नक्कली भुटानी शरणार्थी प्रकरण छानबिनको सीमा कोरिन थालेको प्रतीत हुन्छ । सुनियोजित रूपमा केहीलाई जोगाउने प्रयत्नका कारण अब यो मुद्दाको कानुनी प्राविधिकता सीमित हुनेछ । यो प्रकरणको सबैभन्दा हृदयविदारक र अनपेक्षित दृश्य भुटानी मुक्ति आन्दोलनका नेता टेकनाथ रिजाल स्वयंको गिरफ्तारी हुन पुगेको छ ।

मैले उनलाई एक–दुई पटक भेटेको छु । सिद्धान्तनिष्ठ राजनीतिक आस्था, त्याग र साहस एवं अविचलित संघर्षयुक्त उनको व्यक्तित्व मलाई पनि प्रेरक लाग्थ्यो । उनको अकलुषित अनुहारप्रति श्रद्धा जाग्थ्यो । मलाई सम्झना छ, जब शरणार्थीहरूलाई युरोप, अमेरिका, अस्ट्रेलिया लैजाने योजना बन्यो, उनी भन्थे, ‘अब हाम्रा सिद्धान्त र मुद्दा मेटिने भए ।’ हाम्रो राज्यशक्तिका पनि सीमा थिए, भुटानी शरणार्थीका मुद्दामा हामी न्याय दिन सक्ने अवस्थामा थिएनौं । भारतले भुटानी सत्तालाई नै च्याप्यो । न्यायपूर्ण राजनीतिक समाधानको साटो अन्तर्राष्ट्रिय समुदायले पनि समुन्नत तेस्रो देशमा पुनःस्थापनाको विकल्प रोज्यो । अमेरिका सबैका लागि आकर्षक विकल्प हुने नै भयो । तर नेपालको राज्यसत्ताकै संलग्नतामा मञ्चित नक्कली शरणार्थीमा टेकनाथ रिजालसमेत मुछिने जुन स्थिति आयो, त्यसले हामीलाई नै बढी लज्जित बनाएको छ ।

यो प्रकरणका माध्यमले राज्यसत्ता, सरकार र राजनीतिक दलहरू जसरी संगठित अपराधमा जेलिएका देखिँदै छन्, यसको मुक्ति कानुनको प्राविधिकता र यथास्थितिको राजनीतिमा कल्पना पनि गर्न सकिन्न । यसमा कानुनीसाथै राजनीतिक कारबाही पनि अपेक्षित छ । राजनीतिलाई जोगाउने र जनविश्वास कायम राख्ने यही उपाय हो । तर नेपालका दलहरूमा यो खालको राजनीतिक सोच बस्नै सकेन । बरु यसको उल्टो, आरोपित र जनतामा बदनामी कमाएकालाई उम्मेदवार बनाउने, मन्त्री बनाउने प्रतिस्पर्धा देखिन्छ । त्यसैले त संसद्मा फरार अभियुक्त, अदालतबाट अपराधी भनेर सजाय तोकिएका सदस्यहरूको संख्या बढ्दो छ । पार्टीको नेतृत्व गर्ने अध्यक्ष/सभापतिहरू उनीहरूको प्रतिरक्षामा भाषण दिन्छन्, चोख्याउन दौडधूप गर्छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा देखिएको राजनीतिक संलग्नता र गिरफ्तारीको कम्प थेग्ने सामर्थ्य ठूला भनिएका दलहरूमा छैन । नेपाली कांग्रेसको निरीहताले त्यो पुष्टि गर्छ । कानुन र अदालतबाट अपराध पुष्टि भइसकेपछि अपराधीले सजाय भोग्ने हो, त्यस बेला पार्टीले जिम्मेवारीबाट हटाउनु कानुनी बाध्यता हुनेछ । यो त कानुनी व्यवस्थाको सामान्य सिद्धान्त हो, राजनीतिक कारबाही होइन । बालकृष्ण खाँडलाई निलम्बन वा निष्कासन नै गरे पनि न कांग्रेसको छवि शुद्धिने स्थिति छ, न सच्चिने नै । जुन कुलतबाट अहिले राजनीति विकृत भएको छ, बालकृष्ण नभएर के हुन्छ र अरू कुनै न कुनै आइहाल्छन् नि ! कांग्रेस मात्र होइन, एमाले र माओवादीको हालत पनि उस्तै हो । नक्कली शरणार्थीको जन्म केपी ओलीको सरकार छँदा गृह मन्त्रालयमा भयो, गृहमन्त्री थिए रामबहादुर थापा बादल । यसका सूत्रधार बने टोपबहादुर रायमाझी । बादल र रायमाझीको राजनीतिक हैसियत माओवादी छँदै बनेको हो । यस प्रकरणको जन्म हुँदा एमाले र माओवादीको एकताबाट बनेको नेकपाको सत्ता थियो । ओली र प्रचण्ड यसका सहअध्यक्ष थिए । यो उत्कर्षमा पुग्दा शेरबहादुर देउवा प्रधानमन्त्री थिए, बालकृष्ण खाँड गृहमन्त्री । यसमा आरोपितले कसको नाम लिए, कसको लिएनन् भनेर कसैले आफू चोखो छु भन्ने नाटक नगरे हुन्छ । राजनीतिक जिम्मेवारी र नैतिकताको कुरा पनि आउँछ । यो प्रकरणका राजनीतिक नायक ओली र देउवा नै हुन् । उनीहरूको नेतृत्व मञ्चनमा केको सुधार हुने, के कुरा सच्चिने ?

लेखको शीर्षक कांग्रेसजनको मनमा ठेस लाग्ने, कठोर एवं विस्मयकारी पनि लाग्न सक्छ । मसँग यो भन्नुको विकल्प पनि छैन । तर मेरो आशय कांग्रेसलाई राजनीतिबाटै मेटिदिऔं भन्ने होइन । त्यसैले यहाँ केही व्याख्या अपेक्षित हुन्छ । सरकारी छानबिन र अदालती प्रक्रियाबाट खूब भएछ भने केही हाँगाबिँगा छिमल्ने काम होला, तर राजनीतिक दलहरूमा जरा गाडेको यस्तो अपराध धन्दाको समाधान राजनीतिमै खोज्नुपर्छ । यस्ता कारबाहीबाट विगतमा पनि कांग्रेसका केही चर्चितहरू भ्रष्टाचारी भनेर अदालतबाट दण्डित भएका थिए । उनीहरूको सुविधाको राजनीति त सकियो, तर त्यसको दुष्प्रभावबाट न कांग्रेस मुक्त भयो न त राजनीति नै सुध्रिन सक्यो ।

भारतमा महात्मा गान्धी आफ्ना कार्यक्रममा विकृति आयो वा त्यसको सम्भावना देखियो भने अनशन बस्थे । त्यस्ता अनशनमा कुनै माग हुँदैनथ्यो । त्यो एक प्रकारले शुद्धीकरणको व्रत थियो । विकार फाल्नका लागि भाँडो र भुँडी पूरै रित्याउनुपर्छ । नयाँ सोच र मानसिकता निर्माण गर्नुपर्छ । त्यसैले विघटन भन्नुको उद्देश्य कांग्रेसले फेरि एक पटक शून्यबाट प्रारम्भ गरोस्, गलत पात्र र प्रवृत्तिलाई स्रोतबाटै पन्छाउन सकोस् भन्ने हो ।

अहिले नेतृत्वका नाममा जेजस्ता गिरोहको कांग्रेसमा रजगज छ, तिनैलाई बोकेर यो सम्भव छैन । स्वर्णिम वाग्ले कांग्रेसबाट बाहिरिन बाध्य भएको घटनाले पनि यो पुष्टि हुन्छ । स्वर्णिमलाई जोगाएर आफूसँग त राख्न सकेन–सकेन, उनलाई उपनिर्वाचनमा हराउन खटिएको कांग्रेसको सिंगो टोलीले पनि लज्जास्पद हार बेहोर्नुपर्‍यो । एमालेको हविगत पनि उही भयो । दुवै पार्टीमा केही युवाहरूका ‘सक्किने कि सच्चिने’ भन्दै निरीह आवाज पनि आए । उपनिर्वाचनको झापटले देउवा, ओली, प्रचण्ड पनि रन्थनिए । नक्कली शरणार्थी प्रकरण र यस्ता अरू काण्डको लहरोमा आफू पनि बेरिने भयले उनीहरू सन्तप्त छन् । बालुवाटारमा रातोदिन जमघट बढ्यो । संवैधानिक परिषद्को बैठक, प्रधानन्यायाधीश नियुक्ति, संसदीय समिति गठनमा ओलीको अड्को खुल्यो । यी घटनाक्रमले राजनीतिक विकृतिको प्रतिरक्षामा उनीहरू अझ सुनियोजित भएर आउने मात्र संकेत गर्छन्, सच्चिने र सुध्रिने होइन । भोगमा लिप्त बूढो दिमाग सच्चिँदैन, पतन हुन्छ ।

त्यसैले कांग्रेसमा जो चोखा बाँकी छन्, जसमाथि समाजले अझै केही आशा जोगाएर राखेको छ, तिनले अब कांग्रेसको रकमी विधानको प्रक्रियामा अलमलिने होइन, त्यसलाई तोडेर निर्णायक कदम चाल्न ढिलो गर्नु हुँदैन भन्ने मेरो अभिप्राय हो । यसका लागि राज्य, राजनीति र राजनीतिक दलका बारेमा पनि हाम्रो सोचमा स्पष्टता चाहिन्छ । राजनीतिक चेतनाको उच्चतम अभिव्यक्ति भनेको अराजकतावादी दर्शन हो । सामान्य चलनचल्तीको भाषामा भनिनेजस्तो यो अराजक वा मनपरी गरे हुने कुरा होइन । एउटा सचेत, सभ्य र शिष्ट व्यक्ति राज्यको कानुन र व्यवस्थाबाट होइन, आफनै चेतना र मर्यादाको पालक हुन्छ । कार्ल मार्क्स, महात्मा गान्धी, लियो टोल्सटोय यसका केही दृष्टान्त हुन् । तर समाजमा सबै मार्क्स वा गान्धी बन्न सक्तैनन् । जतिसुकै अनिच्छा र आलोचना गरे पनि समाज व्यवस्थापनको सबैभन्दा महत्त्वपूर्ण र अपरिहार्य तत्त्व राज्य नै हो । राज्यविहीन समाज एक अमूर्त कल्पना मात्र हो, व्यवहारमा सम्भव छैन । यसलाई बेहोर्नैपर्छ, तर कसरी भन्ने प्रमुख प्रश्न हो ।

राज्यको नियन्त्रणकारी कब्जाबाट मानिसका स्वतन्त्रताको अधिकतम रक्षा गर्दै राजनीतिक व्यवस्थापन गर्ने प्रणाली भनेको लोकतन्त्र नै हो । लोकतन्त्र पनि कुनै आदर्श परिकल्पना होइन, अरूभन्दा यो कम खराब मात्र हो । लोकतन्त्रमा राजनीतिक दलहरू हुन्छन्, यो यसको विशेषता नै हो । राजनीतिक दलबिना लोकतान्त्रिक प्रक्रियाले जीवन्त गति पाउन सक्तैन, राजनीति असंगठित हुन्छ । दलीय संगठन र प्रतिस्पर्धा लोकतान्त्रिक शासन प्रणालीका अनिवार्य तत्त्व हुन् । तर दल साधन मात्र हो, साध्य होइन । साधन पनि यस अर्थमा कि यसले जनता र सरकारका बीच एउटा सेतुको निर्माण गर्छ । शासनमा जनताको प्रतिनिधित्व गर्छ । सरकारका नीतिमा जनमतको पहुँच पुर्‍याउँछ । यो जनइच्छाको वाहक एउटा बस वा रेलगाडीजस्तै हो । कम्युनिस्ट वा लोकतान्त्रिक समाजवादीहरूको पनि एउटा मान्यता छ, राजनीतिक दल अर्थ–सामाजिक रूपान्तरणको एउटा हस्तक्षेपकारी औजार पनि हो । हस्तक्षेपका विधि र सीमाका बारेमा विविध मत छन्, मतभेद पनि छन् ।

कांग्रेस र कम्युनिस्ट पार्टीका अकर्मण्यता, अयोग्यता र तिनमा उदाएका गलत, अयोग्य र भ्रष्ट नेतृत्व एवं राजनीतिमा तिनकै रजगजका कारण अहिले परिवर्तनलाई भत्काउने र उल्टाउने दुष्प्रयत्नले ठाउँ पाएको छ । पश्चगामी र प्रतिक्रियावादी शक्ति बढ्न थालेको छ । देशमा भरपर्दो र प्रगतिशील लोकतान्त्रिक शक्ति अर्थात् राजनीतिक दलको आवश्यकता अरू बढेको छ । यो काम कांग्रेसले मात्र गर्न सक्छ, गर्नुपर्छ भन्ने मेरो भनाइ होइन; लोकतन्त्रका आधारभूत सिद्धान्त र स्वस्थ राजनीतिक प्रतिस्पर्धामा विश्वास गर्ने कुनै पनि दलले गरे हुन्छ, तर परिवर्तनको लहरलाई उल्टाएर होइन । गणतन्त्र, धर्मनिरपेक्षता र पीँधका जनतासम्म अधिकार र स्वायत्तता पुर्‍याउने संस्थागत आधार भत्काएर होइन । अर्थ–सामाजिक नीतिका केही धार फरक हुन सक्छन्, त्यसमा आपत्ति गर्नुपर्दैन । खाँचो त इमानदार वामपन्थको छ । मेरो विचारमा नेपालका सन्दर्भमा वामपन्थ भनेको प्रगतिशील अर्थ–सामाजिक रूपान्तरण हो । यसका लागि कम्युनिस्ट तन्त्र नै चाहिँदैन ।

लेखको शीर्षकमा कांग्रेस छ, यसकै कुरामा बिट मारौं । कांग्रेसको विकल्प कांग्रेस नै हो, कम्युनिस्ट वा राष्ट्रिय स्वतन्त्र पार्टी होइनन् । यसले आफ्नो स्थापनाको जग र मूल उद्देश्यलाई पुनर्जागरण गर्नु जरुरी छ । नेतृत्वमा गिरोहका नाइके दाइ, दिदी, भाउजू वा तिनका आसेपासेलाई बोकेर होइन, नयाँ प्रण र वाचासहित स्वयंसेवीहरूको स्वस्फूर्त जमात तयार गर्नु आवश्यक छ । पार्टीमै नयाँ रूपान्तरण आवश्यक छ, नेतृत्वमा कोही नयाँ अनुहार आउँदैमा हुँदैन । आएकै त छन् गगन थापा र विश्वप्रकाश शर्मा महामन्त्रीमा । एक उपसभापति लगायत केही केन्द्रीय सदस्य पनि छन् कांग्रेस रूपान्तरणको एजेन्डा बोक्ने । तर कांग्रेस रूपान्तरित त के, झन् बढी प्रतिरक्षात्मक भएको छ ।

प्रारम्भ कहाँबाट र कसरी गर्ने ? माथि भनेजस्तो, जो चोखा छन्, जसमाथि समाजले अझै आशा राखेर बसेको छ, तिनले वा यस्तो उद्देश्यमा समर्पित अरू कसैले कांग्रेसजन, समर्थक, शुभेच्छुकहरूको खुला भेला आह्वान गरून् । पार्टीभित्र मौलाएको गलत प्रवृत्ति र बदनाम पात्रविरुद्ध विद्रोहको यो खुला घोषणा पनि हो । त्यस भेलाले वर्तमान नेपाली कांग्रेसको केन्द्रीय समिति र पदाधिकारीलगायत सम्पूर्ण संरचना विघटन भएको घोषणा गरोस् । नयाँ निर्माणको मन, वचन र कर्मले सङ्कल्प गरोस् । नयाँ सिद्धान्त छाँट्नु पनि पर्दैन, कांग्रेसको स्थापनाकालीन सिद्धान्त — राष्ट्रियता, लोकतन्त्र र समाजवाद — अहिले पनि उत्तिकै सान्दर्भिक छ । सिद्धान्त दिनदिनै नयाँ उम्रिने पनि होइन । मुख्य कुरा त्यसको गतिशील व्याख्या र प्रयोग हो । त्यसप्रतिको निष्ठा र व्यवहार हो । संगठनका नाममा पार्टीलाई अहिलेजस्तो बोगस सदस्यहरूको भीड बनाउने पनि होइन । स्वयंसेवकहरूको अनुशासित संस्था बनाउन सक्नुपर्छ । भ्रातृ संस्थाहरूको ताँती र रित्ता विभागहरू पनि चाहिन्नन् । नीति विमर्श, प्रशिक्षण र सूचना प्रविधिको प्रयोगमा निपुण, चुस्त केही विभाग वा प्रतिष्ठान नै पर्याप्त हुन्छन् । पैसाको खोलो बगाएर चुनाव लड्ने प्रवृत्ति पूरै त्याग्नुपर्छ । केही चुनिएका सूचना प्रविधि नै पर्याप्त छन् अहिले चुनाव प्रचारप्रसारमा पनि ।

राजनीति किन गर्ने ? अहिले सबैभन्दा महत्त्वपूर्ण प्रश्न नै यही हो । ‘जोगी बन्न राजनीतिमा लागेको हो र’ भनेर उल्टै प्रश्नहरू बर्सिन्छन्् । राजनीति सेवा हो, सेवाको संस्कृति उसको आचरण हो । सुविधा भोग र धन कमाउन अरू अनेक बाटा छन् । उद्यमशील मानिसले त्यो गरेरै देखाएका छन् । सुविधाभोग र कमाउधन्दालाई राजनीतिबाट टाढै राख्न सक्नुपर्छ । राजनीति सेवा हो भन्ने मान्यतामा निष्ठा नराख्ने र सो अनुरूप आफ्नो जीवन एवं व्यवहारलाई नजोड्ने हो भने पार्टी पुनर्गठन वा रूपान्तरणको कुनै औचित्य छैन । यहाँ बीपी कोइरालाको भनाइ अत्यन्त मननीय छ । उहाँले २०१३ सालतिर एक कार्यकर्तालाई एउटा पत्रमा लेख्नुभएको थियो, ‘नेपाली कांग्रेस क्रान्ति र क्रान्तिपछि उदय भएको प्रजातान्त्रिक शक्तिको प्रतीक हो ...प्रत्येक व्यक्तिले आफ्नो

स्वार्थ छाड्नुपर्छ । देशको उन्नति हाम्रो लक्ष्य हो, कांग्रेस संस्था हाम्रो साधन हो, हामी सेवक हौं भन्ने भावना सबैको मनमा हुनुपर्छ । चुनावमा स्वार्थी व्यक्तिहरूलाई मौका दिनु हुँदैन... यदि कसैले कांग्रेसलाई व्यक्तिगत स्वार्थको साधन बनाउन खोज्छ भने त्यसलाई कांग्रेसबाट टाढै राख्नुपर्छ । हामी सबैले निःस्वार्थ सेवाको व्रत लिनुपर्छ । गेरुवा रङको लुगा नलगाए पनि हामीले मनमा जोगीको जस्तो निष्काम प्रवृत्ति धारण गर्नुपर्छ ।’ कांग्रेसलाई साँच्चै पुनर्निर्माण गर्ने हो भने बीपीको भनाइलाई नै मूलपाठ बनाउनुपर्छ ।

कान्तिपुरबाट।