युवावस्थादेखि नै निकै चाखका साथ स्वास्थ्य सम्बन्धी पुस्तकहरूको अध्ययन गर्दै आएको छु। शुरुका अवस्थामा खासगरी खेलकुद, हिँडाई र दौड्ने ठीक तरिका र खानपान बारे धेरै अध्ययन गर्ने गर्दथेँ।

तर मेरी आमालाई मधुमेह र उच्च रक्तचाप तथा मुटु सम्बन्धी समस्याहरूले गाँज्दै लान थालेपछि भने यस्ता रोगहरूबारेका पुस्तकहरू खरिद गरेर अध्ययन गर्ने काम शुरु भयो। वास्तवमा म आफूलाई पनि उच्च रक्तचापले अर्धवैंशे जोवन शुरु हुनु अघि नै पछ्याउन थालेको हो।

मेरा पिताजीले अध्ययन गर्नुभएका स्वास्थ्य, मनोविज्ञान र मनोचिकित्सा सम्बन्धी पुस्तकहरू पनि निकै पढेँ। उहाँको आदत मुताविक उहाँले अध्ययन गर्नुभएका पुस्तकका गौड शब्द, वाक्य र विषयहरूलाई चिनो लगाउने तथा त्यहाँ आफ्ना विचार समेत छोटकरीमा लेख्ने भएकाले त्यस्ता पुस्तकको अध्ययन गर्दा अझ बढी ज्ञान प्राप्त हुने।

हालै एकजना टम र्‍याथ नामका विश्व प्रसिद्ध लेखकले लेखेको पुस्तक ‘इट मुभ स्लिप’ पढ्दा ज्यादै आनन्दको अनुभूति भयो। उनले सो पुस्तकमा हामीले आफ्नो स्वास्थ्यलाई ठीक अवस्थामा राख्न के कसो गर्दा राम्रो हुन्छ भन्ने कुरा निकै सरल तवरले लेखेका छन्। उनको मन्त्र नै उचित खाना, नियमित व्यायाम र यथेष्ट निद्रा हो।

हालैको एक अध्ययनले दीर्घजीवन वंशाणुगत गुणका रूपमा मात्र पाइने होइन, बरु मानिसको आहार, विहार र आराम गर्ने उचित आदतबाट मानिस दीर्घजिवी हुन सक्ने कुरा बताएको छ। मानिसमा रोगब्याधी वंशाणुगत रूपमा नै हुने गरेको छ भने पनि स्वच्छ जीवनशैलीबाट त्यस्तो अवस्थालाई रोक्न सकिन्छ।

आज मानिसबाट नै सिर्जित दूषित वातावरणमा जिउनु पर्ने वाध्यता र मानिसले स्वास्थ्यका साधारण नियम पनि पालना नगर्नाले निकै प्रतिरोध्य चार रोगहरू क्यान्सर, मधुमेह, मुटु र श्वासप्रश्वास सम्बन्धी रोगहरूबाट नै १० मा ९ जनाको मृत्यु भइरहेको छ।

स्वास्थ्यवर्धक खाना खाएर शरीरलाई दिनभर चलायमान राखिरहँदा पनि राती राम्रो निन्द्रा पर्न जान्छ। यस्तो मिठो निन्द्राको कारण भोलिपल्ट बिहानैदेखि मनमा सकारात्मक सोच जाग्नुका साथै खानामा अझ बढी रुची हुने र दिनमा शरीर अझ बढी स्फुर्त हुन जान्छ। त्यसैले पनि शरीर स्वस्थ र स्फुर्त राख्न उचित खाना, व्यायाम र आरामको निकै जरुरत पर्दछ।

धेरै मानिसहरू लामो समयसम्मको अधिक र गरिष्ठ भोजनका कारण स्थुल (मोटो) भएर डाइटिङ गर्न थाल्दछन्। यसरी केही समयको निम्ति गरेको डाइटिङ वा उपवासहरूले केही क्षणको निम्ति केही वजन घटाउन मद्दत गरे तापनि त्यस्तो क्रियाले दीर्घकालीन रूपमा फाइदा हुँदैन र मानिस पहिलेकै स्वरुपमा पुगिहाल्छ।

डाइटिङको समयमा मन लाग्दा पनि नखाएका अखाद्य सामग्री खाने चाह मनमा भइरहने भएकोले सामान्य खाना खान थाल्ना साथ त्यस्ता खाना आफ्नो अगाडि आएपछि खान्न भनेर बस्न नै सक्दैनन् र झनै बढी मात्रामा खान थाल्दछन्।

वास्तवमा मानिसले कहिले काहीँ जेजस्तो खाना खाएपनि एउटा निश्चित परिमाणमा खाएमा शरीरलाई खासै हानी हुँदैन तर खानाको गुणस्तर भने राम्रो हुनै पर्दछ। त्यस्तो खानामा सबै किसिमका पौष्टिक तत्वहरू सामेल भएको हुनुपर्दछ।

खानाको छनोट गर्दा कार्बोहाइड्रेट, बोसो र चिनीजन्य वस्तु कम भएको खानालाई प्राथमिकता दिँदा राम्रो हुन्छ। मौसम अनुसारका साग-सब्जी र तरकारी, फलफूल, अण्डा, कुखुराको मासु तथा माछा र यथेष्ट मात्रामा दैनिक जल सेवनले पनि स्वास्थ्य राम्रो राख्न ठूलो मद्दत गर्दछ।

सबै प्रकारका हरिया सागहरू, ब्रोकोली, काँक्रो, फर्सी, इस्कुस, तरुल, चुकन्दर, रामतोरिया, गाजर, विभिन्न रङ र प्रकारका खुर्सानी, गोलभेँडा, घिरौँला, लौका आदि र कागती, सुन्तला, जुनार, भोगटे तथा अन्य अमिला (सिटरस) फलहरू, स्याउ, केरा, मेवा, एभोकाडो, सबै प्रकारका फलफूलहरू र बेरीहरू स्वास्थ्यको निम्ति लाभदायक हुन्छन्।

तर यिनको रस निकालेर रेसा बिनाको जुस सेवन गर्दा भने पूरा फलबाट भन्दा थोरै पौस्टिक तत्व मिल्ने गर्दछ। त्यस्तै सुकाएका फलहरू सेवनबाट पनि त्यति फाइदा मिल्दैन। तर काजु कागजी बदाम, बदाम, पेस्ता, ओखर, विभिन्न फलफूल, तरकारी र अनाजका बिउ आदि भने फलदायी हुन्छन्।

खानामा बेसार, जिरा, मरिच, मेथी, टिमुर, दालचिनी, ल्वाङ, सुकमेल, अलैँची, अदुवा, लसुन, खुर्सानी, लेमन ग्रास, सेलरी आदि जडिबुटीयुक्त मसलाहरूको नियमित रूपमा प्रयोगले पनि मानिसलाई स्वस्थ रहन मद्दत पुर्‍याउँछ। त्यस्तै उचित मात्रामा विभिन्न प्रकारका नुनको सेवनले पनि शरीरलाई फाइदा गर्दछ।

खानामा फलफूल र तरकारीको मात्रा बढाउँदै कार्बन, चिनी र हानीकारक चिल्लो खानालाई कम गर्न सकेमा मधुमेह, मुटु, मिर्गौला, कलेजो, फोक्सो तथा क्यान्सर सम्बन्धी धेरै समस्याहरूलाई पनि कम गर्न सकिन्छ।

घरमा होस् वा बाहिर, खाना खाँदा पहिले निकै स्वस्थकर खानाहरू जस्तै सलाद, हरियो परियो तरकारी तथा हल्का स्न्याक्स खाएर आधा मात्र पेट भर्न सके पनि त्यसपछि खाइने मुख्य गरिष्ठ भोजनको लागि पेटमा निकै कम ठाउँ बाँकी रहन्छ र त्यस्ता वस्तु कम खाइन्छ।

अन्तिममा खाइने डेसर्टमा पनि दही तथा फलफूलको सलादलाई प्राथमिकता दिनु राम्रो। आफू मात्र होइन, परिवारका साना सदस्यहरूलाई पनि हरिया साग-सब्जी, तरकारी, फलफूल र झोलिलो खाना खान प्रोत्साहन गर्नु पर्दछ।

हामीले खाएको खाना पचेर हाम्रो दिसा–पिसाब नियमित रूपमा बाहिरिने गर्‍यो भने हामी स्वस्थ हुन सक्छौँ। कब्जियत नै विभिन्न रोगको कारण बन्न पुग्दछ।

उच्च रक्तचाप तथा मधुमेह शुरु हुँदैमा आत्तिनु पर्ने कुनै कुरा छैन। यी रोगहरूले एक प्रकारले ‘अब शरीरको ख्याल राख्ने बेला भयो है!’ भनेर जनाउ दिइरहेको कुरा बुझेर समयमा नै खानपान, विहार र आराममा ध्यान पुर्‍याएमा औषधिको सेवन पनि गर्नु नपर्ने वा कम मात्रामा गरे पुग्ने अवस्था आउन सक्छ।

निकै अनुसन्धानबाट बनेका आजकलका औषधिहरू शरीरका विभिन्न अङ्गका निम्ति लाभदायक नै भएकाले उच्च रक्तचाप वा मधुमेह भयो अब जीवनभर औषधि सेवन गर्नुपर्छ भनेर डराउनु पर्ने समय छैन। बरु उचित व्यायाम र खानपानमा सचेत हुन सकेमा अझ बढी दीर्घजिवी समेत हुन सकिन्छ।

मधुमेह भएका वा नभएका सबै खालका मानिसहरूको लागि चिनी वा गुलियो एक अभिशापपूर्ण खाद्य हो। बालककालमा जति गुलियोमा भुलेपनि उमेर बढ्दै गएपछि यसलाई आफ्नो आहारबाट टाढा नै राख्नु पर्दछ।

यसको सट्टामा सुगर फ्री भनेर बजारमा पाइने सबै खालका अखाद्य वस्तुबाट पनि टाढा नै रहनु उत्तम हुन्छ। उमेरसँगै चिनी भएका पेय पदार्थ तथा गुलिया चिया-कफी, मिठाई तथा आइसक्रिमबाट पनि टाढा भएको राम्रो।

अरुको जन्मदिनमा जाँदा एक चिम्टी मात्र केक खाएको जस्तो गरेर मनमा ‘म मेरो जन्मदिनमा हात भरीको केक खानको लागि अहिले त्याग गर्छु’ भन्ने भावना पाल्न सक्नु निकै राम्रो हुन्छ।

यदाकदा सानो टुक्रा डार्क चकलेट खाँदा मुटुलाई पनि फाइदा नै पुग्दछ। भोज-भतेर वा अरु बेलामा पनि मदिराको अधिक सेवन गर्नु भन्दा चिया, कफीमा जोड दिनु नै राम्रो मानिन्छ। रातिको समयमा कफी पिएमा प्रसस्त पानी पिउन भने बिर्सनु हुँदैन।

दक्षिण वा दक्षिणपूर्वी एसियाका अधिकांश मुलुकमा भात (चामल) नै मुख्य खाना भएको अवस्थामा सकेसम्म प्रशोधित चामल नखाने र भातको मात्रालाई कम गरेर अन्य खाना जस्तै तरकारी र फलफूललाई मुल प्राथमिकता दिनु राम्रो हुन्छ।

त्यस्तै भातको ठाउँमा कोदो, फापर र अन्य स्वास्थ्यवद्र्धक अनाजलाई प्राथमिकता दिँदा निकै फाइदा हुन्छ। चामल, मैदा, आलु, चिनी जस्ता कार्बबाट बनेका खाना जस्तै सेल, सेतो पाउरोटी, पास्टा, चाउमिन, पिज्जा, फ्रेन्च फ्राइज, म्यास्ड पोटेटो, मिठाई वा अन्य सयौँ प्रकारका यस्ता खानालाई कहिले काहीँ थोरै चाखेर मात्र सन्तुष्टि लिनु उत्तम हुन्छ र अरु बेला यस्ता खानाबाट टाढै रहनु पर्दछ।

कस्तो खाना खायो भन्ने कुरा मात्र महत्वपूर्ण नभई खानालाई राम्ररी चपाएर र समय लिएर खाएको छ वा छैन र दिनमा कति पटक कति मात्रामा खाना खायो भन्ने कुराले पनि निकै माने राख्दछ।

हतार हतार गरेर खाएको र एकै चोटी अधिक मात्रामा खाएको खाना पचाउन शरीरलाई निकै मुश्किल पर्छ। तर राम्ररी चपाएर खाएको खाना र थोरै थोरै खाना धेरै पटक खाँदा शरीरका विभिन्न प्रकारका इन्जाइमहरूको मद्दतले छिटो पच्छ र त्यसमा भएका पोषक तत्व पनि शरीरले सहज तवरले सोस्न सक्दछ।

आदिम कालमा हाम्रा पुर्वजहरू खानाको निम्ति हिँड्ने र दौड्ने गर्दथे भने हिंस्रक जनावरबाट बच्न पनि भाग्ने गर्दथे। खानाकै निम्ति पनि व्यायाम गर्नुपर्ने वाध्यताले गर्दा उनिहरू सायद स्वस्थ नै रहन्थे होलान्।

तर जति जति समय बित्दै गयो र मानिसले सुखका साधनहरूको जति विकास गर्दै गए त्यति मानवमा हलचल गर्ने बानी घट्दै गयो र उ छिटै रोगी हुन थाल्यो।

व्यायामको कुरा गर्दा नियमित व्यायाम मात्र पनि यथेष्ट हँुदैन। दिनभरीको त्रृmयाकलापमा नै शरीरलाई सक्रिय राख्न सकेमा मात्र शरीर स्फुर्त हुन्छ र खानाको पाचनकृयामा पनि मद्दत पुग्दछ।

प्रत्येक दिन खासगरी बिहानको स्वच्छ हावामा कम्तीमा आधा घण्टा हिँड्ने, श्वासप्रश्वासको अभ्यास गर्ने, योग तथा ध्यान गर्ने, मनमा सकारात्मक कुरा मात्र खेल्ने वातावरण बनाउने, चराहरूको चिरविर र पशुहरूको आवाजबाट आनन्द लिने तथा परिवारका सदस्यहरूसँग बसेर ज्ञानगुनका र अन्य रोचक कुरा गरेर चिया पिउने बानीले पनि स्वास्थ्य सुधारमा निकै राम्रो योगदान गर्दछ। व्यायाम गर्दा सकेसम्म खुला ठाउँमा गर्दा बढी लाभदायक हुन्छ।

दैनिक रूपमा शरीरलाई चलायमान राख्दा रक्तचाप नियन्त्रणमा रहनुका साथै शरीरमा चिनीको मात्रा पनि सन्तुलित रहन्छ। त्यस्तै नियमित व्यायामले स्मरण शक्ति बढाउनुका साथै खासगरी वृद्धावस्थामा पुगेका मानिसको मस्तिस्कलाई स्फुर्त बनाएर नशा सम्बन्धी रोग र डिमेन्सीया, अल्जाइमर्स र पार्किन्सन्स जस्ता रोगबाट पनि बचाउन मद्दत गर्दछ।

रातीको निद्राबाट पनि मानिसको स्वास्थ्यमा निकै प्रभाव पर्दछ। दिनभरीको कामबाट थकित भएको शरीरलाई राति कम्तीमा पनि ७-८ घण्टाको शान्त निद्राको आवश्यकता हुन्छ।

तर हिजो आजका युवाहरूमा रातभर इन्टरनेट र च्याट तथा पार्टीको आदत परेर उनिहरू मुश्किलले ५-६ घण्टा पनि सुत्दैनन् भने कार्यालय तथा अन्य अवस्थामा हुने विभिन्न तनावका कारण कतिपय मानिसहरू मनमा चिन्ता बोकेर सुत्नै सक्दैनन्।

राति अबेला सुतेपछि बिहान पनि अबेला उठ्ने बानी पर्छ। यस्तो हुनाले व्यायाम तथा अध्ययनको समयमा कमी आउँछ भने हतार हतार विद्यालय वा काममा जाँदा पनि दिउँसो थकान महसुस भइरहन्छ।

कार्यालयमा काम गर्ने मानिसहरूलाई कामकै दौरान निद्रा लागेर काममा व्यवधान हुन जान्छ। मानसिक थकान, नकारात्मक सोच र पेटको गडबडी र खानामा रूची नहुनुमा पनि अनिद्राको ठूलो हात रहन्छ। व्यायाम गर्ने बानी भएका मानिसमा भने निन्द्रा पनि समयमा नै लाग्ने गर्दछ।

कसै कसैलाई राति निन्द्रा नलागेर औषधिको प्रयोग गर्ने बानी हुन्छ। तर रातिको खाना अघि र पछि पनि हल्का टहल्ने बानीले शरीरलाई सुत्न प्रोत्साहित गर्दछ भने खाना पनि राम्ररी पचेर शरीर स्फुर्त हुन जान्छ। कुनै गौड निर्णय लिनु भन्दा अघि राम्ररी निद्रा पुगेको छ भने ठीक निर्णय गर्ने क्षमतामा पनि अभिवृद्धि हुने कुरा अनुसन्धानहरूले बताएका छन्।

काममा तल्लिन भएर आराम बिना नै बढी समयसम्म काम गर्ने बानीले बढी थकान महसुस हुन्छ। त्यसैले कामको दौरान पनि थोरै भएपनि समय निकालेर हातखुट्टा तन्काउने, टहल्ने र समय र स्थानले साथ दिएसम्म छोटो (१०-१५ मिनेट) समय ढल्किने बानी बसाल्नु पर्दछ।

विकसित मुलुकमा पनि क्याट न्याप लिने चलन हुन्छ। यस्तो आदतलाई कुशल व्यावसायिक संस्थाहरूमा सकारात्मक रूपमा नै लिइन्छ। यस्तो छोटो आरामले काम र स्वास्थ्य दुवैको गुणस्तरमा अभिवृद्धि हुने गर्दछ। प्रत्येक आधा घण्टामा २ मिनेटको हल्का हिँडाईले स्वस्थ मानिसलाई मात्र नभइ मधुमेह भएकालाई पनि फाइदा गर्ने कुरा अध्ययनहरूले बताएका छन्।

हिजो आज रातदिन खाना घरमा पु¥याउने निकायहरूले राम्रै व्यवसाय गरिरहेका छन्। तर रातबेरात खाना मगाएर खाने बानी भने स्वास्थ्यको दृष्टिले निकै खतरनाक हो। रातिको समयमा सकेसम्म ७-८ बजेसम्ममा खाना खाइसक्नु उत्तम हुने गर्दछ।

त्यस्तै जति धेरै तापमा खाना पकाइन्छ, आगो र तावामा सेकेर पकाउने सेकुवा तथा त्यस्तै खानाहरू त्यति त्यस्ता खानाहरू हानिकारक हुन्छन्। त्यसैले सामान्य तापक्रममा घरायसी तवरले पकाएका खाना नै राम्ररी पाकेका पनि हुन्छन् र फाइदाजनक पनि। त्यसमाथि बफाएर पकाएका खानाहरूबाट झनै फाइदा हुन्छ, तर तरकारीलाई बढी पाक्ने गरी भने बफाउनु हुँदैन। उसिन्दा खानाको पौष्टिक तत्व पानीमा जाने भएकोले बफाउनु उत्तम हुन्छ।

विश्वस्तरमा नै निस्कृयतालाई धुमपान भन्दा पनि खतरनाक आदतको रूपमा लिन थालिएको छ। काम गरे पनि वा नगरे पनि धेरै समय बसिरहने बानीले क्यालोरी खर्च हुनबाट वञ्चित भएर मानिसको वजन बढ्ने, खुट्टामा रक्त सञ्चार कम हुने तथा अन्य समस्याहरू देखिन थाल्ने हुन्छ।

यस्तो अवस्थालाई ‘सिटिङ डिजिज’ पनि भनिन्छ। हामीले जति नै व्यायाम गर्ने गरे तापनि एकै ठाउँमा दैनिक ६ घण्टाभन्दा बढी बस्ने बानीले स्वास्थ्यमा निकै नकारात्मक असर पार्छ भन्ने मान्यताको पनि विकास हुँदै गएको छ। त्यसैले पनि कामको बीच बीचमा छोटो समयको निम्ति ब्रेक लिनु जरुरी हुन्छ।

धन, सम्पत्ति, सन्तान, सुख-सयल, सौख, आनन्दी जीवन, यी सबै वस्तुको आनन्द स्वस्थ अवस्थामा मात्र लिन सकिन्छ। रोगले गाँज्दै लगेपछि अल्पायुमा मरिने त छँदैछ, बाँचेर पनि जीवनको सारबाट वञ्चित हुनु पर्ने अवस्था आउँछ।

त्यसैले पनि उचित खानपान, व्यायाम र आरामलाई आजैबाट मूल मन्त्र बनाएर कार्यान्वयनमा ल्याउन सकिएमा बाँच्दाको अधिकतम आनन्द लिन सकिन्छ।

लेखक विकास अर्थशास्त्री र एकल व्यक्तित्व समाज, नेपालका अध्यक्ष हुन्।