- सोमत घिमिरे
हाम्रो विकासको प्रक्रिया र केही प्रश्न
राज्यले औपचारिक रूपमा २००७ सालदेखि विकासे रथलाई अगाडि बढायो । त्योभन्दा पहिले विकास सामुदायिक मामिला थियो । बाटाघाटा, पुलपुलेसा, कुलो सामुदायिक स्तरबाट बन्थे । जब राज्यले विकास प्रक्रियालाई सबैभन्दा पहिले भौतिक पूर्वाधारकेन्द्रित गरी अगाडि बढायो, बाटो कालोपत्र गर्नु, विमानस्थलहरू बनाउनु, सिमेन्ट लगाएका घरहरू बनाउनु विकासको पर्यायजस्ता बने ।
औद्योगिक उत्पादनहरू गाउँसम्म पुर्याउनु अथवा चीजबीजकेन्द्रित विकासको प्रक्रिया पनि हामीले सँगै लिएर हिँड्यौं । सँगै आर्थिक उन्नतिलाई एक मात्र विकास पनि भनियो । विकासमा अर्थशास्त्रीय चिन्तन हावी भयो । प्रतिव्यक्ति आय विकासको अर्को सूचक बन्यो । प्रतिव्यक्ति आयको सिद्धान्त औसतबाट निकालिने हुँदा गरिबहरूलाई ठगठाग गर्न सजिलो छ । एक ढंगले विकास प्रभुत्ववादी भयो । हामीले विकास त गर्यौं, तर विकाससँगै खाद्यान्नको आयात बढ्यो ।
मधेशमा भौतिक पूर्वाधार र औद्योगिक वस्तुहरू उपलब्ध छन्, बजार छ, तर किन सबैभन्दा गरिब मधेशी दलित आडैमा छन् रु विकासको प्रक्रिया त अगाडि बढ्यो तर सँगसँगै किन वर्गीय असन्तुलन बढ्यो रु अहिलेको विकासको प्रक्रियाले एकरूपतालाई जोड दिइरहेको छ । उत्पादनमा एकरूपता, खानामा एकरूपता, वेशभूषामा एकरूपता, संस्कृतिमा एकरूपता, अर्थतन्त्रीय रूपमा एकरूपता । के विकास गर्नु भनेको सबैलाई एउटै साँचोमा ढाल्नु हो रु कोकको फ्याक्ट्रीले उही स्वादको कोक निकालेजस्तो के हाम्रो राज्यले सबै चीज एउटै बनाउने हो रु यस्ता प्रश्नहरूमा हामीले छलफल गरेनौं ।
प्राकृतिक स्रोत र विकासले गरेको बहिष्करण
भौतिक पूर्वाधार, आर्थिक विकास, औद्योगिक वस्तुको उपलब्धताको विकासले सबैभन्दा बहिष्करण गरेको विषय प्राकृतिक स्रोत हो । मानिसलाई प्रकृतिकै एउटा भागका रूपमा नहेरी विकास प्रक्रियाले प्रकृतिमाथि दोहन गर्यो । आज पनि खानेपानीको मुहान बिगारेर बाटो बनाइएकै छ । चौतारो भत्काएर सानदार रूपमा कालोपत्र गरिएकै छ । हाम्रा सिमसारहरू कमजोर अवस्थामा पुगिसके । अर्थात्, प्राकृतिक स्रोतको दोहोन गरेर विकास प्रक्रिया अगाडि बढेको छ । प्रकृतिमाथि मानिसको सर्वोच्चता कायम गर्न खोजिएको छ । तत्काल यस्तो विकासले केही सुखसुविधा दिए पनि भविष्यमा हामीले हाम्रा सन्ततिहरूलाई कस्तो धर्ती बुझाउने हो रु भोलिकस्तो जीवनयापन गर्ने हो रु प्रकृतिलाई हामीले एउटा जीवित प्रणालीका रूपमा हेर्नै सकेनौं ।
सहरमा बसाइँसराइको ठूलो आकर्षण छ, तर सास फेर्ने हावा छैन । खाइरहेका वस्तुहरू छुन हुने हुन् कि होइनन् रु ती खाना हुन् कि विष रु प्रश्नै छ । पिउने पानी नुहाउनलायक छ कि छैन रु सन्देह छ । तर पनि मानिसहरू सहरमा बसाइँ सार्न लालायित छन् । अब हाम्रो विकास र प्रकृतिसँगको सम्बन्धलाई पुनर्परिभाषित गर्नुपरेको छ ।
अब चर्को स्वरले भन्नुपरेको छ— अब हामीले विकास प्रक्रियालाई अगाडि बढाउँदा प्राकृतिक स्रोतको नष्ट गर्नेछैनौंस प्राकृतिक स्रोतको संरक्षण गर्ने गरी विकासको प्रक्रियालाई अगाडि बढाउनेछौं । प्रकृति र मानिसको सहयात्रा र सहअस्तित्वले मात्रै वास्तविक, दिगो र जनमुखी विकासको प्रक्रियालाई अगाडि बढाउँछ । यसै त बसाइँसराइको चपेटा छ, त्यहाँमाथि प्राकृतिक स्रोतको विनाशले बसाइँसराइलाई झन् तीव्रता दिन्छ । प्रकृतिको अथाह शोषणले आज हामी बाढी–पहिरोजस्ता विपत्तिहरूको मारमा छौं र यही प्रक्रिया अगाडि बढाउने हो भने नेपालका अगाडि ठूलो चुनौती छ । जहाँ बाटो खन्यो, त्यहाँ पहिरो आइहाल्ने अहिलेको हाम्रो चुनौतीलाई चिर्नु छ ।
बसाइँसराइ र विकाससँग जोडिएको मानवीय अप्ठेरो
बसाइँसराइका कारण गाउँमा बाँझो जग्गा बढेकामा हामीले ओठे चिन्ता व्यक्त गरेका छौं । ओठे किन भने, भन्न थालेका छौं— हामीले कार्यक्रमिक हिसाबले अझै बेवास्ता गरेका छौं । गाउँबाट बसाइँ सरेर मान्छे सहर पस्नु भनेको आफ्नो सम्पत्तिबाट बेदखल हुनु पनि हो । हिजो त्यही सम्पत्तिले दस जनाको परिवार पालिन्थ्यो । आज त्यही मान्छे आज आधा पेट खाई नक्कली हाँसो हाँसेर हिँडेको छ । सम्पत्तिबाट बेदखल हुनु भनेको प्रत्यक्ष उत्पादनबाट टाढिनु हो । जब मानिस प्रत्यक्ष उत्पादनबाट टाढिन्छ, ऊसँग भएको उत्पादनको सीप नष्ट हुन्छ । परनिर्भता बढ्छ । उत्पादनको मात्र सीप होइन, नेपाली सन्दर्भमा त उत्पादकसँग धेरथोर व्यापारिक कौशलसमेत हुन्थ्यो ।
कर्णालीको अध्ययन गर्दा धेरैले भने— जब तिब्बतसँगको सम्बन्ध तोडियो, हाम्रो व्यापारिक कौशल पनि टुट्यो । जब काठमाडौंको शासन आइपुग्यो,। उत्पादन घट्यो । त्यहीँबाट कर्णालीको आत्मसम्मान र पहिचान एकै चोटि टुट्यो । जब मानिस सम्पत्तिबाट बेदखल हुन्छ, उत्पादनबाट टाढिन्छ, स्थानीय सीपहरूबाट टाढिन्छ, ऊ सहरमा सस्तो मजदुरीका लागि मात्रै योग्य हुन्छ । जस्तो— अहिले काठमाडौंमा अत्यन्त सस्तो ज्यालामा काम गर्ने मानिसहरू हामीले पाएका छौं । अझ हाम्रो सन्दर्भमा त सस्तोमा पनि हाम्रा सहरहरूले मानिस टिकाउन सकेनन् ।
परिणामस्वरूप खाडी मुलुकले सस्तोमा कामदार पाएको छ । अबको हाम्रो विकास प्रक्रियाले युवाहरूलाई गाउँमा कसरी टिकाउने भनी सोच्न जरुरी छ । बसाइँसराइका कारण हाम्रो सांस्कृतिक विविधता गुम्दै छ । पूर्वी पहाडको एउटा राई इटहरीमा बसाइँ सर्यो भने आफ्नो संस्कृतिमा उभिन सक्दैन । उसले नयाँ अर्थ प्रणालीमा बलजफ्ती जोडिनुपर्छ । सामाजिक सम्बन्ध कमजोर हुन्छ । आफ्नो ठाउँमा भन्दा राजनीतिक पहुँच कम हुन्छ । बसाइँ सर्नु भनेको आर्थिक, राजनीतिक, सांस्कृतिक र सामाजिक सीमान्तीकरणमा जानु हो । गाउँमा बाटो लगेर मात्रै भएन, विद्यालय भवनमा सिमेन्ट लगाएर मात्रै भएन, गाउँमा चमल र चाउचाउ लगेर मात्रै पनि भएन, गाउँमा सञ्चार सुविधा पुर्याएर पनि भएन, किनभने गाउँमा युवा टिकेनन् ।
यो सबै हाम्रै आँखा अगाडि छ । एउटा मान्यतामा भने हामीे स्पष्ट हुनुपर्छ— गाउँलाई विकसित बनाउनु भनेको सहर बनाउनु होइन । ग्रामीण विकास, सहरी विकासको हामीसँग मौलिक र सन्दर्भमा उभिएको विकास मोडल चाहिएको छ । हामीले विकासे ज्ञान र मोडलहरू हाकाहाकी आयात गर्दाका परिणाम हुन् यी । अहिलेको विकास प्रक्रियाले सहर बस्ने र गाउँ बस्नेबीच धेरै असमानता बढायो । गाउँमा बस्नु असभ्यताजस्तो भयो । गाउँमा मानिसहरू हीनताबोधको सिकार भएर बसेका छन् ।
ज्ञान आयात, मोडल आयात, प्रविधि आयात १ अझ अगाडि बढेर नेताहरूले भने— नेपाललाई सिंगापुर बनाउने, स्विटजरल्यान्ड बनाउने । यो आयातित मान्यता हो । हामीसँग आफ्नै विविध प्रविधि थिए । ती प्रविधिको संरक्षण र प्रवर्द्धन गर्ने, आफ्नो सन्दर्भमा तिनलाई अझ फराकिलो बनाउने, विकास गर्ने बाटै लिएनौं । फलस्वरूप आज दलित समुदाय पीँधमा पुग्यो । दलितसँग भएको सीप हामीले बुझ्नै सकेनौं । अहिलेको विकासले छुवाछुत हटाउन सकेन ।
अहिलेको विकासले महिला र पुरुषको विभेदको अन्त्य गर्न सकेन । अहिलेको विकासले जनजातिहरूको आत्मसम्मान र पहिचानलाई स्थापित गर्न सकेन । अबको विकासको लक्ष्य यस्ता विभेद हटाउने हुनुपर्छ । यस्ता विभेद कायम रहुन्जेल दलित, महिला र जनजातिले विकासको अनुभूति नै गर्न सक्दैनन् । जनजातिसँग भएका अनेकौं सीप र प्रविधिलाई हामीले देख्न सकेनौं, स्विकार्न सकेनौं, अगाडि बढाउन सकेनौं । उल्टो दलित साना जाति भनेर हेपियो, जनजातिलाई मतवाली भनेर आरोपित गरियो । अब हामीले विकासको पुनर्परिभाषा गर्दा हाम्रा मौलिक सीप र प्रविधिको संरक्षण र प्रवर्द्धनको मौलिक बाटो लिनुपर्छ ।
विकास र विविधता
हामी हाम्रो देशलाई बहुभाषिक र बहुसांस्कृतिक भन्न पनि नछुटाउने, विकासको बाटो भने एकल संस्कृतिको लिने — ठूलो अन्तरविरोध छ । अब दुई खाले विविधतालाई स्वीकार गरी हाम्रो बाटो अगाडि बढाउनुपर्छ । एउटा त पर्यावरणीय विविधता । पर्यावरणअनुकूल उत्पादन प्रणाली हुन्छ । पर्यावरण अनुसार खाद्य संस्कृति हुन्छ । पर्यावरण अनुसार वेशभूषा हुन्छ । अहिले हाम्रो ढाँचाढंग त एउटै रणनीतिको छ, उपल्लो डोल्पा र चितवनको गीतानगरलाई गरिने विकास एउटै छ । हिमाल, पहाड र तराईको विकासमा एउटै चक्कीको प्रयोग हुन्छ । अझ गज्जब त, सबै राजनीतिक दलको विकासको चक्की एउटै छ ।
जुन सरकार आए पनि त्यही चक्की प्रयोग गर्छ । पर्यावरणमैत्री विकास भन्नुको अर्थ कस्तो भौतिक पूर्वाधार, कस्तो भवन, कस्तो सहर, कस्तो उत्पादन रु सबै जोडिएर आउँछ । विकास भन्नाले स्थानीय उत्पादनको बढोत्तरी बुझ्नुपर्छ । दाल र तेल ९० प्रतिशतभन्दा बढी आयात गरेर, चामल ५० प्रतिशतभन्दा बढी आयात गरेर, हाम्रा किसानहरूले उत्पादन गरेको गोलभेंडा सडकमा फाल्न विवश बनाएर भारतबाट गोलभेंडा ल्याउने पद्धति नतोडी हामीले विकासको बाटो पहिल्याउनै सक्दैनौं । पर्यावरणमैत्री विकासको अर्थ उत्पादनको विविधता हो । हामी हावा, पानी, माटोमाथि बलजफ्ती गर्न सक्दैनौं । अब पर्यावरणमा आधारित भएर उत्पादन बढाउनु, स्थानीय उत्पादनलाई प्रशोधन र औद्योगिकीकरणमार्फत रोजगारी सृजना गर्दै स्थानीय अर्थतन्त्रको सबलीकरण गर्नु विकास हो । स्थानीय अर्थतन्त्रको जगमा राष्ट्रिय अर्थतन्त्रको निर्माण हुन्छ । अब हाम्रो विकासको बाटो स्थानीयता हो ।
विकासको एउटा ठूलो पक्ष पर्यावरण हो । पर्यावरणसँगै सांस्कृतिक विविधतालाई संरक्षण र संवर्द्धन गर्नु अर्को बाटो हो । सांस्कृतिक विविधता भनेको भाषाभाषी र खाना मात्रै होइनस प्रत्येक समुदायका आफ्ना सामुदायिक उत्पादन पद्धतिहरू छन्, त्यस्ता उत्पादन पद्धतिको पहिचान गर्नु हो । उत्पादन भनेको प्राविधिक कुरा मात्रै होइन, यो सांस्कृतिक विषय पनि हो । कृषि उत्पादनमा सांस्कृतिक पक्ष छ । माटो र हावापानी अनुसार संस्कृतिको विकास हुँदै जान्छ । रामेछापको उमाकुण्डमा मैले स्थानीय उत्पादन पद्धतिमा गरेको अध्ययनमा एउटा तथ्य फेला पर्यो । त्यहाँ चौंरीको संख्या ९० प्रतिशतले घट्यो । अरू उत्पादन पनि घटेका छन्, ५०–६० प्रतिशत हाराहारीमा । किन यसरी चौंरी घटे रु शेर्पासँगको छलफलमा हामीले प्रश्न गर्यौं । शेर्पाको जवाफ बेजोड थियो— सरकारले शेर्पालाई जसरी हेला गर्छ, त्यसै गरी चौंरीलाई पनि हेला गर्यो । हाम्रोजस्तो बहुसांस्कृतिक देशमा हायुको उत्पादन रुचि के हो रु नेवारहरूको रैथाने ज्ञान र उत्पादनको रुचि के हो रु
मगर, गुरुङ, तामाङहरूको रुचिको विश्लेषण नै नगरीस उत्पादन पद्धतिको अध्ययन नै नगरी सरकारी संयन्त्रले एकै प्रकारका मूल्य र मान्यतामा आधारित कार्यक्रम लागू गर्यो, जसले गर्दा सामुदायिक ज्ञान, सीप, प्रविधि, उत्पादन प्रणाली, सामुदायिक पहिचान, सामुदायिक अर्थतन्त्र एकै चोटि धरापमा परे । केन्द्रीयताको जाँतोमा पिसिए । त्यही भएर हामीले संघीयताबारे छलफल गर्यौं ।
संघीयता त आएजस्तो भयो तर यस्तो विविधतालाई पहिचान र स्वीकार गर्ने, ठाउँविशेषको मौलिक विकासका लागि विकेन्द्रित मोडल अंगीकार गर्ने मान्यता भने आउन सकेन । अर्थात्, प्रकृति र संस्कृतिमा आधारित विकास प्रक्रियालाई संघीयताले अगाडि बढाउन सकेन । अब यो संघीयतालाई विविधतासँग साक्षात्कार गराउन बाँकी छ । अब हाम्रो प्राथमिकताको काम यही हुनुपर्छ ।
विकास र रैथाने ज्ञान
आयातित ज्ञानको परिणामबारे माथि चर्चा गरियो । त्यसो हो भने अब हाम्रो ज्ञानको स्रोत के हो रु अब हामी १८० डिग्रिको फन्को मारेर रैथाने ज्ञानमा फर्किनु छ । कृषि विकासका लागि कस्तो मान्यता रु सिँचाइका लागि कस्तो शिक्षा रु हाम्रो आवश्यकतामा आधारित ज्ञानहरू भनेका रैथाने ज्ञान हुन्, जसले समाजमा संघर्ष गर्दै यहाँसम्म ल्याइपुर्याए । ज्ञानको तिर्खा अब औपचारिक ज्ञान मात्रै लिएका, समाजसँग सम्बन्ध र जरो नभएका कथित विज्ञहरूबाट मेट्न हुँदैन ।
हामीले सामाजिक संघर्षका क्रममा प्राप्त गरेको ज्ञानलाई थप वैज्ञानिक बनाउनु, परिपक्व बनाउनु र विकास गर्नु नै हाम्रो बाटो हुनुपर्छ । त्यही भएर जसरी रैथाने खाना स्थापित हुन खोज्दै छ, त्यसरी नै रैथाने ज्ञानलाई पनि स्थापित गर्नुपर्छ । हाम्रो पर्यावरणीय विविधता र सांस्कृतिक विविधताभित्र असंख्य ज्ञान छन् । ती ज्ञानहरूको खोजी गर्न जरुरी छ ।
कान्तिपुरबाट।