लाहान, २६ असार। अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास कार्यालयबाट खटिएको टोलीले सडक डिभिजन कार्यालय, लहानका लेखा अधिकृतलाई सेवाग्राहिसँग एक लाख रुपैयाँ घुस रकमसहित पक्राउ गरेको छ।

CHOHARWA school

सडक निर्माण कार्यको अन्तिम बिल भुक्तानी दिने प्रयोजनका लागि सेवाग्राहिसँग एक लाख रुपैयाँ घुस लिएको भन्दै लेखा अधिकृत पदमविनोद पोखरेललाई पक्राउ गरेको हो।

उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

पोखरेल भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सडक विभाग संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय दमकअन्तर्गत सडक डिभिजन लहानका लेखा अधिकृत हुन्।

क्वार्टरबाट नियन्त्रणमा लिएपछि अख्तियार टोलीलाई नजिकै रहेको अर्को भवनमा पुर्‍याई जनप्रतिनिधि, निर्माण व्यवसायीहरूको रोहवरमा सर्जमिन मुचुल्का उठाएर साँझ साढे ७ बजेतिर बर्दिवास लगिएको छ।

अख्तियार टोलीले भवनभित्र मुचुल्का उठाइरहँदा कार्यालयको मुख्य गेटबाहिर केही निर्माण व्यवसायीहरूले लेखा अधिकृत पोखरेललाई नियोजित रूपमा फसाइएको भन्दै नाराबाजी गरेका थिए।