काठमाडौँ, १८ पुस। विभागीय टिम एपीएफले प्रधानमन्त्री कप महिला टी –२० को उपाधि जितेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा सम्पन्न रोमाञ्चक फाइनलमा एपीएफले कोशी प्रदेशलाई ११ रनले पराजित गर्दै उपाधि जितेको हो।

एपीएफले दिएको ११५ रनको लक्ष्य पछाएको कोशीले २० ओभरमा ४ विकेट गुमाउँदै १०३ रन बनाएको थियो। कोशीका लागि कप्तान रुबिना क्षेत्रीले सर्बाधिक ६२ रन बनाएकी थिइन् भने काजल श्रेष्ठले २२ रनको योगदान दिएकी थिइन्।

यसअघि टस जितेर पहिला ब्याटिङ गर्दै एपीएफ क्लबले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै ११४ रन बनाएको थियो । एपीएफका लागि इन्दु बर्माले अर्धशतकीय पारी खेलिन्। उनले ४७ बल खेल्दै ५३ रनको योगदान दिइन्। सो क्रममा बर्माले छ चौका र एक छक्का प्रहार गरिन् । यस्तै ज्योति पाण्डेले २७ तथा रोमा थापाले १४ रन बनाएकी थिइन्।

त्यस्तै बलिङतर्फ कोशीका लागि अप्सरी बेगमले ह्याट्रिक गरिन्। उनले २०औँ ओभरको पहिलो, दोस्रो र तेस्रो बलमा लगातार विकेट लिइन् । बेगमले पहिलो बलमा इन्दु बर्मा, दोस्रो बलमा नेरी थापा तथा तेस्रो बलमा सोनु खड्काको विकेट लिइन्। यस्तै एलिशा खडियाले दुई तथा कप्तान रुविना क्षेत्री र निशा शाहले एक–एक विकेट लिइन्।

त्यस्तै प्रतियोगिताको विजेता एपीएफले पाँच लाख तथा उपविजेता कोशी प्रदेशले तीन लाख पुरस्कार प्राप्त गरेको छ।