बद्री नारायण यादव
सिरहा,२ कात्तिक। जन गुनासोको सुनुवाई गर्दै अघि बढेका सिरहाको प्रादेशिक अस्पतालको मुहार फेरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मधेश प्रदेशका सचिव डाक्टर प्रमोद कुमार यादवले बताएका छन्। मन्त्रालयको टोलीलाई नेतृत्व गर्दै प्रादेशिक अस्पताल सिरहाको स्थलगत अनुगमन गर्दै उनले त्यस्तो कुरा बताएका हुन्।
‘जिल्ला अस्पतालको रुपमा रहेको अवस्थामा धेरै गुनासो आइरहेको
हुन्थ्यो,’उनले भने,‘मधेश प्रदेशको मातहतमा भए पछि सोही गुनासोलाई सुनुवाई गर्दै अघि बढेपछि जिल्लाबाट प्रादेशिक अस्पतालमा परिणत भएको छ।’
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मधेश प्रदेश र प्रदेशका विभागले गरेको निर्देशन अनुसार काम गर्दै अघि बढेको हुनाले अस्पतालको मुहार फेरिएको उनले दाबी गरे । ओपिडि सेवा, स्वास्थ्य जाँच प्रयोगशाला, विभिन्न प्रकारका अप्रेशन सेवा, डायलासिस सेवा लगायतका अन्य सेवाहरु प्रादेशिक अस्पताल सिरहाले राम्रोसँग संचालन गर्दै आएको उनले थपे।
सेवा प्रवाह र विस्तार गर्दै प्रादेशिक अस्पताल सिरहाले ब्लड बैंक संचालन गर्न लागेको अर्को सवल पक्ष भएको उनको भनाई रहेको थियो । ब्लड बैंक संचालन र व्यस्थापनमा मन्यत्रालयको सहयोग रह्ने उनले प्रतिबद्धता व्यक्त गरे। 
प्रादेशिक अस्पतालको रुपमा प्रभावकारी सेवा दिँदै अघि बढेको हुनाले स्तरोन्नति गर्दै १५० बेड बनाउने निर्णय भइसकेको उनले प्रष्टाए । उनका अनुसार स्तरोन्नति अन्तर्गत हालमा कर्मचारी व्यवस्थापनको काम भइरहेको छ। स्थानीय सरकारले प्रवद्र्धनात्मक भुमिका निर्वाह गरियो भने प्रादेशिक अस्पताललाई उपचारात्मक भुमिका निर्वाह गर्न अझ सहज हुने उनको दाबी छ।
स्वास्थ्य जाँच प्रयोगशाला, पिसियार प्रयोगशालासँगै अन्य जाँचका प्रयोगशाला व्यस्थित गर्दै अघि बढेको कुरा राम्रो पक्ष भएको प्रदेश जन स्वास्थ्य प्रयोगशाला मधेश प्रदेशका निर्देशक श्रवण कुमार मिश्रले बताए। प्रादेशिक अस्पतालहरुले के कस्तो गरिरहेको छ भन्ने कुरालाई जाँच नियमित रुपमा अनुगमन गर्ने गरिएको उनले बताए।
अनुगमन गर्दा समग्रमा प्रादेशिक अस्पताल सिरहाको अस्थामा सन्तोषजनक रहेको उनले बताए। केही समान्य सुधारात्मक कुराको सुझाव दिएको र आउने दिनमा सुधार हुने उनको दाबी छ। आउने दिनमा प्रयोगशालाहरुलाई थप व्यवस्थापन गर्न प्रादेशिक अस्पताल सिरहाको सहयोग गरिने उनले प्रतिबद्धता जनाए।
मन्त्रालय, विभाग र विभिन्न समयमा हुने अनुगमन समितिको सुझाव नै अस्पतालको अवस्था सुधारको मुख्य आधार रहेको कुरालाई आत्सात गर्दै अघि बढ्दा प्रादेशिक अस्पताल सिरहाले राम्रो स्थान हासिल गर्न सफल भएको प्रमुख डा. नागेन्द्र प्रसाद यादवले बताए। उनका अनुसार आउने दिनमा पनि सोही कुरालाई अंगाल्दै अघि बढ्नुपर्ने हुन्छ।
उक्त अनुगमन टोलीमा सबनम महतो, अशोक सिंह, डाक्टर अभिनाश पूर्वे, ई. विकाश शाह, मनिष यादव, सुमित यादव, अमित मुखिया रहेको थियो। थप सेवा प्रवाह र अस्पतालको भौतिक विकासमा सरोकारवाला निकायसँग समन्वयकारी भुमिकालाई प्रभावकारी बनाउन अनुगमनकर्ताहरुले अस्पताल संचालन तथा व्यवस्थापन समितिसँग आग्रह गरे।



                    
                            
                                                            


        
        
        















