- कृष्णप्रसाद पौडेल
वर्षायाम सुरु भएसँगै मनमस्तिष्कमा खेतीको बास्ना हरहराउन थाल्छ । यो हाम्रो भूगोलको खानाको बन्दोबस्त गर्ने सबैभन्दा महत्त्वपूर्ण समय हो । यो मौसम सुरु भएसँगै आकाशमा मडारिने कालो मनसुनी बादल, सँगै चम्किने बिजुली र यसको केही बेरपछि कानको जाली नै फुट्लाजस्तो गरी आउने आवाजले दिने खेतीको सन्देश सामाजिक उद्यमी किसानहरूले मात्र बुझ्न सक्छन् ।
वर्षाको पहिलो दर्कोसँगै बलेनीदेखि खहरे खोल्सा हुदै कुलापानीको बन्दोबस्तसम्मको रौनक यसको पहिलो बास्ना हो । भ्यागुताको ट्यारट्यारसँगै गड्यौला र अन्य कीराफटेंग्रा बोकेका कमिलाको ताँती दुलहादुलही बोकेर फर्किंदै गरेको जन्तीजस्तै लाग्छ ।
कहिले घामपानी त कहिले सिमसिम त कहिले बिजुलीसँगै दर्कने पानी वर्षभरिको जीवन ऊर्जाको बन्दोबस्त गर्ने जीवनधारा हो । खेतमा लगाइएको मकै भाँच्ने, स्याखु ओढेर बीउ काढ्ने, बोक्ने र रोप्ने खेतारीस छेउकुना मिलाउने बाउसेस जोत्ने गोरुसँगै छतरी ओढेर नारिएका हलीस छाता ओढेर टुक्रुक्क बसेका हजुरबा र नाति वा नातिनी बोकेर अर्थ्याउने हजुरआमा — सबै आफ्नै कर्ममा तल्लीन छन् यो बेला ।
हलोले उधिनेका गड्यौला र किथिर्को टिप्न भ्याई–नभ्याई गरिरहेका काग, डांग्रे र चिबेले खेतीमा छुट्टै बास्ना थपेका हुन्छन् । कुलोको पानीमा तरेली परेका भ्यागुताका फुलको लहरा, चेपागाँडाहरूको बथान र हिलो सम्याउँदा झारसँगै गुजुल्टो परेका गड्यौलाले खेतीको प्राकृतिक मर्मको बास्ना छरेका हुन्छन् । कामको चटारोकै बीचमा आउने पोलेको वा उसिनेको मकै, सेल रोटी र पुवाजस्ता खाजाको बास्ना सम्झिँदा मात्र पनि अहिले नै खाएझैं हुन्छ ।
वर्षायाममा खेतबारीमा आउने माटाको बास्ना बहुरूपी हुन्छ । खेतीका सारथि साना जीवसँगै बालीनालीलाई पोषण पुर्याउन हालिने तीतेपाती, असुरो, खिर्रोजस्ता औषधिजन्य वनस्पतिको बास्ना हरहराउँछ । झरीसँगै झ्याउँझ्याउँ गर्ने झ्याउँकिरी र रात छिप्पिएसँगैको जूनकिरी दिनभरिको थकाइ बिर्साउन पर्याप्त छन् ।
पहाडका बारीका सुर्कामा मकैभित्र रोपिने कोदो होस् या टारमा लगाइने मास वा तराईका फाँटको धान रोपाइँ या हिमाली भेगको कोदो र कागुनो, यी सबैको आआफ्नै बास्ना छ । खेतीका सारथि याक–चौंरी, गाई–भैंसी, गोरुगाडाको मात्र हैन, बर्सेनि गोठमा ब्याउने गाई–भैंसीको बिगौती, नौनी र कुराउनीको बास्नासमेत सबैतिर छ । पाडा, बाच्छा, पाठापाठी र बछेडाको बुर्कुसी सम्झेर आफैंमा नहराउने को होला ?
तर, खेतीपातीको यो बास्ना अब एकादेशको कथा भएको छ । प्रकृतिको रैथाने लय र बास्ना बिर्सेको खेतीकर्मले छाना, नाना र खानाको बन्दोबस्त बास्नाहीन मात्र बनाएको छैन, विकासे दुर्गन्धले खाद्यान्न खानसमेत अयोग्य बन्दै गएको छ । प्रदूषित वायु, पानी र माटाले जैविक विविधता विघटनसँगै जलवायुमा व्यापक फेरबदल आएको छ । पानी पर्ने मौसमी पात्रो फेरिएको छ । प्रचण्ड गर्मी छ, माटाको बास्ना आउने गरी पानी पर्न छोडेको छ । पहाडका मूलहरू सुकेका छन् । खहरे, खोला र इनारमा पानी हराउँदै गएको छ । मुहान सुकेसँगै कुलापानीको बन्दोबस्त गर्नै नपर्ने भएको छ ।
बलेनीको पानी र खहरेको गडगडाहटको अहिले कुनै बास्ना छैन । खहरेले बोकेर ल्याउने अम्ल, प्लास्टिक, गेगर र बालुवाले गर्दा माटो प्राणहीन भैरहेको छ । यसमा जीवनको कुनै बास्ना छैन । माटामा अम्ल र रसायनको दुर्गन्ध मात्र छ । खेतबारीमा न भ्यागुताको ट्यारट्यार छ न छ जूनकिरीको धिपधिप । अहिले गड्यौला र अन्य कीराफटेंग्राको बास्ना होइन, रसायन र विषादीको हस्को छ । ट्याक्टरले धूवाँको मुस्लो फाल्दै जोतेको खेतमा न कीरा खोज्ने चरा छन् न त छन् गाईगोरु र तिनको मलमूत्र ।
कहाँ गए गड्यौला, भ्यागुता र गाइने कीरा रु कहाँ गए कान्लाका माकुराका जालो र बारुला रु कहाँ हरायो रैथाने खाजाको बास्ना रु अहिले सबैतिर चाउचाउ र बिस्कुटजस्ता पत्रु खानाको राज छ । झ्याउँकिरी र जूनकिरीको बास्ना मोबाइलको ट्याइँट्याइँ र पिलिकपिलिकले खोसेको छ । अहिले रैथाने खाना र खाजा, मोही पार्ने ठेकी बसाउँदैन न त बसाउँछ रैथाने जाँडको घैंटो । पाडा, बाच्छा, पाठापाठी र बछेडाको बुर्कुसी हैन, टम र जेरीको लुकामारी हेरेर रमाउँछ हुर्किंदै गरेको पुस्ता । आँखै लोभ्याउने कर्याङकुरुङ र मलेवा, आकाशमा रूखै उडेझैं गरी उड्ने सुगा, र धानखेतभरि उडिरहने रंगीचंगी गाइनेकीरा कता गए होलान् रु अब यिनको बास्ना पाका मानिसको सम्झना र हजुरआमाका कथाहरूमा मात्र सीमित छ ।
अहिलेको असारको रौनक र रन्को एउटै छैन । यस वर्षको असार पन्ध्रको चटारो हाम्रो खानाको बन्दोबस्त गर्ने सामाजिक उद्यमी किसानहरूलाई मात्र भएन, दशकौंदेखि असारे विकासमा रमाएका नेता, कार्यकर्ता र तिनका सहयोगी सबैले यो वर्ष पनि धुमधामसँग धान दिवस मनाए । यिनको मात्र के कुरा, वरिष्ठ कर्मचारीदेखि कर्मकाण्डी किसान, खेती सपार्न भन्दै कुराको मात्र खेती गरेर गुजारा चलाउने विकासे, सेल्फी र टिकटकमा रमाउने साना–ठूला कलाकार सबै हिलो खेलेर रौसिए । विडम्बना, खानाको बन्दोबस्तमा रातोदिन खट्ने किसानहरूले भने पर्याप्त पानी, उन्नत बीउ, मल र खेती लगाउन चाहिने श्रम र स्रोतको अभावको पिरलोमै असार पन्ध्रको दिन कटाए ।
यही मेसो पारेर मन्त्री र नेताहरूले किसानले सहजै मल, बीउ र सेवा पाउने बखान गरे । यिनै बखानका भर परेर किसानहरूले मल पाउने आशामा कृषि र सहकारी कार्यालय धाइरहे, तर रित्तो हात फर्किन बाध्य भए । अर्कातर्फ, बिचौलिया र दलालले मिलेमतोमा रातारात मलका मलका बोरा घिसारे र देशी–विदेशी कालो बजारमा बेच्नसमेत सफल भए । यो सबै थाहा पाएका तर गर्न केही नसक्ने निरीह जनप्रतिनिधि र कनिष्ठ कर्मचारीले किसानका गुनासा र खप्की सुन्दै लाज पचाए ।
यो तीतो यथार्थ देशैभरिका पत्रपत्रिका र घन्केका मोबाइल, रेडियो र टीभीमा छ्यापछ्याप्ती भए । खास गरी, असारमा धान रोप्ने बेला यस्ता समाचार बर्सेनि हेर्न र सुन्न पाइन्छन् । धान दिवसका यस्ता तामझामसँगै किसानहरू भने समयमा पानी नपरेर, मल र बीउ र खेतीपातीका लागि चाहिने अन्य स्रोत र साधन जुटाउन नसकेर सधैं पिरोलिन बाध्य छन् । यो वर्षौंदेखि दोहोरिँदै आएको नियति हो । विडम्बना, जतिजति क्यामरा र मोबाइल बोकेर तामझामसँग हिलोमा पस्ने जमात थपिँदै गएको छ, त्यतित्यति खेतीपाती छोड्ने र सहर हुँदै बिदेसिने क्रम निरन्तर बढिरहेको छ । यस्तो साइनोको मुख्य जड भने निकम्मा र अक्षम नेतृत्वको राजनीतिक र स्थायी सरकारको अकर्मण्यता हो ।
यस्तो किन भयो रु यसले गर्दा भविष्यको खानाको बन्दोबस्त के हुन्छ रु हामी सबैको चासो छ । सबैलाई थाहा छ, आधुनिक र विकासे हुने होडसँगै अहिले खाना, खेतीपाती, आपसी लेनदेन, सहकारिता लगायत सामाजिक जीवन पद्धतिका सबै परम्परागत धरोहर भत्किएका छन् । सारांशमा, हामीले यस्तो बाटो किन समात्यौं भनेर बुझ्न महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘प्रश्नोत्तर’ कविताका यी दुई हरफको मर्म सम्झे पुग्छ—
के हो ठूलो जगत्मा रु पसिना विवेक
उद्देश्य के लिनु रु उडी छुनु चन्द्र एक ।
देवकोटाले भनेको पसिना र विवेकको महत्त्व बिर्सेर चन्द्रमा छुने मात्र दिवास्वप्नसँगै खेतीपातीको बास्ना र यसका सारथिहरूको पनि रूपरंग फेरिएको छ ।
केही दशकअघिसम्म हाम्रो आफ्नै अजम्बरी खेतीपातीको प्रणाली थियो । पुर्खाको सम्झनास्वरूप यसको अब केही बास्ना मात्र बाँकी छ । खाना र खेतीपातीको उत्पादन र उपभोगमा रहेका समाज व्यवस्थाका विभेदपूर्ण पक्षलाइ हटाउँदै प्रकृतिसम्मत र विविधतापूर्ण यस्तो खेतीपाती संस्कृतिलाइ उन्नत बनाउनुको साटो विकासे खेती भित्र्याउने नाममा अरूकै नक्कल गर्ने सिको गरेसँगै यो प्रणाली भत्केको हो । यस्तो खेती प्रणालीको सबल पक्षलाई उन्नत बनाउने सोच पुगेको भए बहुसंख्यक किसान रहेको कृषिप्रधान देशले आयातित र विषाक्त खाना र खेतीपातीको यो दुर्दशा देख्नु र भोग्नुपर्ने थिएन ।
यसरी हेर्दा हाम्रो खेतीपाती उन्नत बनाउने कर्ममा ठूलै फेर परेको छ । आधुनिक विकास नेपाली समाजमा भित्रिएसँगै यी र यस्ता खेतीपातीको बास्ना र यिनका सबै सारथि हराएका हुन् । यस्तो बास्ना किन हरायो भनेर फर्केर हेर्ने र सम्भव सबै सच्याउने विवेक फर्किएन भने हाम्रो अकर्मण्यताले प्रकृतिमा आएको ठूलो उथलपुथलको आँधीबेहरी सम्हाल्न भावी पुस्तालाई ठूलो सकस हुने पुष्टि भैरहेको छ । फेरिएको प्रकृति, प्रविधि र प्रवृत्तिलाई आत्मसात् गर्दै प्रकृतिसम्मत खेतीपातीलाई उन्नत बनाउनुको विकल्प छैन । हामीले जति चाँडो यो कुरा आत्मसात् गरेर बाटो फेर्छौं, हाम्रो उन्नतिको ढोका उति छिटो खुल्छ । यसमा द्विविधा छैन ।
अन्त्यमा, खेतीपातीको बास्ना कति फर्काउन सकिएला रु यसै भन्न नसकिएला तर यस्तो बास्नाको मर्म बुझ्ने विवेक फर्काउन सकेनौं भने हाम्रो खेतीपातीले बिराएको बाटो फेला पार्न कठिन छ । यो कुरा आत्मसात् गर्न मानवसम्मत विवेक चाहिन्छ । यन्त्रमानवको मति र भौतिक विकासको गतिका भरमा मात्र समृद्धि र सुख फलाउने सपना बोकेको जमातलाई हाम्रो नियति सम्हाल्ने जिम्मा लगाएर यस्तो विवेकको मर्म कहिले र कसरी फर्केला खै रु तसर्थ आउनुहोस्, हाम्रो खेतीपातीको बास्ना फर्काउने आँट गरौं । केही फरक पर्छ कि ?
कान्तिपुरबाट।