बर्दिवास, ६ बैशाख। महोत्तरीमा बसको ठक्करबाट मोटरसाइकलमा सवार पाँच वर्षीया बालिकासहित एकै परिवारका तीन जनाको मृत्यु भएको छ। माईस्थान–गौशाला–सम्सी सडकको गौशाला नगरपालिका १ मा बा. ३ ख २३९६ नम्बरको यात्रुवाहक बसले मधेस प्रदेश ०१–००४–प ६८१९ नम्बरको मोटरसाइकललाई ठक्करदिंदा मोटरसाइकलमा सवार सिरहा कल्याणपुर नगरपालिकाका २६ वर्षीय अमृत मण्डल, अमृतकी पत्नी २४ वर्षीया अञ्जु मण्डल र पाँच वर्षीया भतिजी अङ्शु मण्डलको मृत्यु भएको हो।
सिरहाबाट महोत्तरीको गौशाला हिँडेका मण्डल परिवार सवार मोटरसाइकल गौशालाबाट जनकपुरतर्फ गइरहेको बसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रदीपकुमार गिरीले जानकारी दिए।
दुर्घटना भएलगत्तै तीन जनामध्ये अमृत र अङ्शुलाई बर्दिबास १४ स्थित शुभस्वस्तिक अस्पताल र अञ्जुलाई बर्दिबास ट्रमा सेन्टर पु¥याइएको थियो। अस्पताल पुर्याएपनि उनीहरु तीनैजनालाई अस्पतालले मृत घोषणा गरेको छ।
दुर्घटनामा परेका बस र मोटरसाइकल प्रहरीले नियन्त्रणमा राखेको छ। बसका चालक भने घटनालगत्तै फरार भएका प्रनाउ गिरीले बताए। उनले घटनाबारे थप अनुसन्धान भईरहेको र चालकको खोजी भईरहेको जनाए।