सिरहा, १७ मंसिर। सिरहाको धनगढीमाईमा मोटरसाइकल वर्कशपमा शनिबार बेलुका भएको आगलागीबाट करिव दश लाख रुपैयाँ बराबरको धनमालमा क्षति पुगेको छ। आगलागीमा परी एक जना घाइने भएका छन्।
धनगढीमाई नगरपालिका १० जिरोमाईलमा रहेको रिनासो मोटरसाइकल वर्कशपमा आगलागीमा परी वर्कशपका संचालक शम्भु यादव घाइते भएका हुन्।
आगो निभाउने क्रममा वर्कशपका संचालक यादव घाइते भएको प्रहरीले जनाकारी दिएको छ। घाइते यादवको स्थानीय स्वास्थ्यसंस्थामा उपचार भइरहेको छ। उनको अवस्था सामान्य रहेको परिवारजनले जनाएको छ।
स्थानीय एवम् प्रहरीको सहयोगमा एक घण्टापछि आगोलाई नियन्त्रणमा लिइएको थियो। आगलागीको कारणबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धनगढीले जनाएको छ।