अप्रत्यक्ष असर पारिरहेका हुन्छन्।’\
बालिका आत्महत्या अनुसन्धानको विषय
बालकको तुलनामा बालिकाले किन बढी आत्महत्या गरिरहेका छन् भन्नेचाहिँ यकिन देखिँदैन। धेरै विज्ञहरू यो विषय अझै अनुसन्धानकै विषय रहेको बताउँछन्।
‘किन यस्तो भयो भन्ने बुझ्नैपर्छ, यसको खासै अध्ययन भएको छैन,’ डा. कुँवरले भने।
विशेषगरी बालबालिकाको सवालमा १३ देखि १८/२० वर्षसम्ममा शारीरिक तथा मानसिकरूपमा तीव्र परिवर्तन हुन्छ। यो उमेर समूहका बालिका तनावको स्थितिबाट गुज्रने र गलत निर्णय गर्न सक्ने डा. कुँवरको अनुमान छ।
बालिकाको मात्रै नभएर बालकको पनि आत्महत्याको सामाजिक र वैज्ञानिक कारण खोज्न जरुरी रहेको कुँवर बताउँछन्।
मनोविद् गोपाल ढकाल किशोरावस्थामा हुने हर्मोन परिवर्तन, यौन तथा लैंगिक हिंसा, सामाजिक दबाब, घरेलु हिंसालगायत कारण किशोरको तुलनामा किशोरीमा बढी मानसिक तनाव निम्तिएको हुन सक्ने बताउँछन्।
किशोरीमा तुलनात्मक रूपमा बढी मानसिक तनाव निम्तिने जोखिम भएकाले आत्महत्या पनि बालकको तुलनामा बालिकाको बढी भएको हुन सक्ने ढकालको तर्क छ। तर, उनी पनि यो थप अध्ययनकै विषय भएको बताउँछन्।
वयष्कको सवालमा पनि महिलाले नै बढी आत्महत्याको प्रयास गर्ने तर सफलचाहिँ पुरुष धेरै हुने चिकित्सकहरू बताउँछन्। उनीहरूका भनाइमा, धेरैजसो पुरुषले आत्महत्याका लागि झुन्डिने, विष सेवन र हाम फाल्नेजस्ता विधि अपनाउने भएकाले तथ्यांकमा पुरुषको आत्महत्या बढी देखिन्छ। महिलाले बढी मात्रामा औषधी सेवन गर्ने, हात लगायतका अंग काट्ने गर्नाले उनीहरूको ज्यान बच्ने सम्भावना हुन्छ।
नेपालमा सबैभन्दा धेरै झुण्डिएर आत्महत्या गर्ने गरेको नेपाल प्रहरीको तथ्यांक छ। आर्थिक वर्ष २०७९/०८० मा आत्महत्या गर्नेमध्ये ५ हजार ९५६ जनाले झुण्डिएर आत्महत्या गरेका थिए। विष सेवन गर्नेको संख्या ९३२ छ।
४९ जनाले हाम फालेका थिए भने ३५ जना पानीमा डुबेका थिए। त्यसैगरी औजार तथा हातहतियार प्रयोग गरेर १५ जना र ६ जनाले आगो लगाएको तथ्यांक छ।
परिवारको भूमिका प्रमुख
विज्ञहरूका अनुसार, बालबालिकालाई आत्महत्या गर्नबाट रोक्नमा परिवारको ठूलो भूमिका रहन्छ। परिवारले ख्याल गरेन, समय दिएन, उसको भावनालाई बुझेन र कुण्ठित भयो भने भविष्यमा निकै ठूलो असर पर्छ। यसले उनीहरूमा विभिन्न किसिमका सामाजिक समस्याहरू आउँछन्।
कुँवर थप्छन्, ‘परिवारले वास्ता नगरेका बालबालिका कुलतमा लाग्न सक्छन्। पढाइमा असर पर्न सक्छ। यो क्रम बढ्दै जाँदा बच्चामा निराशा पनि बढ्दै जान्छ र निराशाबाट मुक्ति खोज्छन्।’
डा. दत्त पनि राम्रोसँग अभिभावकत्व पाउन नसकेका बालबालिकाले आत्महत्या बढी गरेको बताउँछन्। बालबालिकामा आएको व्यावहारिक परिवर्तनको ख्याल गर्न, उनीहरूमा अत्यधिक रिसाउने तथा मर्छु भनेर घुर्की लगाउने बानी देखिएको खण्डमा तत्काल चिकित्सककहाँ लगेर उपचार गराउन उनको सुझाव छ।
बालबालिकाको मानसिक अवस्था, संगत र सामाजिक सञ्जालको प्रयोगप्रति अभिभावक नै सचेत रहनुपर्ने मनोचिकित्सकहरू बताउँछन् ।
डा. दत्त भन्छन्, ‘आफ्ना सन्तानले सामाजिक सञ्जालको प्रयोग कसरी गरिरहेका छन् भन्ने विषयमा अभिभावकले हेक्का राख्नु जरुरी छ।’
अभिभावकले सामान्य गाली गर्दा, मेला जानबाट रोक्दा, परीक्षामा असफल हुँदा तथा प्रेम–सम्बन्धका कारण कतिपय बालबालिकाले आत्महत्या गरेका छन्। बालबालिकाले कसरी आत्महत्या गर्यो भन्ने कुरामा भन्दा किन गर्यो भन्नेमा गहिरो अनुसन्धान हुनुपर्ने नेपाल प्रहरीका पूर्वडीआईजी पीताम्बर अधिकारी बताउँछन्।
अधिकारी भन्छन्, ‘व्यक्तिको शरीरको अटोप्सी हुन्छ, तर मनोवैज्ञानिक अटोप्सी हुँदैन। आत्महत्या किन गर्यो भनेर पनि प्रहरी र चिकित्सकले सँगै अनुसन्धान गरेर कारण पत्ता लगाउँदा रोकथाममा सहज हुन सक्छ।’
रोक्ने उपाय
बालबालिकाले मात्रै होइन ठूला मानिसले पनि म मर्छु भन्यो भने त्यसलाई गम्भीर रुपमा लिनुपर्ने डा. कुँवर बताउँछन्। उनका अनुसार बालबालिकाले आत्महत्याको सोच बनाएको थाहा पाएको खण्डमा तुरुन्तै मनोपरामर्श तथा उपचारमा लैजानु पर्छ।
बालबालिकालाई मानसिक रुपमा स्वस्थ रहने वातावरण बनाउनुपर्ने डा. कुँवरको सुझाव छ। विद्यालय लगायतमा बालबालिकालाई मानसिक स्वास्थ्यको विषयमा समेत जनचेतना जगाउनुपर्ने उनको भनाइ छ। अभिभावकले उनीहरूसँग धेरैभन्दा धेरै अन्तर्क्रिया गर्नुपर्ने कुँवर बताउँछन्।
आत्महत्यासम्बन्धी अधिकांश घटना रोकथाम गर्न सकिन्छ भन्ने सन्देश प्रवाहमा सञ्चारमाध्यमले पनि भूमिका खेल्नुपर्ने मनोविद् ढकालको तर्क छ। यस्ता समाचार सम्प्रेषण गर्दा घटनाको विस्तृत विवरण उल्लेख गर्न नहुने ढकाल बताउँछन्।
विस्तृत रूपमा लेखिँदा त्यही तरिका अन्य बालबालिकाले पनि नक्कल गर्न सक्ने भएकाले सचेत रहन ढकालको आग्रह छ। कतिपय आत्महत्याको स्थितिमा पुगेको मानिस अन्तिम अवस्थाबाट पनि फर्किन सक्ने चिकित्सकहरू बताउँछन्। त्यसका लागि परिवार सचेत रहनुपर्ने र सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने उनीहरूको मत छ।
(आत्महत्या वा आत्महानिको सोच आएमा राष्ट्रिय हेल्पलाइन- ११६६ मा फोन गर्नुहोला। यसमा फोन गर्दा पैसा लाग्दैन।)
नेपाल खवरबाट।