काठमाडौं, १२ पुस। जारी प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत मधेश प्रदेशले दोस्रो जित हासिल गरेको छ। विहिबार सम्पन्न खेलमा मधेश प्रदेशले लुम्बिनी प्रदेशलाई ८ विकेटले पराजित गरेको हो।

लुम्बिनी प्रदेशले दिएको ९७ रनको लक्ष्य पछाएको मधेश प्रदेशले १८.५ ओभरमा २ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो। यसअघि लुम्बिनीले पहिला ब्याटिंग गर्दै २० ओभरमा ७ विकेट गुमाएर ९६ रन बनाएको थियो।

यो यस प्रतियोगितामा मधेश प्रदेशको दोस्रो जित हो। यो जितपछि ६ खेलमा ४ अंक हासिल गरेको मधेश अंक तालिकामा छैटौं स्थानमा रहेको छ। त्यस्तै यो हारले लुम्बिनीलाई भने झट्का लागेको छ र प्लेअफमा छनौट हुने सम्भावना मुश्किल बनेको छ।

लुम्बिनीको ६ खेलमा ४ अंक रहेको छ र अंक तालिकामा पाँचौं स्थानमा रहेको छ।

अब लिगको अन्तिम खेलमा शनिबार मधेश प्रदेशले कर्णाली प्रदेशको सामना गर्ने छ भने लुम्बिनीले कोशी प्रदेशको सामना गर्नेछ।